समाज

मनकामनामा राखियो सुनको गजुर

गोरखा- गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पूर्णीमाको अवसर पारेर सोमवार गजुर राखिएको छ।  पुन:निर्माणको क्रममा रहेको मन्दिरको गजुर पुजारीहरुले वैद्धिक विधी पूर्वक क्षमा पूजा गरी उत्तम साईत हेराएर ठड्याएका हुन्। पुरानो मन्दिरको गजुरलाई करिब ४० लाख रुपैयाँ खर्च गरेर ३३ तोला सुनको जलप लगाइ सुन्दर बनाइएको छ। 

पुन:निर्माणको क्रममा जगैदेखि भत्काएर सुरु गरिएको मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको पुननिर्माण समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए। आउँदो दशैँ सम्ममा भक्तजनका लागि मन्दिर खुल्ला गर्ने गरी पुन:निर्माणको काम गरेको उनले बताए। ‘गजुर राख्न उपयुक्त दिन सोमवार जुर्‍यो’ श्रेष्ठले भने ‘पुननिर्माणको केही काम अझै बाँकी छ।’ मन्दिरका मुख्य पुजारी इन्सान थापाले सुनको गजुर मन्दिरमा ठड्याएका हुन्।

२०७२ सालदेखि सुरु भएको मनकामना मन्दिर जिर्णोद्धाको काम भूकम्पका कारण प्रभावित बनेको थियो। काठ अभाव, पुन:निर्माणमा कामदारको अभाव जस्ता कारणले प्रभावित बनेको मन्दिर जिर्णोद्धारको काम अहिले द्रुत गतिमा भईरहेको छ । २०६८ सालमा पुरातत्व बिभागले करिब ८ करोडमा पुन:निर्माण गर्न सकिने सर्वेक्षण गरेको भएपनि अहिले १२ करोड लाग्ने अनुमान जिर्णोद्धार समितिको छ। ‘भक्तजनबाट करिब ८ करोड संकलन भएको छ’ जिर्णोद्धार समितिका संयोजक श्रेष्ठले भने ‘१२ किलो सुन खर्च भईसकेको छ, अझै चार/पाँच किलो लाग्ने अनुमान कालिगढले गरेका छन्’ उनले भने। मन्दिर जिर्णोद्धारका लागि चार करोड पुरातत्व बिभागले दिएको छ।

मन्दिरको पूर्वपश्चिम तर्फको भाग भिरालो रहेको, भत्कन सक्ने भन्दै जिर्णोद्धारकै क्रममा भक्तजनबाट उठेको पैसाले पर्खाल लगाउने योजना समितिको छ । पुननिर्माण सुरुभयता मनकामना मन्दिरमा भक्तजनले पूजाआजा गर्न निकै कष्ट भोग्नुपरेको छ। मन्दिर छेउमा प्रतिमूर्ती बनाएर अस्थायी टहरामा भक्तजनले मनकामनाको पूजागरी फर्कने गर्छन्। मन्दिरको माथिल्लो तलामा छानो छाउने काम सकिएको छ । सुनको जलप सहितको पहिलो छानोमा काम बाँकी छ। टुडाँल राख्ने, झ्याल ढोकाको काम सकिएको संयोजक श्रेष्ठ बताउँछन् । मन्दिर परिसरमा टायल ओच्छ्याउने, पूजाआजा गर्ने ठाउँ ब्यवस्थित गर्ने र मन्दिरलाई नयाँ स्वरुप दिने गरी पुन निर्माण भईरहेको छ। भक्तजनलाई पूजापाठ गर्न र पुजारीलाई काम गर्न समेत समस्या भएको मन्दिरका मुख्य पुजारी इन्सान थापा बताउँछन्।

मनकामना दर्शन प्रालीले संचालन गरेको केबलकारबाट वार्षिक एक लाख र पैदल हिँडेर मनकामना पुग्ने भक्तजनको घुँईचो हुने गर्छ । मनकामनामा करिब १५ प्रतिशत भारतिय पर्यटक दर्शन गर्न आउँछन्।

प्रकाशित: १७ वैशाख २०७५ १३:१० सोमबार

मनकामनामा राखियो सुनको गजुर