समाज

साउदीमा जेल परेका राईलाई ३० लाख सहयोग

काठमाडौँ – साउदीमा यातायात दुर्घटनामा परी जेल परेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ। 

दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रु ३० लाख नौ हजार ४७ प्रधानमन्त्री केपी शर्मा ओलीले आज परिवारका सदस्यलाई हस्तान्तरण गरे। 

यातायात दुर्घटनामा जेल परेका राई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसक्दा दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका छन् । एबिसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको सो रकम प्रधानमन्त्री ओलीले राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन्। 

सो अवसरमा प्रधानमन्त्री ओलीले विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिलाउन र गरीबी हटाउन आफ्नो नेतृत्वको सरकार कटिबद्ध रहेको बताए। देशकै स्रोत साधन प्रयोग गरेर उद्योग स्थापना गर्दै रोजगारी सिर्जना गर्दै देशको ढुकुटी बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ। 

कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कँडेलले प्रेमबहादुर राईको रिहाइका लागि रु ९५ लाख नेपाली चाहिने र अहिलेसम्म रु ७१ लाख संकलन भइसकेको जानकारी दिए। 

प्रकाशित: २१ वैशाख २०७५ ११:४२ शुक्रबार

साउदीमा जेल परेका राईलाई ३०