समाज

तातो तराईले पोल्दा सारौंको मन उपत्यकातिर

तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

गर्मीको मौसम सुरु भएसँगै ललितपुरको भैंसिपाटीमा फुस्रो टाउके सारौंको चहलपहल फेरि सुरु भएको छ।

तराईको तापक्रम चर्किँदै जाँदा बसाइँ सार्दै आएका यी चराहरू पछिल्ला दिनमा भैंसिपाटीका रुख बिरुवादेखि घरको छतसम्म आउजाउ गर्न थालेका छन्।

अहिले भैंसिपाटी क्षेत्रमा दुईवटा फुस्रा सारौं देखिएका छन्। कहिले हरियो अवोकाडोको रुखमा, कहिले सुक्खा रुखको हाँगामा र कहिले घरको छत आसपास ओहोरदोहोर गर्दै ती चरा तीखो स्वरमा कराइरहेका छन्।

गुँड बसाउने उपयुक्त ठाउँ खोजेजस्तो देखिने ती चराहरू कहिले आहारा त कहिले सुरक्षित बसोबासको खोजीमा रुखबिरुवा चहारिरहेका छन्।

गत वर्ष यही स्थानमा सातदेखि दस वटासम्म सारौं देखिएको थियो। यसपालि संख्या थोरै देखिए पनि मौसम अनुकूल भए आगामी दिनमा संख्या बढ्ने स्थानीयको अनुमान छ।

भारत र तराई क्षेत्रमा प्रशस्त देखिने फुस्रो टाउके सारौं काठमाडौं उपत्यकामा भने दुर्लभ मानिन्छ। तर, पछिल्ला वर्षमा वन विनाश, जलवायु परिवर्तन र मौसमीय बसाइँसराइका कारण चराहरू नयाँ वासस्थानतर्फ आकर्षित भइरहेका छन्।

यिनै कारणले यो प्रजाति उपत्यकामा भित्रिएको हुनसक्ने अनुमान गरिएको छ।

यदि यिनीहरूले यहीँ गुँड बसाए, काठमाडौंको आकाशमा पनि फुस्रो टाउके सारौंको करकपार अझ गुञ्जिन सक्ने संकेत देखिएको छ।

सबै तस्बिर: सुप्रदीप्त न्यौपाने/नागरिक

प्रकाशित: ६ चैत्र २०८१ २३:०१ बुधबार