समाज

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला

सिन्धुपाल्चोक- महिला सशक्तीकरण र लैंगिक समानताका लागि सदरमुकाम चौतारामा शुक्रबार एक दिने सामुदायिक मेला आयोजना गरियो । ‘सही हो’ अभियानले आयोजना गरेको उक्त मेलामा ठूलो संख्याका महिलासहित सयौँले सहभागिता जनाए। 

       महिलालाई लक्षित गरेर पहिलो पटक आयोजित सामुदायिक मेलाको कानुनमन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए । संविधानले महिलालाई अनगिन्ति हक दिएकाले तिन्को पूर्ण कार्यान्वन गर्ने प्रतिवद्धता उनले जनाए।

       संविधानको कार्यान्वयनका लागि ३ सय ५० कानुन निर्माणमा रहेको जानकारी दिँदै मन्त्री तामाङले भने, ‘पैतृक सम्पतिमा महिलाको बराबरी हक लाग्ने व्यवस्था अब क्रमशः कार्यान्वयन हुँदै जान्छ ।’ महिला हक, सशक्तीकरण, समानता, महिला हिंसा विरुद्ध मेलाबाट प्राप्त सन्देशलाई घर–घरमा लागू गर्नसमेत उनले अनुरोध गरे।

       महिला सशक्तीकरण, समनता, महिला हिंसा विरुद्ध प्रभावकारी सन्देश दिन आयोजित मेलामा सहभागि हुन चौतारा–साँगाचोकगढी नगरपालिका र आसपास गाउँका सयौँ महिला चुल्हो, चौको छोडेर सदरमुकाम आएका थिए। सन्देशमूलक लोकदोहोरी, विभिन्न सांगिकित कार्यक्रमसहितको मेलालाई नाचगान गरेर उनीहरुले उत्सवकै रुपमा बनाए।

       महिला अधिकारीकर्मी तथा मानवबेचविखन विरुद्धकी अभियन्ता चरिमाया घिसिङले प्राप्त अधिकारको उपभोग गर्न आग्रह गरिन् । ‘प्राप्त संवैधानिक र कानुनी हकको रक्षा गर्दै चुल्हो, चौकामा सीमित नभइ महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणित गर्ने बेला आएको छ,’ उनले भनिन् ।

       जितु नेपाल, शिवहरी पौडेल, सरिता गुरुङ, निरज नेपाल, मिना निरौला लगायत कलाकारले विभिन्न प्रस्तुतीमार्फत महिला हौस्याए । चेतनामूलक हाँस्यब्यंग प्रहशन, साँस्कृतिक प्रस्तुतीका माध्यमले उनीहरुले मेलाको माहौल उचाल्दै वाहवाही पाए ।

       मेलामा महिला उद्यमीद्धारा उत्पादित सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । महिलाले उत्पादन गरेका ढाकाका सामग्रीले सहभागिको ध्यान तान्दा त्यस्ता सामाग्रीको राम्रो व्यापारसमेत भयो । महिला हक, सो सम्वन्धी कानुन, महिला सशक्तिकरण, समानता र महिला हिंसाविरुद्ध जानकारी दिन मेलामा कानुनी डेस्कसमेत राखिएको थियो । उक्त डेस्कमार्फत उनीहरुले आफ्ना हक, अधिकार र कानुनी व्यवस्थाबारे जानकारीसमेत पाए।

       अभियान अन्तर्गत सुरक्षित आप्रवासन सम्वन्धी कथा र लोकदोहरी प्रतियोगिताका विजयी विद्यार्थी तथा कलाकारलाई मेलामा पुरस्कृतसमेत गरिएको थियो । इक्वेल एक्सेसले युएन वुमनको आर्थिक सहयोगमा सुरु गरेको सही हो पैरवी अभियान सिन्धुपाल्चोकसहित काभ्रे, धादिङ, मकवानपुर, कैलाली, बाँके लगायत ११ जिल्लामा सञ्चालन हुने इक्वेल एक्सेस सञ्चार तथा पैरवी अधिकृत नवोदिता सुवेदीले बताइन् ।

       उनले सिन्धुपाल्चोक सुरक्षित आप्रवासन र मानव बेचविखनको समस्या रहेकाले यस सम्वन्धी पैरवी गर्न सामुदायिक मेला आयोजना गरिएको बताइन् । ‘यस्तो मेला धादिङमा समेत छिट्टै लैजाँदै छौँ,’ सुवेदीले भनिन् । स्थानीय साझेदार संस्था सामुदायिक सारथीका कार्यकारी निर्देशक ताराबहादुर भण्डारीका अनुसार सिन्धुपाल्चोकमा सही हो अभियान ६ महिनादेखि सञ्चालनमा आएको हो ।

प्रकाशित: १४ वैशाख २०७५ १३:३५ शुक्रबार

उत्सवकै रुपमा महिलाले मनाए सामुदायिक मेला