समाज

सहभागितामा छलाङ

 काठमाडौं - पछिल्लो दशकमा सूचना प्रविधिले निकै ठूलो फड्को मारेको छ । स्मार्टफोनको प्रयोग व्यापक मात्र भएन, सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढेको छ । इन्टरनेट र डाटाको मूल्य सस्तिँदै गएपछि प्रयोग पनि बढ्दै गएको हो।

दशकअघिसम्म पनि नेपालमा डायल अप इन्टरनेट चलिरहेको थियो। टेलिफोन लाइनको प्रयोग गरेर मोडेमको माध्यमबाट इन्टरनेट चलाउने प्रविधि अहिलेका नयाँ पुस्ता धेरैलाई थाहा छैन । त्यसबाहेक, केबल इन्टरनेट भनेर तार तानेर घर घरसम्म इन्टरनेट पुर्‍याउने प्रविधि पनि त्यतिबेला निकै चलेको थियो । डाटा पनि सेकेन्ड जेनरेसन अर्थात टुजीमा सीमित थियो । सुस्त गतिमा चल्ने यो डाटा चलाउनका लागि पनि प्रयोगकर्ताले निकै महंगो मूल्य तिर्नुपर्ने अवस्था थियो भने मोबाइलको सिम पाउन पनि निकै मिहेनत गर्नुपथ्र्यो ।
अहिले समय निकै बदलिइसकेको छ ।

पछिल्लो दशकमा सर्वसाधारणले डायल अप इन्टरनेट चलाउन छाडिसकेका छन् । फाइबर डाइरेक्ट टु होम घरघरमा पुगिसकेको छ जसले गर्दा प्रयोगकर्ताले उच्च गतिको इन्टरनेट सस्तो मूल्यमा चलाउन सकेका छन् । मोबाइल फोनको नेटवर्क लगभग सबै क्षेत्रमा पुगिसकेको छ । यसले मानिसलाई एक कल फोन गर्न घन्टौं हिड्नुपर्ने बाध्यताबाट मुक्त बनाएको छ । गाउँदेखि सहरसम्मका सबैका हातहातमा मोबाइल फोन छ भने त्यही फोनमा थर्ड जेनेरेसन (थ्रिजी) र फोर्थ जेनरेसन (फोरजी) चलाउनेको जमात पनि बढेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले नेपालमा मोबाइल फोनका ग्राहक संख्या जनसंख्याभन्दा धेरै पुगेको देखाएको छ । विभिन्न मोबाइल अपरेटर कम्पनीले तीन करोड ७० लाखभन्दा धेरै सिमकार्ड ग्राहकलाई बेचिसकेका छन् । त्यस्तै, विभिन्न माध्यमबाट इन्टरनेट चलाउने जनसंख्या ६३ प्रतिशतभन्दा धेरै छ भने ब्रोडब्यान्ड इन्टरनेट चलाउनेको संख्या नै २७ प्रतिशत नाघेको छ।

सामाजिक सञ्जालको विकास
सन् २००८ को अप्रिलदेखि फेसबुक सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जालको रुपमा स्थापित छ । त्यसअघि माइक्रोसफ्टको माइस्पेस सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक सञ्जालको रुपमा रहेको थियो । सन् २००८ मै फेसबुक कनेक्टको पनि प्रयोग सुरु भयो । यसले गर्दा मानिसहरुले फेसबुक खाताको प्रयोग गरेर अरु तेस्रो पक्ष वेभसाइटमा लगइन गर्न सक्ने भए।

सन् २००८ मै ट्विटडेक सुरु भयो । ट्विटर, फेसबुक, लिंकडेनलगायत सामाजिक सञ्जाल प्रयोग गर्न सकिने यो एप्लिकेसनलाई अहिले सोसल मिडिया निरीक्षणका लागि पनि प्रयोग गरिएको छ । त्यसको तीन महिनापछि सन् २००८ को अक्टोबरमा एप्पलले एप स्टोर सार्वजनिक ग¥यो । आइफोन, आइप्याडजस्ता एप्पलका उत्पादनमा प्रयोग हुने एप्लिकेसन भण्डारले एप्पलका उत्पादनका प्रयोगकर्तालाई अझ सहज बनायो।सन् २००९ को सुरुआतसँगै टिवटर तेस्रो सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालको रुपमा अगाडि आयो । यो भन्दा अगाडि २२औं क्रममा रहेको ट्विटरका लागि यो एउटा कोसेढुंगा थियो ।

एक सय ४० क्यारेक्टरमा आफ्ना कुरा व्यक्त गर्नुपर्ने यो सञ्जाललाई माइक्रो ब्लगिङ साइटको रुपमा पनि लिन थालियो । यसको प्रयोग यतिसम्म हुन थाल्यो कि सन् २००९ को जुनमा माइकल ज्याक्सनको मृत्यु हुँदा ट्विटरको सर्भर नै क्र्यास भएको थियो । एक घन्टामा एक लाखको हाराहारीमा ट्विट गरेकाले यो सर्भर क्र्यास भएको प्राविधिक विवरण सार्वजनिक भएको थियो । तर यसको एक वर्ष पनि पूरा नहुँदै सन् २०१० को फेब्रुअरीमा हरेक दिन पाँच करोडभन्दा धेरै ट्विट हुन थालिसकेको थियो । अर्को ६ महिना बित्दा नबित्दै यो संख्या लगभग डेढ गुणाले बढ्यो।

सन् २००९ को मार्चमा फोर स्क्वायर सुरु भयो । स्थानबारे पोस्ट गर्न मिल्ने यो सामाजिक सञ्जालमा मानिसले आफू भएको स्थानबारे ‘चेक इन’ गर्न सक्ने र त्यहाँको फोटो पोस्ट गर्न सकिने सुविधा दिइएको थियो।सन् २०१० सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँमा एउटा महत्वपूर्ण वर्षको रुपमा रह्यो । यो वर्ष सक्रिय रुपमा फेसबुक चलाउनेको संख्या ५० करोड नाघ्यो । लेडी गागाको फेसबुक खाता एक करोड फ्यान हुने पहिलो जीवित व्यक्तिको खाता बन्यो । उनको युट्युब च्यानल सबैभन्दा पहिलो पटक एक अर्ब पटक भिडियो हेरिएको च्यानल बन्यो।

सन् २०१० को अन्त्यतिर विकिलिक्सले अमेरिकी राज्य विभाग (स्टेट डिपार्टमेन्ट) का गोप्य र महत्वपूर्ण कागजात सार्वजनिक गर्न थाल्यो । यसले गर्दा संसारभर तहल्का मच्चियो । विभिन्न देशबाट अमेरिकामा पठाइएका यी केबल लिक भएपछि ठूलाठूला प्रतिष्ठित व्यक्तिहरु पनि विवादमा तानिए।

सन् २०११ मा सामाजिक सञ्जालको प्रयोग परिवर्तनका लागि भएका उदाहरणहरु देख्न सकियो । इजिप्टमा राष्ट्रपति होस्नी मुवारकको सत्ता हल्लाउनका लागि सामाजिक सञ्जाल फेसबुक र टिवटरको प्रयोग व्यापक रुपमा भयो । यसले गर्दा इजिप्ट सरकारले केही समयका लागि इन्टरनेट नै बन्द गर्‍यो । इजिप्टबाट सुरु भएको ‘अरब स्प्रिङ’का नामले चिनिने यो आन्दोलन सन् २०११ भर नै मध्यपूर्वी र उत्तरी अफ्रिकाका अन्य मुलुकमा पनि फैलिँदै गयो ।

यसले गर्दा कतिपय मुलुकले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए । यसले सामाजिक सञ्जाल हल्काफुल्का मनोरञ्जनको साधन मात्र नभई सामाजिक र राजनीतिक रुपान्तरणका लागि पनि प्रयोग हुन सक्छ भन्ने प्रमाणित ग¥यो । इजिप्टको आन्दोलनमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिकालाई सम्झदै इजिप्टमा जन्मेको एकजना नवजात शिशुको नाम फेसबुक राखिएको थियो।

सन् २०११ मा बेलायतमा पनि सामाजिक सञ्जाल बन्द गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा व्यापक बहस भएको थियो । सामाजिक सञ्जालले आन्दोलन गर्न सघाउने र विद्रोह उत्पन्न गराउने भन्दै बेलायती संसदमा सामाजिक सञ्जालमाथिको प्रतिबन्धबारे आवाज उठे पनि बेलायती सरकारले बन्द भने गरेन।

सन् २०१० मा सार्वजनिक भएको इन्स्टाग्राम पनि फोटो र छोटो भिडियो सेयर गर्ने महŒवपूर्ण साधन बनेको छ । किशोर किशोरी र सामाजिक सञ्जाल प्रयोगकर्ता मात्र होइन, व्यावसायिक फोटोग्राफरले पनि इन्स्टाग्रामलाई आफ्नो फोटो सार्वजनिक गर्ने माध्यमका रुपमा लिएका छन् । कामको सिलसिलामा विभिन्न ठाउँमा पुगेका फोटोग्राफरले ‘अन असाइनमेन्ट’ ह्यास ट्याग प्रयोग गरेर फोटो पोस्ट गर्ने गर्छन्।

नेपालमा सामाजिक सञ्जालको प्रयोग
सन् २००४ मा मार्क जुकरबर्गले जन्माएको फेसबुकको प्रयोग एक दशकअघिसम्म नेपालमा खासै थिएन । पछिल्लो एक दशकमा नेपालमा फेसबुक चलाउनेको संख्या ह्वात्तै बढेको छ । अहिले करिब एक करोड नेपालीले फेसबुक चलाउने गरेको विभिन्न स्रोतहरुको अनुमान छ । त्यस्तै, व्यक्तिगत सम्बन्ध र सम्पर्कका अलावा नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग सामाजिक र राजनीतिक हिसाबले पनि व्यापक रुपमा हुँदै आएको छ।

अकुपाई बालुवाटारको आन्दोलन
नेपालमा सामाजिक सञ्जालको सामाजिक आन्दोलनको कुरा गर्दा अकुपाई बालुवाटारलाई बिर्सन सकिँदैन । २०६९ सालको पुसको पहिलो साता अरुको पासपोर्ट प्रयोग गरी साउदी अरब गएकी भोजपुरकी एक २० वर्षीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा अध्यागमन अधिकारी र प्रहरीको नियन्त्रणमा परिन् । दुई जना अध्यागमनका अधिकारी र एक जना प्रहरीले मिलेर उनीसँग भएको पैसा लुटे।

त्यतिले मात्र नपुगेर, प्रहरीले उनलाई एउटा गेस्ट हाउसमा लगेर जबर्जस्ती गरे । त्यो खबर सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा त्यसबारे चर्चा मात्र भएन, अकुपाई बालुवाटारको आन्दोलन पनि यहीबाटै सुरु भयो । देशका विभिन्न भागमा भइरहेका बलात्कारका अन्य घटनाले यसमा थप बल पुर्‍यायो । एक सय दिनभन्दा लामो समयसम्म चलेको यो प्रदर्शनले सामाजिक सञ्जाल प्रयोग गर्नेे तर कहिले पनि प्रत्यक्ष रुपमा नभेटेका धेरै मानिसलाई एकै ठाउँमा ल्यायो । बालुवाटारमा रहेको प्रधानमन्त्री निवासबाहिर दैनिक हुने यो प्रदर्शनले सरकारलाई महिलामाथि हुने हिंसाविरुद्ध कारबाही गर्नका लागि दबाब दियो।

सामाजिक सञ्जाल ट्विटरबाट भेटिएका ट्विटेहरुले सुरु गरेको ट्विट फर कज अभियान पनि नेपालमा सामाजिक कारणका लागि सामाजिक सञ्जाल प्रयोगको अर्को उदाहरण हो । ट्विटर प्रयोगकर्ताहरुले संकलन गरेको रकम यो अभियानमार्फत ससाना समाज सेवाका काममा प्रयोग गरेका थिए । सात वर्षअघि पहिलोपल्ट दीक्षा चापागाईंले सञ्चालन गरिरहेको पवित्र सेवा समाजमा रहेका बालबालिकालाई आवश्यक खाद्यान्न, पठनपाठनका सामग्रीलगायत सहयोग गरेर सुरु गरेको यो अभियानले उपत्यका बाहिर पनि आफ्नो अभियान सञ्चालन गरिसकेको छ।

आकस्मिक रुपमा चाहिने रगतका लागि रक्तदान प्रभावकारी बनाउन पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आइब्लड र युथ फर ब्लडको नामबाट सामाजिक सञ्जालमा सञ्चालन भएका अभियानले देशका विभिन्न ठाउँमा रहेका रक्तदातासँग सम्पर्कमा रहन सहयोग गर्छन् । यसले गर्दा हजारौं मानिसले चाहिएको बेला रगत पाउन सकेका छन्।

देश विशेष अवस्थामा रहेका बेला वा कुनै अभियान वा आन्दोलनका बेला पनि यही सञ्जालले नेपालीलाई एकजुट बनाउने गरेको छ। तीन वर्षअघि गएको महाभूकम्पका बेला राहत संकलनका लागि मात्र होइन, उद्धारका लागि पनि सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेल्यो । विभिन्न स्वयंसेवी समूह, नेपाल प्रहरीले पनि त्यो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर उद्धार र राहतका अभियानलाई प्रभावकारी बनाउन सफल भएको थियो।

संविधान निर्माण प्रक्रिया पूरा हुनै लाग्दा ट्विटरमा संविधानको स्वागतको बहार चल्यो । ह्यासट्याग वेलकम कन्स्टिच्युसन, नेपाल कन्स्टिच्युसन, माई कन्स्टिच्युसन प्रयोग गरी संविधानबारे सकारात्मक चर्चा चल्न थाल्यो । देशका विभिन्न ठाउँमा भइरहेका आन्दोलन र हिंसाका घटनाका बावजुद आएको यो बहारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि ऊर्जा दियो । सरकार काठमाडौंमा मात्र केन्द्रित भएको र तराईको समस्या समाधान गर्न तत्पर नदेखिएको भन्दै आलोचना गरेका ट्विटेहरूले नयाँ संविधानलाई भने भव्य स्वागत गरे।

पहिलो संविधानसभा निर्वाचनको समयमा चुनावी प्रचारको शैली पुरानै जस्तो थियो । भित्तामा चुनावी नारासहितका वाल पेन्टिङ हुन्थे, सादा र रंगीन पोस्टर टाँसिन्थे । सडकको वारपार हुने गरी तुल टाँगिन्थे।चुनावका दिनसम्म भित्ता फोहोर हुन्थे ।चार वर्षअघि भएको दोस्रो संविधानसभा र केही महिनाअघि भएको स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा चुनाव प्रचार गर्ने शैली बदलिएको छ । अहिले चुनावी प्रचार डिजिटल भएका छन् । एक दशकअघि जस्तो भित्ताहरु फोहोर भएनन्।

देशमा गणतन्त्र आएपछिको पहिलो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले देशभरी चुनावी रौनक छायो । नेता र कार्यकर्ता आआफ्नो पार्टीका प्रचार प्रसारमा व्यस्त भए । पहिले पर्चा र पम्पलेट बाँडेर आफ्नो पार्टीलाई जिताउन लागिपर्ने पार्टी कार्यकर्तालाई अहिले सोसल मिडियाले अझ सजिलो बनाइदिएको छ ।

सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसमार्फत आफ्नो पार्टीको चुनावी प्रचारप्रसारमा समेत नेता तथा कार्यकर्ता व्यस्त देखिए। सबैभन्दा धेरै सामाजिक सञ्जालमा अपडेट भइरहने हुनाले पनि अहिले सबै राजनीतिक दलले आआफ्नो सामाजिक सञ्जाल पोर्टल बनाएर जनतासामु कुरा राख्ने गरेको देखिन्छ।  त्यति मात्र होइन, सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच बहस पनि रमाइलो हुन्छ । उनीहरुबीचको आरोप प्रत्यारोप र आफ्नो आस्था भएको राजनीतिक दलको पक्षमा फेसबुक र टिवटरमा बहस निकै देख्न पाइन्छ।

फेसबुके पार्टी भनेर आलोचना खेप्ने गरेको विवेकशील साझा पार्टीको सोसल मिडिया चलाउने टोली २७ जनाको छ। स्थानीय तह निर्वाचनताका विवेकशील नेपाली र साझा पार्टी छुट्टाछुट्टै हुँदा पनि सोसल मिडियामा उपस्थिति बलियो देखिएको थियो । स्थानीय तह निर्वाचनपछि यी दुई दल गाभिएपछि पनि यो दलको सामाजिक सञ्जालमा उपस्थिति बलियो देखियो।

दोस्रो जनआन्दोलनपछि भएको पहिलो संविधानसभा निर्वाचन र त्यसपछि गठित संविधानसभाले चार वर्षसम्म पनि संविधान ल्याउन सकेको थिएन । त्यति बेला विघटन भएको संविधानसभाले ९० प्रतिशत काम पूरा गरेको भनिए पनि संघीयता, शासकीय स्वरूप लगायत केही प्रमुख मुद्दाको टुंगो लाग्न सकेको थिएन।

२०७० मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनले २०७१ माघ ८ गते संविधान जारी गर्ने भने पनि त्यति बेलासम्म संविधान जारी हुने कुनै छाँटकाँट नदेखेपछि सर्वसाधारण निराश भएका थिए । त्यसको करिब आठ महिनापछि संविधान जारी हुने भएपछि रमाएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो उत्साह प्रतिविम्बित गरेका थिए।

संविधानसभाद्वारा जारी नेपालको संविधानबारे सकारात्मक नरहेको भारतले नेपालमा नाकाबन्दी गर्ने आशयले विज्ञप्ति निकालेपछि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोश झनै चुलियो । नेपालले जसरी संविधान जारी गरे पनि यो नेपालको आन्तरिक मामिला भएको र भारतले हस्तक्षेप गर्न नहुने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘ब्याक अफ इन्डिया’ ह्यासट्याग राखेर ट्विट तथा स्टाटस लेखे।

नेपाल भ्रमणताका नेपाली भाषामा गरेको भाषणले वाहवाही कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ९० प्रतिशतभन्दा धेरै सभासदद्वारा हस्ताक्षर गरिएको संविधान जारी हुँदासमेत कुनै प्रतिक्रिया जनाएका थिएनन् । न उनले कुनै ट्विट गरे न फेसबुकमा स्टाटस पोस्ट गरे । नेपालमा गएको भूकम्पमात्र होइन, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको जन्मदिनमा समेत ट्विट गर्न भ्याएका मोदीले नेपालमा नयाँ संविधान जारी हुँदा पनि चुइँक्कसम्म बोलेनन् । यसलाई सामाजिक सञ्जाल प्रयोगतकर्ताले अर्थपूर्ण रूपमा हेरेका थिए।

भूकम्पका बेला पीडितलाई अनेकथरी प्रश्न सोधे भनेर भारतीय सञ्चारमाध्यमविरुद्ध खनिँदै ‘गो होम इन्डियन मिडिया’ ट्रेन्ड गराएका नेपालीहरूले ‘ब्याक अफ इन्डिया’ समेत ट्रेन्ड गराएका थिए । नेपालमा जारी नयाँ संविधानसँगै ‘ब्याक अफ इन्डिया’ ह्यासट्याग त झन् विश्वव्यापी रूपमा नै ट्रेन्ड भयो। सन्देश खरेलले पहिलोपटक सुरु गरेको यो ट्रेन्ड मंगलबार विश्वभर ट्विटर दुनियाँमा तहल्का नै मच्चायो। हिन्दुस्तान टाइम्स, दी हिन्दु लगायत भारतीय मिडियामात्र होइन अन्य देशका सञ्चारमाध्यमले समेत यो ट्रेन्डबारे समाचार पोस्ट गरेका थिए।

ग्याँस र पेट्रोलको लाइन, गाडी नपाएका सर्वसाधारणको तस्बिर सामाजिक सञ्जालमा व्यापक देखिएका थिए । त्यसबेला सरकारले दाउरासमेत बिक्री गर्न सुरु गरिसकेको थियो । ट्विटर प्रयोगकर्ताले एक लिटर तेल भारतीय दूतावासलाई दान दिउँ भन्ने व्यंग्यात्मक आन्दोलन समेत गरेका थिए ।नेपालमा विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति हुँदा सामाजिक सञ्जालभरी उनलाई बधाई तथा शुभकामना वर्षियो । जनकपुरमा गएर पूजा अर्चना गरेर फर्केपछि स्थानीयले विधवाले टेकेको मन्दिर परिसर दूषित भयो भन्दै सफा गरेको समाचारले सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोश चुलिएको थियो।

यही अवधिमा मेडिकल शिक्षा सुधार ल्याउन र जथाभावी मेडिकल कलेजलाई सम्बन्धन नदिन सरकारलाई दबाब दिँदै थुप्रै पटक डा. गोविन्द केसीले आमरण अनसन बसे । उनलाई समर्थन गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘आइएमविथडाकेसी’, ‘सेभडाकेसी’ जस्ता ह्यासट्याग ट्रेन्ड गराए । बलात्कार र घरेलु हिंसाका घटना पनि पत्रपत्रिकामा आउन थालेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रोशबाट बच्न सक्दैन । पछिल्लो समयमा देशभर बलात्कार र महिला हिंसाका समाचार आइरहेका बेला समाजिक सञ्जालका केही सक्रिय महिलाले ‘रेजअगेन्सटरेप’ अभियान सुरु गरेका छन् ।

यस अभियानमा ट्विटरमा सेयर भएका बलात्कारका घटना सेयर गरेर अभियानकर्ताले आक्रामक रुपमा सरकारलाई दबाब सिर्जना गर्न खोजेका छन्।कानुनी, सामाजिक, मनोवैज्ञानिक र राज्यको स्तरमा दबाब दिन खोजिएको ऋचा भट्टराई बताउँछिन् । बलात्कारलाई हेर्ने सोचाइप्रति संवेदनशील होउन, राज्यबाट सामाजिक सुरक्षा पाउनुपर्छ भन्ने हाम्रो प्रयास छ ।

त्यस्तै बलात्कारमा परेका महिलाले चाँडोभन्दा चाँडो न्याय पाउन भनेर यो अभियानमा आक्रामक रुपमा लागेको उनले बताइन्।ट्विटरको क्लोज ग्रुपबाट ह्वाट्सएपमा पनि ग्रुप बनाएर सबैजना बलात्कारको विरोध गरिरहेका छन् ।त्यस्तै पहिला पहिला नेता, कार्यकर्ता मन्त्रीसँग कुराकानी गर्न निकै मुस्किल भएपनि अहिले उनीहरुलाई प्रश्न गर्न, बहस गर्न समाजिक सञ्जाल राम्रो थलो बनेको छ ।

सामाजिक सञ्जालमा सरकारी कार्यालय, प्रधानमन्त्री कार्यालय, हेलो सरकारदेखि विभिन्न नेता, मन्त्रीसमेत सक्रिय छन् । सरकारले सामजिक सञ्जालमा पनि आफ्नो उपस्थिति बलियो बनेको छ । धेरै मन्त्रालय र सरकारी निकायले सामाजिक सञ्जालको प्रयोग गरेर सेवाग्राहीको गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने संयन्त्र विकास गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको हेलो सरकारले सबै सरकारी निकायको तर्फबाट संयोजन गर्दै सेवाग्राहीको गुनासो सुन्ने गरेको छ।
 

प्रकाशित: १४ वैशाख २०७५ ०८:४१ शुक्रबार

सहभागितामा छलाङ