समाज

नरैनापुरमा आगलागी हुँदा १६ घर जले

नेपालगन्ज- बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा आगलागी हुँदा १६ वटा घर जलेका छन्। नरैनापुर गाउँपालिका–६ स्थित जमुनी गाउँमा बुधबार मध्यान्ह आगलागी भएको हो। उक्त आगलागीबाट १३ वटा घर पूर्णरुपमा र ३ घर आंशिक रुपमा जलेका ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक रामअवतार चौधरीले जानकारी दिए। बालबालिकाले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगो घरमा फैलिएको उनले बताए।

 स्थानीय पेशकार यादव र बुद्ध धोबीको घरबाट सुरु भएको आगो अन्य घरमा पनि फैलिएको थियो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, गरगहना सबै जलेको पीडितले बताएका छन् । स्थानीय बर्षाती धोबीले आफ्नो घरमा राखेको दुई लाख भारतीय रूपैयाँ समेत जलेको प्रहरी सहायक निरीक्षक चौधरीले बताए।

 आगोमा परेर एउटा राँगा मरेको र एउटा घाइते भएको बताइएको छ । स्थानीयबासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागी पश्चात अनुगमन गर्न घटनास्थलमा पुगेका नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले आगलागीबाट ठूलो क्षति भएको बताए। ‘लाखौंको क्षति भएको छ, क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ, भोली(बिहीबार) पीडितहरुलाई राहत वितरण गर्छौं,’ उनले भने।

 

प्रकाशित: १९ वैशाख २०७५ १३:१६ बुधबार

नरैनापुरमा आगलागी हुँदा १६ घर जले