समाज

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको दुईवटा फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगले पोखरा विश्वविद्यालयका उपप्राध्यापक रवीन्द्रप्रसाद बरालविरुद्ध दायर गरेको मुद्दामा विशेषले २०८० फागुन १३ गते फैसला गरेको थियो। सो फैसलाउपर चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन बिहीबार गरेको हो।

यस्तै, मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँ र इन्जिनियर अमितकुमार ठाकुरका हकमा विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै फैसलाउपर बिहीबार नै सर्वोच्चमा पुनरावेदन गरेको हो। मनहरी गाउँपालिका–६ स्थित लोथर हाङलाङ फरिवाङ सडक स्तरोन्नति गर्ने कार्यमा भ्रष्टाचार भएको ठहर गरेको थियो। आयोगले रु तीन लाख ९१ हजार ९२९ बराबरको बिगो माग दाबी गरेको थियो।

विशेषले उक्त मुद्दामा गत भदौ ३० गते फैसला गरेको थियो। आयोगले गरेको मागदाबीअनुसारको फैसला नभएको पाइएपछि बिहीबार ती दुवै मुद्दामा पुनरावेदन गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०८१ ०७:०४ शुक्रबार