समाज

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

चितवन – नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा मंगलबार बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा एकापसमा ठक्कर खाँदा सहचालक तिमल्सिनाको मृत्यु भएको हो भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा दुर्घटना भएको उनले बताए। दुर्घटनाका कारण सडक एकतर्फ मात्र सञ्चालनमा छ। रासस

प्रकाशित: ११ वैशाख २०७५ ०४:०४ मंगलबार

बस ट्रक ठक्कर खाँदा एकको मृत्यु १९ घाइते