समाज

अग्रणी समाजसेवी

मुरलिधर रुंगटा

रुंगटा औद्योगिक समूहका संस्थापक हुन्, मुरलिधर रुंगटा (७९) । उनी उद्योगी मात्र होइन, अग्रणी समाजसेवीका रूपमा पनि चिनिन्छन्। उनले ६ दशकअघि किशोरावस्थामै बाबु–बाजेको पुस्तैनी कपडा पसलमा काम गरेर व्यावसायिक जीवन सुरु गरे । त्यसयता उनले दर्जन उद्योगहरू स्थापना गरे।

अहिलेको पुस्ताका उद्योगी व्यावसायीले उनलाई समाजसेवीका रूपमा चिन्छन् । उनी ‘रुंगटा वेल फेयर सोसाइटी’ स्थापना गरी समाजसेवामा लागिरहेका छन् । उनको व्यक्तित्व शान्त र शालिन छ । उनी आफूले गरेको कामको प्रचारप्रसार गर्नसमेत रुचाउँदैनन् । ‘हजुरबुबाले दायाँ हातले दान गर्दा बायाँ हातलेसमेत थाहा हुनु हँुदैन भन्नुहुन्थ्यो,’ उनले आफ्नो काम प्रचारप्रसार नगर्नुको कारण खुलाए, ‘समाजमा भइरहेको योगदान अरुले चर्चा गर्छ भने कुरा बेग्लै हो । तर, आफैले प्रचार गर्दा दानको अर्थ नै रहँदैन।’

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य गणेशप्रसाद लाठ भन्छन्, ‘उहाँको जीवनको एउटा उद्देश्य देखिन्छ– सामाजिक क्षेत्रमा काम गर्ने । उहाँ सस्तो लोकप्रियताका लागि काम गर्नुहुन्न । योजनाबद्ध र ठोस उपलब्धि स्थापना हुने किसिमले काम गर्नुहुन्छ । त्यसकारण उहाँलाई एउटा असल व्यक्तिका रूपमा लिन सकिन्छ।’

२०६८ सालमा संस्था स्थापना गरेर उनले मानवीय र सामाजिक सेवालाई अघि बढाएका छन् । संस्थाले अहिलेसम्म सामाजिक महत्वका विभिन्न संरचना निर्माण र सेवामा १० करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ । उनले स्वास्थ्य र शिक्षालाई मानवीय विकासको आधार मानेका छन् । र, अरुलाई सहयोग गर्दा पाइने सन्तुष्टिलाई सबैभन्दा ठूलो सुख मानेका छन्।

२०६८ सालमा संस्था स्थापना गरेर उनले मानवीय र सामाजिक सेवालाई अघि बढाएका छन् । संस्थाले अहिलेसम्म सामाजिक महत्वका विभिन्न संरचना निर्माण र सेवामा १० करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ । उनले स्वास्थ्य र शिक्षालाई मानवीय विकासको आधार मानेका छन्।

‘उहाँ मानवता भएका समाजसेवी हुनुहुन्छ । व्यापार व्यावसायबाट थुप्रैले पैसा कमाउँछन् । तीमध्ये थोरैले मात्र समाजका लागि लगानी गर्छन्, उहाँ समाजका लागि लगानी गर्नेमा पर्नुहुन्छ,’ पर्सा– १ का सांसद प्रदीप यादवले भने, ‘उहाँले दिल खोलेर र सार्थक हुने गरी सामाजिक कार्यमा र मानवीय सेवामा लगानी गर्नु हुन्छ । र, सबैभन्दा ठूलो कुरा सबैको भलो चिताउनु हुन्छ।’

उनी दर्जनजति सामाजिक संघसंस्थामा आबद्ध छन् । उनी रुंगटा वेल फेयर सोसाइटीसँगै चाओसती धर्मशाला, चाओसती मन्दिर, मारवाडी सेवा समिति र वीरगन्जको गायत्री मन्दिरको अध्यक्ष भइसकेका छन् । अन्य संघसंस्थामा उनी सदस्य छन्।

महत्वपूर्ण योगदान
‘रुंगटा वेल फेयर सोसाइटी’ले सामाजिक सेवा क्षेत्रमा पु¥याएको योगदान उच्च छ । उनले वीरगन्जको बहुअरीमा रहेको चार करोड रूपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा कान अस्पताल बनाउन दान गरेका छन् । सो जग्गामा इम्पेक्ट नेपालले करिब ९ करोड रूपैयाँ लागतमा अस्पताल बनाउन लागेको छ।

उनले दुई वर्षअगाडि नारायणी उपक्षेत्रीय अस्पताललाई ‘डायलायसिस’ मेसिन किन्न करिब १२ लाख रूपैयाँ सहयोग गरेको थिए । मेसिन जडान भएपछि सयौं बिरामीले लाभ लिएको अस्पतालले जनाएको छ । उनले तीन करोड रूपैयाँ खर्चिएर नेपाल राष्ट्रिय मारवाडी भवन बनाउन लागेका छन् । पशुपति दर्शन वा अरु उद्देश्यले काठमाडौं पुग्ने यात्रुलाई बासको समस्या नहोस् भनी भवन बनाउन लागेको उनले बताए । त्यस्तै काठमाडौं र वीरगन्जका झन्डै आधा दर्जन धर्मशालामा रकम दान गरेका छन्।

पर्साको सुखचैनास्थित गीता गजेन्द्र जोशी माविमा १६ लाख रूपैयाँ खर्चिएर चार कोठा बनाएका छन् । गरिब तथा जेहेन्दार एक सय १० विद्यार्थीका लागि आठ लाख रूपैयाँ बराबरको छात्रवृत्ति पनि दिएका छन् । उनको संस्था (रुगंटा वेल फेर सोसाइटी)ले तीन वर्षअघि वीरगन्जबाट ४० लाख रूपैयाँभन्दा बढीको राहत सामग्री पठाएको थियो। भूकम्पपीडितको सहयोगका लागि उनले प्रधानमन्त्री राहत कोषमा २५ लाख रूपैयाँ जम्मा गरेका थिए।उनको संस्थाले तराईका जिल्लामा विपद्मा परेकालाई विभिन्न राहत सामग्री सहयोग गर्छ ।

पहाडी जिल्लाका विपन्न समुदायलाई उनी हरेक वर्ष एक हजार कम्बल वितरण गर्छन् । पहाडी जिल्लामा दृष्टीविहीनहरूको लागि उनले चार सय सेतोछडी बाँडेका छन् । हरेक वर्ष छठपूजाको समयमा पाँचदेखि सात सय बर्तालुलाई उनले सारी वितरण गर्दै आएका छन् । पोखराको पुम्दीमा मन्दिर बनाउन उनले ५० लाख रूपैयाँ दान गरेका छन्।

उनले वीरगन्जमा कन्या छात्रावासको भवन बनाउन तीन करोड रूपैयाँ छुट्याएका छन् । वीरगन्ज महानगरपालिकाले जग्गा उपलब्ध गराउनेबित्तिकै भवन निर्माण सुरु हुने उनले बताए । नारायणी उपक्षेत्रीय अस्पताललाई ‘पोस्ट ग्रेजुएट’ स्तरको पढाई हुने मेडिकल कलेज बनाउन आवश्यक पूर्वाधार थप्न लगानी गर्ने उनको योजना छ।   

पृष्ठभूमि
उनी १९९६ सालमा वीरगन्जमै जन्मिएका हुन् । बुबाआमाको कान्छो छोरा मुरलिधर पढाइ–लेखाइमा गतिला थिए । वीरगन्जकै त्रिजुद्ध माविबाट २०१३ सालमा एसएलसी गर्दा उनी लक्का भइसेका जवान थिए । र, वीरगन्ज महावीरस्थानमा बाजेले बसालेको ‘लक्ष्मी नारायण रामेश्वर लाल’ कपडा पसलमा बस्दै व्यवसायमा सामेल भइसकेका थिए । उतिबेला अहिलेजस्तो वीरगन्जको रूपरेखा नरहेको उनी सम्झिन्छन्।

हजारीमल धर्मशाला पछाडिको एरियामा पोखरी थियो । त्यसको छेउमा रहेको खाली जग्गामा उनका बुबाले तेल पेल्ने र चामल–आटा तयार गर्ने मिल सञ्चालन गरे । मिल सञ्चालनको जिम्मेवारी बुबाले उनलाई दिए । बुबा र बाजेबाट उनले व्यापारका महŒवपूर्ण ‘गुर’ सिकिरहेका थिए । ‘बुबाले ऋण लिएर व्यवसाय गर्दा आफ्नो क्षमता नबिर्सिनू र बैंकले खोजेको बखत मालसामान बेचेर कर्जा चुक्ता गर्नसक्ने गरी मात्र ऋण लिनु भन्नुहुन्थ्यो,’ उनले सम्झिए।

उतिबेला त्रिजुद्ध माविमा रात्रि कलेज चल्थ्यो । त्यहाँबाट रुंगटाले स्नातक गर्दासम्म व्यापार व्यवसायमा उनी पोख्त नै भइसकेका थिए । त्यसपछि उनले कहिले पनि फर्केर पछाडि हेर्नु परेन । वीरगन्जको आदर्शनगरमा चाओसती तेल मिलबाट सुरु भएको उनको सानो उद्योगमा अहिले दर्जनभन्दा बढी ठूला उद्योग छन्।

परवानीपुर र हेटौंडामा उनका दर्जन उद्योग सञ्चालित छन् । उनका उद्योग कृषि उपजमा आधारित छन् । उनको उद्योगमा उत्पादन भएको पोशक दानाले नेपाली बजारको ठूलो हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेको भन्दै अर्थमन्त्रालयले उनलाई २०७१ र २०७३ सालमा सम्मानित गरेको छ । २०५५, २०६५ र २०६८ मा पनि निर्यातकर्ताको रुपमा उनी सम्मानित भइसकेका छन्।

उनी अहिले पनि आफ्नो कार्यालयमा दैनिक आठ घन्टा काम गर्छन् । जुनसुकै मौसममा पनि बिहान ४ चार बजे उठ्छन्, उनी । नित्यकर्म सकिएर करिब एक घन्टा उनी मर्निङवाक गर्छन् । नुहाएर करिब डेढ घन्टा पूजा गर्छन् । त्यसपछि खाजा खान्छन् । र, केही समय आराम गर्छन्।

करिब साढे १० बजे आफ्नो कार्यालयमा पुगिहाल्छन् । अहिले पनि उनी कार्यालयको खरिद सम्बन्धी कार्य आफ्नै नियन्त्रणमा राखेका छन् । व्यवसाय गर्दा बेच्नेभन्दा किन्नेमा होसियार हुनुपर्ने उनको बुझाइ छ । व्यवसायमा अहिलेसम्म प्रगति गर्नुको कारण के हो ? उनले यसको रहस्य खोले– हरेक वर्ष व्यवसायमा निश्चित लगानी थप्नु । करिब हजार जनालाई रोजगारी दिने संस्था खडा गरेकोमा उनलाई सन्तुष्टि छ।

‘सुनको चरा बन्ने छ नेपाल’
उनी नेपालले समृद्धि हासिल गर्ने र जनताले सुख तथा सम्मानको जीवन बाँच्ने समय आउने आशा गर्छन् । ‘व्यवस्थित गर्न नसकेर नि समस्या भएको हो, अब भने स्थिरता आउने भएपछि राम्रो हुने विश्वास लागेको छ । नेताहरूले देशका लागि सोच्ने र काम गर्न सुरु गर्यो भने नेपाल ‘सुनको चरा’ बन्ने छ,’ उनी भन्छन्, ‘बाहिरी लगानी र सहयोग मज्जाले आउँछ । त्यसको सदुपयोग र व्यवस्थापन गर्न मात्र जान्नुपर्छ।’

रुंगटा समूहबाट सामाजिक तथा मानवीय सेवाका लागि एक अंश छुट्याएर लगानी गर्छन् उनी । र, आफ्नो खर्च सार्थक भए÷नभएकोमा पनि सतर्क हुन्छन् । उनले २०५६ पुस १४ गते तत्कालीन राजा वीरेन्द्रबाट ‘विशिष्ठ समाजसेवा सम्मान’समेत पाएका छन्।

प्रकाशित: १३ वैशाख २०७५ ०८:२३ बिहीबार

अग्रणी समाजसेवी