समाज

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण

 मोरङ - मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर-घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको छ।

स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए।वडाका जनप्रतिनिधिको समेत उत्साहजन उपस्थितिबीच भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३ नम्बर वडामा छ जनाको स्वास्थ्य परीक्षण भएको छ। स्थानीय सरकारले यस्तो खालको काम थालेकोमा वडावासीले अनौठो खुशी व्यक्त गरेका छन्।

ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, स्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलको परीक्षणका साथै खाँदै गरेका औषधिसहितका स्वास्थ्य सल्लाह प्रदान गरिनेछ। स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधि पनि आवश्यकताअनुसार सँगै प्रदान गरिएको छ।

प्रत्येक वडामा प्रत्येक महिना एक साताको अवधि छुट्याएर यसखाले चेकजाँच गरिनेछ। ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका नामक कार्यक्रमअन्तर्गत निर्देशिकासमेत निर्माण गरी काम थालिएको हो। यो कामको उदघाटन भने नयाँ वर्षको अवसर पारेर वैशाख १ गते भएको थियो।

वडा नम्बर ३ का ८४ वर्षीय तुलाराम बजगाईंको जाँच गर्दा मुटुको गतिमा समस्या देखिएकाले विराटनगरको नोबेल अस्पतालमा रेफर गरिएको छ। नगरपालिकाले १ नम्बर प्रदेशभरि उपचार गर्न वर्षमा एकपटक अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने क्रार्यक्रमको थालनी बजगाईंबाटै शुरु गर्दैछ।रासस

 

प्रकाशित: ११ वैशाख २०७५ ०४:०३ मंगलबार

पथरी शनिश्चरेमा घरघरमा स्वास्थ्य परीक्षण