समाज

अझै डुंगाको भर

कुर्लेघाटमा डुंगा तर्दै स्थानीय। तस्बिर सौजन्य : खबिराज राई

खोटाङ – धेरैजसो नदीका डुंगा विस्थापित भइसकेका छन्। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवाका स्थानीय वर्षाैंदेखि डुंगामै निर्भर छन्।

सदरमुकाम दिक्तेल, राजधानी काठमाडौंदेखि उदयपुरको कटारी, घुर्मी आवतजावत गर्दा उनीहरू डुंगाले सुनकोसी नदी दुई ठाउँमा तर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। नगरपालिकाको कार्यालय पुग्नसमेत यस क्षेत्रका बासिन्दालाई दुई/दुई ठाउँमा डुंगा चढ्नुपर्ने बाध्यता छ। डिकुवा र बाहुनीडाँडाका अधिकांश भाग दूधकोसी र सुनकोसीले छोएका छन्। त्यही भएर साविकको बाहुनीडाँडा–७ झापा, बाहुनीडाँडा–८ खर्क, डुम्रे, बाहुनीडाँडा–९ कुर्ले, रूपटार, सिरूवानी, चुखान लगायतका बासिन्दा जोर्तीघाटमा डुंगाबाट दुधकोसी मिसिएको सुनकोसी पार गर्न बाध्य छन्। यस्तै, साविकको डिकुवा–३, बलुई र बाइटारका बासिन्दा पनि वर्षाैंदेखि तराई पुगेर नुनदेखि सुनसम्मका उपभोग्य सामग्री ल्याउने क्रममा ठाउँठाउँमा डुंगा प्रयोग गर्न बाध्य छन्। ‘गाउँमै सिंहदरबार’को नाराले यहाँका नागरिकलाई छुन नसकेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले गुनासो गरे।

जोर्तीघाट सुनकोसी र दुधकोसीको संगमस्थल पनि हो। पुल नभएका कारण बाहुनीडाँडाका बासिन्दा जोर्तीघाटबाट डुंगा चढेर सुनकोसी तरेर उदयपुरको कटारी नगरपालिका–१४, लेखानी पुग्छन्। केही समय लेखानी पुछारमा नदीको किनारैकिनार हिँडेका स्थानीय पुनः डुंगाबाटै सुनकोसी तरेर ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्ले हुँदै हर्कपुर वा जयराम निस्केर यात्रा गर्न बाध्य छन्। उनीहरूको किनमेल गर्ने प्रमुख बजार नै घुर्मी हो। दशक अघिसम्म कटारीबाट घरायसी सामान ल्याउँदै आएका स्थानीयले हाल घुर्मीबाट चामल, नुनतेल, फलाम, लत्ताकपडा लगायत ल्याउने गरेका छन्। ‘सुनकोसीलाई जोर्तीघाट नजिकै दुई ठाउँमा पार गरेपछि मात्र हामी हर्कपुर वा जयराम पुग्छौँ,’ वडाध्यक्ष राईले भने, ‘घुर्मी, काठमाडौं जाने क्रममा हर्कपुर निस्कनु पर्छ। वडा कार्यालय वा सदरमुकाम दिक्तेल पुग्न जयराम निस्कनु पर्छ।’ घुर्मी पुग्ने डिकुवा बलुई र बाइटारका बासिन्दाले भने बाहिरिने क्रममा कुर्लेघाट पार गरेपछि जोर्तीघाट पार गर्नुपर्छ।

डुंगा नचल्ने कतिपय ठाउँमा गाडीको पांग्राको ट्युव प्रयोग गरेर नदी तर्ने गरिएको स्थानीय बासिन्दा बताउँछन्। ठूलढुंगाबाट उदयपुर, साँघुरीबाट ओखलढुंगाको थाक्ले र मसानेबाट उदयपुरको सोता जान–आउन ट्यूवको प्रयोग हुने गरेको छ। बाहुनीडाँडा र डिकुवाका नदी किनारका स्थानीयले मोटरसाइकलसमेत डुंगाबाटै नदी तारेर चलाउने गरेका छन्। नदी वारपार गर्ने क्रममा डुंगा चालकलाई प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क तिर्नुपर्छ।

भौगलिक विकटता र नदीमा पुल नभएका कारण बाहुनीडाँडा र डिकुवाका बासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुंगा प्रयोग गर्न बाध्य छन्। हिउँदमा डुंगाबाट नदी तर्न सकिए पनि वर्षामा डुंगा नचल्ने हुँदा स्थानीय बासिन्दा सास्ती खेप्न बाध्य छन्। जसले गर्दा नदीले कुनै वर्ष चार जनासम्मलाई बेपत्ता बनाएको छ। झोलुंगे पुल निर्माणका लागि पञ्चायत कालदेखि नै पटक–पटक आवाज उठाउँदै आएको भए पनि अहिलेसम्म नबनेको वडाध्यक्ष राईले दुखेसो गरे। सो क्षेत्रमा सडक विस्तार नभएसम्म समस्या यथावत रहने स्थानीय बासिन्दा बताउँछन्।  

विद्यालय जान पनि डुंगाकै भर
हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा र डिकुवाका बालबालिका अध्ययनका लागि डुंगाबाट नदी तरेर उदयपुरको सोरूङछबिसे जाने गर्छन्। कक्षा ८ सम्म बाहुनीडाँडाकै कालिका आधारभूत विद्यालय पढेपछि माध्यमिक तह अध्ययनका लागि रूपटार, सिरूवानी, बलुई, बाइटार, कुर्ले लगायतका छात्र/छात्रा जोखिम मोलेर कुर्लेघाटबाट सुनकोसी तरेर सोरूङ मावि पुग्न बाध्य छन्। कतिपय विद्यार्थी कुर्लेघाट र जोर्तीघाटबाट डुंगा चढेर ओखलढुंगाको हर्कपुरस्थित हर्कपुर मावि जाने गरेका छन्। वर्षायामका बेला डुंगा वा ट्यूव चलाउन नसकिने अवस्थामा भने विद्यार्थी आफ्नो कक्षा छुटाउन बाध्य हुने गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७५ ००:५२ सोमबार

डुंगाको भर