टीकापुर– घरेलु यातना सहन नसकेपछि लम्की चुहाकी शान्तिले मानसिक सन्तुलन गुमाईन। उनी आठ वर्ष अघिदेखि सडकमा भौतारिन थालिन। यसै क्रममा उनले गत वर्ष छोरी जन्माईन। छोरी जन्मिएपछि घरपरिवारले झन यातना दिन थाले। एकदिन सडक किनारमा बेहोस भएर लडेको अवस्थामा स्थानीयले देखेपछि असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा खबर गरिदिए। उनी अहिले त्यही बस्दै आएकी छन।
११ वर्षको उमेरमा बलात्कारको शिकार भएकी उषा घरबाट निकालिईन। सौतेनी आमाले स्याहार गर्नुको साँटो उल्टै तिरस्कार गरेपछि उनको सडक जीवन सुरु भयो। उनले मानसिक सन्तुलन गुमाएपछि बलात्कारीको पहिचान हुन सकेन। सडकमा बर्बराउँदै हिँडेको अवस्थामा कसैले सहारा घरमा पु-याई दिए।
पेशाले स्वास्थ्यकर्मी बिष्टको बौनीयाँमा चलेको क्लिनिक छ। उनकी श्रीमती लक्ष्मी पौडेल समेत स्वास्थ्यकर्मी हुन्। एकजना सडकमा बस्दै आएका वृद्धको किरा परेको घाउको उपचार गरेपछि बिष्टमा मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताउँदै आएका व्यक्तिहरुको स्याहार गर्ने सोच पलाएको हो। अहिले विष्ट दम्पत्ती मानसिक सन्तुलन गुमाएर सडक जीवन बिताइरहेका व्यक्तिको लालनपालनमा जुटेका छन्। एकजनाले क्लिनिक सम्हाल्छन, अर्कोले सहारा घर सम्हाल्छन।
लम्की चुहाकी सीता जंगल गएको समयमा सामुहिक बलात्कारको सिकार भइन्। उनलाई बलात्कारीले जंगलमा स्याउलाले छोपेर हिँडे। घाँस काट्न गएका महिलाहरुले देखेपछि उनलाई उद्दार गरेर घर ल्याए। जन्मिदै शारीरिक रुपमा अपाङ्गता भएकी उनलाई घरमा समेत बारम्बार बलात्कार भइरह्यो। आमाले घटना ढाकछोप गरिन। बुबाको निधनपछि आमा अर्कैको पोईल हिँडिन। उनी बारम्बारको पीडा सहन नसकेपछि मानसिक सन्तुलन गुमाएर सडकमा पुगिन। डेढ महिनादेखि उनी सहारा घरको आश्रयमा छिन्।
बर्दगोरीया गाउँपालिकाकी ११ वर्षीया नेहा सौतेनी बाबुको यातना सहन नसकेर घर छोडेर हिँडिन। आमाले सौतेनी बाबुको यातनाबाट छुट्कारा पाउन उनलाई घरबाट निकालिदिईन। उनले घरभित्रको यातनाबाट त मुक्ति पाइन तर सडकमा हुने हिँसाबाट उम्किन सकिनन्। दुई वर्षदेखि सडकमा बस्दै आएकी नेहालाई सहारा घरले सहारा दिएको छ।
८० वर्षका अर्जुन विकले झण्डै ३६ वर्ष सडकमा बिताए। यतिका वर्ष प्रतिक्षालयमा रात काटे र अर्काले दिएको खानेकुरा खाएर जीवननिर्वाह गरे। आफन्तको हेरचाह नपाएपछि उनी घर छोडेर सडकमा पुगेका हुन्। उनको घर ठेगाना केही थाहा छैन। सहारा घरमा बसेपछि उनको मानसिक अवस्थामा सुधार भैरहेको छ।
हिन्दी भाषा बोल्ने एकजना वृद्धा आफ्नो बारेमा केही बताउन सक्दिनन्। उनले केवल बागेश्वरी मन्दिर र घरवारी टोल मात्रै बताउने गरेकी छन। धेरै दिनदेखि स्याउले चोकमा बस्दै आएको देखेपछि सहारा घरले उद्दार गरेको थियो। सहारा घरले कुश नाम राखिदिएका एकजना हिन्दी भाषी युवा समेत आफ्नो बारेमा बताउन सक्दैनन्। उनी ‘बुबा काममा गएका छन्’ मात्रै भन्छन।
सुर्खेतका सापकोटा थरका एक वृद्ध सहारा घरको बसाईपछि स्वस्थ भैसकेका छन्। उनले आफ्ना आफन्तको बारेमा सबै कुरा बताउने गरेका छन्। संस्थाले उनका आफन्तलाई बारम्बार सम्पर्क गरेको छ। तर पनि उनीहरुले वेवास्ता गर्दै आएका छन्। उनका छोरा सुर्खेतमा नाम चलेको एक गैरसरकारी संस्था सञ्चालन गरेर बसेका छन्।
बर्दगोरिया गाउँपालिकास्थित सहारा घरमा बस्दै आएका यी प्रतिनिधि पात्र मात्रै हुन। त्यहाँ रहेका २७ जनाका आ–आफ्नै कहानी छन्। उनीहरु आफन्तले माया नदिएकै कारण सडकमा पुगेका हुन्। उनीहरुलाई सहारा घरले विभिन्न सडकबाट उद्दार गरेर ल्याएको हो। उनीहरु जस्तै अन्य १२ जनालाई सहारा घरले आफन्तको जिम्मा लगाई सकेको छ। कतिपयका आफन्त लिन आए भने कतिपयलाई उनीहरुकै घरमा पुगेर जिम्मा लगाएको सञ्चालक बलबहादुर बिष्टले जानकारी दिए। ‘कतिपयले आफै खुशी भएर लिएर गएका छन्’ उनले भने– ‘कतिपयलाई जबरजस्ती बुझाउनु परेको छ।’
संस्थामा १५ जनाको कमिटी छ। ७ जनाले स्वयंसेवकका रुपमा काम गर्दै आएका छन्। उनीहरुको दैनिकी सहारा घरको संरक्षणमा आएका व्यक्तिहरुको स्याहारमा बित्छ। उनीहरु आफै नुहाई दिन्छन। खाना खुवाउँछन। दिनभर संगीतका माध्यमबाट उनीहरुलाई रमाइलो गर्छन। मानसिक सन्तुलन गुमेका व्यक्तिहरु राम्रोसँग खान र बस्न पाएपछि छोटो समयमै स्वस्थ्य हुँदै गएका छन्। ‘सुरुका केही दिन बानी पार्न निकै कठिनाई हुन्छ’, सञ्चालक विष्टले भने– ‘केही दिनमा स्वस्थ्य हुँदै गएपछि सबैले आफ्नो काम आफै गर्छन।’
बिष्टले २०७१ देखि सहारा घर आफ्नै घरमा चलाए। सदस्य बढ्दै गएपछि अहिले सहारा घर पुस महिनादेखि बर्दगोरीया मन्दिर नजिकै सारेका छन्। आफ्नै प्रयासमा घर निर्माण गरेका छन्। बिष्टका अनुसार सहारा घरलाई कसैले धेरै ठूलो गरेको छैन्। छरछिमेकीले मुठीदान बाफत दिएको अन्नले घर चलेको छ। उनी कसैसँग हात फैलाउन गएका पनि छैनन्। तर स्थानीय तहले सहयोग नगरेको प्रति भने उनको गुनासो छ। तर उनलाई सहारा घरप्रति धेरैको सहयोग हुने विश्वास भने छ।
प्रकाशित: १७ वैशाख २०७५ १३:३३ सोमबार