समाज

असिना पानीले लुट्यो किसानको खुसी

धादिङ – हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएका धान र तरकारी बाली नष्ट गरेको छ। जिल्लाको गजुरी गाउँपालिका वडा नं ७ र ८ का विभिन्न ठाउँमा बाली सखाप बनाएको छ। किसानले लगाएका बाली मात्र नभई बाटो पनि पुरिएको।

वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरै सखाप बनाएपछि गजुरी ७ कुपिण्डेका किसान कुमार अधिकारी चिन्तित छन्। ‘उत्पादन भएर बेच्न लैजाने बेला भएको तरकारी बाली असिना पानीले सखापै पारिदियो’ अधिकारीले भने, ‘सरकारले हामीलाई राहतको व्यवस्था गरिदिनु पर्यो।’

अधिकारीले १५ रोपनी खेतमा मकै र तरकारी बाली लगाएका छन्। खेतमा लगाएको मकै भर्खर चमरा निस्कने बेला भएको थियो। गोलभेडा, करेला, काँक्रो लगायतका तरकारी भर्खर टिप्ने बेला भएको थियो तर असिनाले खुसी लुटिएको किसानहरू बताउँछन्। असिनाले नगदे बाली र अन्न बाली नष्ट गरेपछि सम्बद्ध कृषकले क्षतिपूर्ति माग गरेका छन्। अधिकांश किसानले असिनाले लाखौंको रुपैयाँको तरकारी नष्ट गरेको भन्दै किसानलाई राहत दिन र ऋण तिर्न सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।   

असिनाले गजुरी गाउँपालिका वडा नं ७ को कुपिण्डे, डाँडागाउँ, श्यामेडाँडा, गजुरी ८ को वरभन्ज्याङ, कटुञ्जे, मजुवा लगायतका ठाउँमा लगाइएको तरकारी बाली नष्ट गरेको छ। दुवै वडामा गरेर करिव ३ सय रोपनी जग्गामा लगाइएको धान र तरकारी बाली नष्ट गरिएको गजुरी ७ का वडा अध्यक्ष केशव अधिकारीले जानकारी दिए। ‘असिना पानीले तरकारी र अन्न बालीमा धेरै क्षति पुर्याएको छ’ अध्यक्ष अधिकारीले भने, ‘कहाँ कति कति क्षति भयो भन्ने विवरण संकलन नगरेसम्म भन्न नसकिने अवस्था छ।’ वर्षदिनभरीका लागि  दुख गरेर लगाइएको बाली क्षणभरमै विनाश गरिदिएको अधिकारीले बताए।

कृषि पेशामा नै निर्भर हुँदै आइरहेका यस क्षेत्रका किसानहरू असिनाले खेती नष्ट गरेपछि चिन्तित भएका छन्। तरकारी खेती नै गरेर जीवन निर्वाह गर्नेहरुको खुसी लुटिएको किसानहरू बताउँछन्। असिनापानीले किसानले लगाएको खेतीबाली बगर जस्तै बनाएको गजुरी गाउँपालिका वडा न ८ का वडा अध्यक्ष राजकुमार ढुङगानाले बताए। ‘असिनापानीले हिउँदमा खनिएको बाटो समेत भत्काइदिएर हिल्लामे भएको छ’ ढुङगानाले भने, ‘किसानले लगाएको बाली पनि सखाप बनाएको छ।’ किसानलाई क्षतिपूर्ति वितरणका लागि कृषि विकास कार्यालय र गाउँपालिकामा छलफल भइरहेको ढुङगानाले बताए।

यस क्षेत्रमा उत्पादन भएको तरकारी आदामघाटमा संकलन गरि काठमाडौँ, चितवन, पोखरा लगायतका ठाउँमा लैजाने गर्दछ। तरकारी खेती गरेर जीवन निर्वाह गरेका किसानहरूको खेती नष्ट गरेपछि चिन्तित बनेका छन्।  

असिनाले क्षति पुर्याएको ठाउँमा गजुरी गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष तथा कृषि प्राविधिकको टोलीले स्थलगत अवलोकन गरेका छन्। अवलोकन पछि क्षति संकलन गरिने गाउँपालिकाले जनाएको छ। क्षति संकलन भएपछि राहतका लागि प्रक्रिया थालिने कार्यालयले जनाएको छ। असिनापानीले गत कात्तिकमा नेत्रावती गाउँपालिकामा ७ करोड भन्दा बढीको क्षति पुर्याएको थियो।

प्रकाशित: १५ वैशाख २०७५ ११:०९ शनिबार

असिना पानीले लुट्यो किसानको