समाज

मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट

मुगु – मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।  बिहान ९ बजेबाट एक्कासी आगलागी हुँदा दुर्गम गाउँ खरानीमा परिणत भएको हो।

स्थानीय आगलागी पीडित छिरिङ्ग लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका १७ घर र घरमा रहेका अन्न,लत्ता कपडा, नगद सबै नष्ट भएको छ। आगलागीबाट लामाको घर पनि पूर्ण रुपमा खरानी भएको छ। माथिल्लो लहरका घर खरानी भएर तल्लो लहरका घरमा आगो टिप्न सक्ने भएकाले गाउँमा रुवाबासी र खौलाबैला चलेको थियो।  

स्थानीयवासीले १९ घर जलेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले १७ घर जलेको बताएको छ। सदरमुकाम देखि एक दिन पैदल दूरीमा पुगिने यो गाउँमा सञ्चार सम्पर्क जोड्न कठिन भएकाले क्षतिको विस्तृत विवरण आउन भने ढिलाई भएको छ।

बिहान ९ बजेबाट सुरु भएको आगलागी ३ बजे पछि मात्र नियन्त्रणमा आएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार आगलागी नियन्त्रण र पीडितको उद्घारका लागि प्रहरी चौकी पुलुबाट प्रहरी गएपनि विकटता र टाढा भएका कारण समयमै पुग्न गाह्रो भएको र सम्पर्क गर्न पनि कठिनाई भएको छ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २ दिन पैदल पूर्व दक्षिण रहेकाले सदरमुकामबाट तत्काल राहतका लागि जान समस्या भएकाले पीडित परिवारलाइ पुनःस्थापित र राहत दिने बारे आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

अग्नि पीडितका लागि तत्काल प्रति परिवार १० हजारका दरले राहत उपलब्ध गराइने भएको छ। रेडक्रस सोसाईटीले त्रिपाल, कम्बल, लत्ता कपडा भाँडा उपलब्ध गराउने, मुगुम कार्मारोङ्ग गाउँपालिकाले तिन महिनासम्मका लागि खाद्यन्न उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य टोली खटाउने, खाद्य संस्थानले पचास क्वीन्टल खाद्यन्न उपलब्ध गराउने र उपलब्ध राहत सामाग्रीको व्यवस्थापन तथा सुरक्षा जिल्ला प्रहरी कार्यालयबाट गर्ने निर्णय गरिएको प्रकोप व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। आगलागिबाट १ सय १२ जना प्रभावित भएका छन्। उनीहरूले छिमेकीको घरमा आश्रय लिएको बताइएको छ।

प्रकाशित: २० वैशाख २०७५ १३:०८ बिहीबार

मुगुको गाउँमा भिषण आगलागी १७ घर जलेर नष्ट