समाज

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

काठमाडौं – यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी यात्रुको आवगमन सहजताका लागि जुटिरहेको भन्दै आवश्यक परे टुरिष्ट बस सञ्चालन गरेर भएपनि सर्वसाधारणलाई सुविधा दिइने जनाएको छ।

महाशाखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्द मरासैनीले सिण्डिकेटको पक्षमा यातायात व्यवसायीले गरेको बन्दमा उपत्यकामा यातायातको ठूलो समस्या नरहेको बताउँदै मेट्रोसिटी, साझा यातायात, धम्बाराही, बाबागोकर्णेश्वर, सेतो टेम्पो लगायतका यातायातका साधन चलिरहेकाे बताए।

‘असहज भएका ठाउँमा पनि गाडि डाइभर्सन गरेर सहजता प्रदान गरिरहेका छौं’, उनले भने, ‘लामो रुटमा चल्ने केही गाडिहरु पनि चलिरहेका छन्।’ प्रालि र कम्पनिमा दर्ता भएका सबै गाडी चलेकाले थोरै भएपनि आवगमनमा सहजता भएको उनले बताए। अहिले उपत्यकामा धेरै समस्या नदेखिएको बताउँदै मरासैनीले आवश्यक परे टुरिष्ट बस सञ्चालन गरेर भएपनि सर्वसाधारणलाई सुविधा दिइने बताए।

यस्तै यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले विभागमा पञ्जीकरण भएका सवारी साधन देशभर चल्ने बताएका छन्। यातायात क्षेत्रको सिन्डिकेट कुनै पनि हालतमा मान्य नहुने बाताउँदै उनले सरकार कडा रुपमा प्रस्तुत हुने बताए।

सरकारले सिण्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ।

महासंघको बन्दका कारण शुक्रबार बिहानैदेखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्।

लामो तथा छोटो दुरीका सवारी नचल्दा सर्वसाधारणले सास्ति खेप्नु परिरहेको छ। गन्तव्यमा प्रस्थान गरेका यात्रु गाडी नचल्दा अलपत्र परेका छन्।

प्रकाशित: २१ वैशाख २०७५ ०५:२२ शुक्रबार

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने