समाज

कहिले सम्पन्न होला नारायणगढ– मुग्लिन सडक (फोटो फिचर)

चितवन- पृथ्वी राजमार्गमा पर्ने नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख सडक हो। दैनिक हजारौं मानिस यात्रा गर्ने यो सडक अहिले बिहान १० बजेबाट बेलुकी चार बजेसम्म छ घण्टा बाटो बन्द गरेर सडक विस्तारको काम भैरहेको छ।

दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा सडक विस्तार थालिएकोमा अहिलेसम्म चार पटक म्याद थप गरिएको छ। पछिल्लो पटक थपिएको म्याद भित्र पनि सडक विस्तार सम्पन्न हुने सम्भावना कम रहेको देखिन्छ।

आँपटारीदेखी मुग्लिनसम्मको ३३.२ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी बाटो विस्तार गरिरहेका छन्। बिएलएएससीसीले आँपटारीदेखी दासढुङ्गासम्मको १०.५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुङ्गादेखी सिमलतालसम्मको १०.७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखी मुग्लिनसम्मको १२.१ किलोमिटर सडक विस्तारको काम गरिरहेका छन्।

पछिल्लो पटक म्याद थप गरिए अनुसार बिएलएएससीसीले मे १० सम्म, उड हिल–लामा जेभीले मे २० सम्म र उड हिल–लामा जेभीले मे ३० सम्म काम सक्नुपर्नेछ। अहिलेसम्म ३० किलोमिटर सडक पहिलो तहको पिच भएको छ। धेरै ठाउँमा सेफ्टी ब्यारियर, ड्रेनेज र पर्खाल बनाउन बाँकी रहेको देखिन्छ।

सडकखण्डमा केही ठाउँमा पहाड फोड्ने, पीच गर्न बाटो सम्याउने, दोस्रो र तेस्रो तहको पीच गर्ने, ड्रेनेज, सेफ्टि ब्यारियर, पर्खाल बनाउने लगायतका काम भैराखेको पाईन्छ। अहिले पहाडमा एक सय मिटर माथिसम्म पुगेर सफा गर्ने र पहिरो रोकथामको लागि रक नेटिङ, बायो इन्जिनियरिङ कार्य सुरु गरिएको छ।

सम्पन्न होला नारायणगढ– मुग्लिन सडक फोटो फिचर