समाज

बाजुराको रजाली छाउ गोठमुक्त वडा घोषणा

प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै स्थानीय महिलाहरू। तस्बिरः कृष्ण ओली/नागरिक

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–३ रजालीलाई छाउपडी गोठ मुक्त वडा घोषणा गरिएको छ। वडामा रहेका सबै गोठ भत्काएर महिनावारी भएका महिलाहरू सुरक्षित रुपमा घर भित्रै बस्न थालेपछि वडालाई भव्य समारोहकाबीच छाउ गोठ मुक्त वडा घोषणा गरिएको हो। नगरपालिकाका नौ वटा वडा मध्ये रजाली छाउगोठ मुक्त घोषणा हुने पहिलो वडा हो।

वडालाई बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्टले ९ बुँदे प्रतिवद्धता पत्र सहित सहभागि सबै सरोकारवाला निकायलाई सथप खुवाएर घोषणा गरेकी हुन्। छाउ प्रथा नमान्ने, गोठमा नबस्ने, खान बस्नमा विभेद नगर्ने प्रतिवद्धता सहित वडाबासीको उपस्थितमा सरोकारवाला निकायलाई सपथ ग्रहण गराएको वडा अध्यक्ष वीरबहादुर रावलले बताएका छन्।

नौ बुँदे प्रतिवद्धता पत्रमा सयुक्त राष्ट्रसंघको महिला माथि हुने सबै प्रकारका हिंसा उन्मुलन समिति (सिड) सदस्य बन्दना राणा सहित स्थानीय महिला, किशोरी, धामी भाँक्री, नगर प्रमुख उपपप्रमुख सबैले सामूहिक रुपमा हस्ताक्षर समेत गरेका छन्।

घोषणा नगरपालिका स्तरीय सर्वपक्षिय टोलीले अनुगमन गरेको थियो। अनुमगन संयन्त्रले गरेको अनुगमनपछि वडालाई नगरपालिकाले घोषणाका लागि अनुमति दिएर घोषणा गरिएको वडा अध्यक्ष वीरबहादुर रावलले बताए।

सिड समिति सदस्य राणा वडा घोषणा कार्यक्रममा सहभागि हुन पहिलो पटक बाजुरा आएकी हुन्। ३ दशक देखि महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी राणाले छाउपडी गोठ मुक्त अभियानले बाजुरा अन्धविश्वास र कुरुती हटाउने सकारात्मक सन्देश प्रवाह गरेको बताइन्। गोठमा बस्नु पर्ने र असुरक्षा, अस्वस्थता र विभेदको पीडाले थलिएका महिलाहरूका लागि ठूलो राहत पुग्ने भन्दै राणाले अन्य जिल्ला र क्षेत्रमा पनि यसको सिकाई हुनु पर्ने सुझाव दिएकी छन्।

नेपाल बाहेक विश्वका अरु देशहरूमा पनि विभेद र हिंसाका विभत्स घटनाहरु छन्, तर पनि दुरदराज क्षेत्रमा देखिएको अज्ञानता र अशिक्षा अन्त्य गर्न सके समस्या आफैं कम हुन्छ, राणाले भनिन्। सामाजिक रुपान्तरणका अभियानले बाजुरा विटक र पछाडि नरहने संकेत देखिएकोमा राणाले खुसी व्यक्त गरिन्।

धामी, स्थानीय निरक्षर महिला तथा स्थानीयको सक्रियता र सहभागितालेनै सबैको साथ छाउ कूप्रथाको अन्त्य गर्न हिंसा कम गर्न, बाल विवाह रोक्न भएकोले  अभियान सफल हुने नगर प्रमुख पदम बडुवालले विश्वास व्यक्त गरे।

नगरपालिकाले महिलासँग उपप्रमुख कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसा, छाउ कुप्रथा, बाल विवाह र सामाजिक विभेदको अन्त्यका लागि अभियानमुखि कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमलाई पीसविन, सहास लगायतका सामाजिक संस्थाहरूले साथ दिइरहेका छन्।

रजालीमा रहेका ३ सय बढी परिवार बसोबास गर्ने गर्दछन्। ती सबै परिवारले घर भित्र सुरक्षित बस्न दिने खानमा विभेद नगर्ने, आराम दिने वडा स्तरमै यसअघि प्रतिवद्धता जनाएको निगरामी समूह अध्यक्ष विमला रावलले बताएकी छन्।

तरकारी उत्पादनको केन्द्रका रुपमा चिनिएको रजाली सामाजिक रुपान्तरणको अभियानमा पनि अगुवाई गर्ने वडाका रुपमा स्थापीत भएको नेकपा एमाले नेता अमर खड्काले बताएका छन्। कार्यक्रममा देउडा खेल सहीत साँस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो। भुवा नाच सहित प्रर्दशन गरिएको कार्यक्रममा प्रस्तुत भएका गीत, कविता, शुभकामना सन्देशबाट नामको मात्र घोषणा नगर्ने सुझाव दिएका थिए।

यस अघि पनि जिल्लाका साविक कुल्देवमाडौं, बाह्विस, ब्रह्मतोला, कोल्टी लगायतका गाविसलाई घोषणा गरिएको थियो। तर ती क्षेत्रका अधिकांश बस्तीमा अझै छाउ गोठ रहेको अवस्था रहेकोले त्यसलाई मध्येनजर गर्न सुझाव सहभागि दिएका छन्। स्थानीय तह कार्यान्वयन पछि गोठ भत्काउने र गोठमुक्त घोषणा अभियान बडिमालिका नगरपालिकाले पहिलो पटक सुरुवाद गरेको छ। विकले सञ्चालन गरिएको कार्यक्रम चोयाकोट माविमा आयोजना गरिएको थियो। कार्यक्रममा सबै सरोकारवाला, स्थानीय सहीत २ हजार बढीको सहभागिता रहेको थियो।

प्रकाशित: २० वैशाख २०७५ १२:१० बिहीबार

बाजुराको रजाली छाउ गोठमुक्त वडा घोषणा