समाज

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

ल्याव टेष्टका लागि पठाउन लागिएको चिनीको नमूना संकलन गर्दै प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी। तस्बिर: दमन राई/नागरिक

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मिसावट भएको भन्दै शिलबन्दी गरिएको पशलबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ।

चिनीमा रसायनिक पदार्थ यूरिया मिसावट भएको पाइएको भन्दै ग्राहकले सूचना दिएपछि १२ दिनअघि शिलबन्दी गरिएको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पसल तथा गोदामबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको हो। चिनीमा रासायनिक पदार्थ यूरिया मिसावट भएको गुनासो आएपछि प्रारम्भिक अनुसन्धान पूरा गरेको प्रशासन र प्रहरीले मंगलबार पसल र गोदामको शिलबन्दी तोडेर विभिन्न बोराका चिनीको नमूना बट्टामा संकलन गरेको छ।

नमूनाका रुपमा ७ वटा बट्टामा संकलन गरिएको चिनी ल्याव टेष्टका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा पठाइने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। ल्याव टेष्टको रिपोर्ट नआएसम्म पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेलाई अनुसन्धानकै घेरामा राखिने प्रशासनले जनाएको छ।  नमूनाका लागि चिनी झिकिएको बोराबाट चिनी बिक्री नगर्न भनिएको छ।

एक ग्राहकले गत चैत ३० गते शुक्रबार खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयका नासु लिलाबहादुर बिश्वकर्मा नेतृत्वको टोलीले सोही दिन राती ९ बजे उद्योग बाणिज्य संघका पदाधिकारीको रोहबरमा पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सको पसल तथा गोदामलाई शिलबन्दी गरेको थियो।

प्रारम्भिक अनुसन्धानपछि प्रशासनले प्रहरीलाई बुझाएको युरिया मिसावट सम्बन्धी अनुसन्धानको फायल प्रहरीले रायसहित सरकारी वकिल समक्ष पेश गर्ने तथा सरकारी वकिलमार्फत प्रशासन समक्ष दोषीका बिरुद्ध अभियोगपत्र दर्ता भएपछि मुद्धाको किनारा टुंगिने प्रशासनले जनाएको छ। खाद्य पदार्थमा अखाद्यबस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ।

ग्राहकले चिनीमा मिसावट भेटिएको प्रशासनलाई जानकारी गराएपछि परिचालन गरिएको प्रहरीले पाण्डे भेराइटिजबाट ना ५ ख ७१३० नम्बरको ट्रकमा हालेर मिल्काउन पठाउन लागेको अवस्थामा साढे तीन बोरा चिनी समेत बरामद गरेको थियो।

प्रहरी पुग्नु अगाडि शंकास्पदरुपमा मिल्काउन पठाउन लागिएको ट्रकको चिनी शिलबन्दी गरेर सामुदायीक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ। ल्याव टेष्टका लागि ट्रकको चिनी समेत बट्टामा संकलन गरिएको छ। ट्रकमा भिजेजस्तो देखिने र पेट्रोलको गन्ध आउने अवस्थाको चिनी फेला परेको थियो।

प्रकाशित: ११ वैशाख २०७५ ०६:५२ मंगलबार

चिनीमा यूरिया मिसावट पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो