समाज

दुई महिनामा तीन महिलाको मृत्यु

पछिल्लो वर्ष हनुमाननगर बजार क्षेत्रमा आइपुगेको जंगली हात्ती। फाइल तस्बिर/नागरिक

राजविराज – कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रसँगै जोडिएर रहेको सप्तरीको पुर्वोत्तर ग्रामीण भेगमा जंगली हात्तीको आतंकले यतिखेर सर्वसाधारण त्रसित भएका छन्। आरक्षबाट राति निस्कने जंगली हात्तीहरूले कतिखेर घरबारविहीन हुने हो तथा ज्यान जाने हो भन्ने त्रासमा स्थानीय बासिन्दा परेका हुन्। हात्तीले आक्रमण गर्ने डरले उनीहरू रातभर जाग्राम बस्ने गरेका छन्।

पछिल्लो पटक गत सोमबार मध्यराति आएको जंगली हात्तीको समूहले जिल्लाको कञ्चनरूप नगरपालिका–११ की ४० वर्षीया दुर्गादेवी यादवको ज्यान लियो। प्रत्यक्षदर्शीका अनुसार हात्तीले पहिला घर भत्काए अनि घरमा सुतिरहेकी यादवलाई सुँढले समातेर लछारपछार पार्दै नजिकैको खेतमा लगेर मारे। आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा दुर्गाको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आरक्षबाट राति निस्कने जंगली हात्तीहरूले आक्रमण गर्ने डरले स्थानीय बासिन्दा  रातभर जाग्राम बस्ने गरेका छन्।

हात्तीले यसरी सर्वसाधारणको ज्यान लिएको घटना यस भेगका लागि यो पहिलो होइन। पछिल्लो दुई महिनायता जंगली हात्तीको आक्रमणमा परी कञ्चनरूप नगरपालिकाका तीन महिलाको ज्यान गइसकेको छ। एक वर्षयता जंगली हात्तीको आक्रमणमा परी सप्तरीका सात जनाको मृत्यु भएको स्थानीयले बताए।

यसअघि गत फागुन १ गते जंगली हात्तीकै आक्रमणमा परी कञ्चनरूप नगरपालिकाकै दुई महिलाको मृत्यु भएको थियो। घरबाट गुइँठा संकलन गर्न घर नजिकैको खेतमा गएका बेला जंगली हात्तीले आक्रमण गर्दा कञ्चनरूप नगरपालिका–५, पथरीकी ४५ वर्षीया दुर्गादेवी मुखिया र ३५ वर्षीया मञ्जुदेवी साहको ज्यान गएको थियो।

१० पुस ०७३ मा हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका ५५ वर्षीय किसान रघुनाथ खंगको मृत्यु भएको थियो। यस्तै १८ कात्तिक २०७३ को राती भारदह छेउकै बैरवा गाउँका ६२ वर्षीय किसान अलाउद्दिन खानको पनि जंगली हात्तीकै आक्रमणले मृत्यु भएको थियो। खेतमा बाली हेर्न गएका बेला खानलाई हात्तीले आक्रमण गरेको थियो।  

सोही वर्ष हनुमाननगरमा पनि हात्तीको आक्रमणले एक यूवकको मृत्यु भएको थियो भने अर्का एक जना गम्भिर घाइते भएका थिए। यसैगरी २९ असार २०७२ मा सप्तकोसी नगरपालिका–१०,  कमलपुरकी १३ वर्षीया संगीताकुमारी यादवको तथा १५ चैत २०६९ मा घोघनपुर–४ का ६१ वर्षीय विन्देश्वर चौधरीको मृत्यु पनि जंगली हात्तीको आक्रमणबाट भएको थियो। बाँसको झाडीमा लुकेका चौधरीलाई निकालेर हात्तीले कुल्चेको थियो भने बाख्रा चराउन मध्यवर्ती क्षेत्र गएकी बालिका यादवलाई पनि हात्तीले कुल्चेर मारेको थियो।

वर्षाैंको पीडा, सरोकारवाला निकाय मौन
सप्तरीको पूर्वोत्तर भेगमा पर्ने हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोसी नगरपालिको दर्जनौं गाउँ वस्तीमा वर्षाैंदेखि जंगली हात्तीले यसरी नै बबन्डर मच्चाउँदै आएको स्थानीय बासिन्दा बताउँछन्।

तर आरक्षण प्रशासन, स्थानीय तह, प्रहरी प्रशासन लगायतका सरोकारवाला निकायहरूले अहिलेसम्म समस्या समाधानका लागि कुनै काम गर्न नसकेको स्थानीयको आरोप छ।

हात्ती आतंक नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै त्यस क्षेत्रका दर्जनभन्दा बढी वस्तीका बासिन्दा चरणवद्ध आन्दोलनमा उत्रँदै आएका छन्। उनीहरूले पटक–पटक सप्तरी प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाउनुका साथै धर्ना, जुलुस गर्दै आएका हुन्। 

तर अहिलेसम्म हात्ती नियन्त्रणको भरपर्दाे व्यवस्था नगरिएको भारदहका स्थानीय रामु विश्वास बताउँछन्। ‘गाउँमा हात्ती पसेका बेला सुरक्षाकर्मी आएर धपाउनेबाहेक काम हुन सकेको छैन,’ उनले गुनासो गरे, ‘जंगली जनावरको संरक्षणप्रति गम्भीर राज्य नागरिकको सुरक्षाप्रति भने खासै चिन्तित देखिएन।’ स्थानीयका अनुसार जंगली हात्तीले ठूलो मात्रामा किसानका बालीनालीसमेत नष्ट गर्ने गरेका छन्।

अझै कार्यान्वयन भएन सोलार फेजिङको निर्णय
जिल्लाको पूर्वोत्तर ग्रामीण भेगमा हात्ती लगायतका जंगली जनावरहरूले बर्सेनि उत्पात मच्चाउनुका साथै सर्वसाधारणको ज्यानै लिन थालेपछि सप्तरी प्रशासनको सक्रियतामा आरक्षण प्रशासनले आरक्षणको सीमा क्षेत्रमा चौतर्फी सोलार फेजिङ (आरक्षण सीमा क्षेत्रलाई विद्युतीय तारले घेराबार गर्ने) गर्ने निर्णय गरेको पनि ६ वर्षभन्दा बढी भयो।

आरक्ष बाहिर निस्कन खोज्दा घेराबार गरिएको तारलाई छोइएर  विद्युतीय झट्का दिने भएकाले हात्ती लगायतका जंगली जनावर आरक्ष बाहिर ननिस्कने अपेक्षा गरिएको थियो। ०६९ पुसमै आरक्षको सिमानालाई सोलार फेजिङ गर्ने निर्णय गरिएको थियो। जंगली हात्तीलाई आरक्ष सीमाभित्र राख्न आरक्ष प्रशासनले सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्त तथा हात्तीपीडितहरूको उपस्थितिमा भारदहमा भएको सर्वपक्षीय बैठकले यो निर्णय गरेको थियो।

तर यो योजना लागू गर्न आरक्ष प्रशासन तथा स्थानीय प्रशासन दुवैले वेवास्ता गरेको स्थानीयको आरोप छ। यस्तै जंगली हात्तीले गरेको क्षतिको विवरण तयार गरी जिल्ला वन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउने र पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णयसमेत उक्त बैठकले गरेको थियो। तर आजसम्म कुनै काम सरकारी पक्षबाट नभएको हात्तीपीडित संघर्ष समितिका संयोजक बच्चालाल मण्डलले गुनासो गरे।

एक दशकअघि सम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा आरक्ष प्रशासनले पालेको हात्ती मात्रै बसोवास गर्दैआएको थियो। ती हात्तीहरू आरक्षको नियन्त्रणमा हुने गथ्र्यो, पाल्तु र प्रशिक्षित हात्ती भएका कारण तिनले सर्वसाधारणलाई प्रताडना दिदैंनथे।

तर, पूर्वको झापा हुँदै भारतको आसामबाट आएका करिब एघारवटा जंगली हात्तीको झुण्डले कोसी टप्पुलाई आफनो बसोबासस्थल नै बनाएपछि सप्तरी, सुनसरी र उदयपुर जिल्लाका मानव वस्तीहरू यतिखेर निकै संवेदनशील बन्न पुगेको कोसीपीडित समाजका कार्यकारी निर्देशक देवनारायण यादवले बताए।

प्रकाशित: १३ वैशाख २०७५ ०२:३२ बिहीबार

दुई महिनामा महिलाको मृत्यु