कृषिमा प्रयोग हुने रासायनिक विषादीको न्यूनीकरणका लागि नीति निर्माण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानअन्तर्गत कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाले बुधबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले नेपालमा उत्पादित तथा आयातित तरकारीमा विषादीको अत्यधिक प्रयोग भइरहेको भन्दै कानुनी व्यवस्था गरी विषादीको न्यूनीकरण गर्नुपर्ने धारणा राखे।
कीटनाशक न्यूनीकरण र सुरक्षित उपयोगसम्बन्धी कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर-१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले स्थानीय तथा प्रदेश सरकारले विषादी न्यूनीकरणका लागि न्यूनतम मापदण्ड बनाउनु आवश्यक रहेको सुनाए।
‘उत्पादन बढाउन प्रतिबन्धित विषादीसमेत प्रयोग भइरहेको छ। यदि स्थानीय सरकारले कुनै मापदण्ड बनाएर नियन्त्रण नगर्ने हो भने विषादीको प्रयोग झनै भयावह हुनेछ,’ उनले भने।
उपभोक्ताले पनि अर्ग्यानिक वस्तुको मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ। ‘विषादी हालेका तरकारी हेर्दा चम्किला देखिन्छन्, जसले उपभोक्तालाई आकर्षित गर्छ। त्यसैले अर्ग्यानिक र ननअर्ग्यानिक वस्तुको मूल्यमा भिन्नता हुनुपर्छ,’ उनले थपे।
उनले उपभोक्ताले विषादीरहित तरकारीको उपभोग गर्दै किसानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
जिल्ला प्राङ्गारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले रासायनिक विषादी प्रयोग गरिने ट्याङ्कीमा जैविक विषादी मात्र प्रयोग गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताए।
उनले कृषि प्राकृतिक वरदान भए पनि नीति नियमकै कारण रासायनिक विषादीको प्रयोग बढिरहेको बताए। ‘सरकारले रासायनिक मलमा अनुदान दिएर प्राङ्गारिक मललाई उपेक्षा गरिरहेको छ। यस्तो विभेदका कारण माटोको उर्वराशक्ति नै गुम्दै गएको छ,’ उनले भने।
उनका अनुसार अहिले किसानहरूले भेडे खुर्सानीमा १७ पटकसम्म विषादी छर्किरहेका छन्, जुन चिन्ताजनक अवस्था हो।
वातावरण संरक्षणकर्मी वसन्त रानाभाटले अत्यधिक विषादी प्रयोगका कारण वन्यजन्तु तथा पशुपन्छीसमेत प्रभावित भएको बताए।
किसानहरूले अन्धाधुन्ध विषादी प्रयोग गरिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि सुरक्षा मापदण्ड तय गर्नुपर्नेमा जोड दिए। ‘किसानले विषादी प्रयोग गर्दा वन्यजन्तु र चराचुरुङ्गीलाई प्रत्यक्ष असर परिरहेको छ। कतिपय चराचुरुङ्गी विषादी खाएर मरेका घटनासमेत देखिएको छ,’ उनले भने।
कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाकी प्रबन्धक सृजना भट्टराईले विषादी न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षको समन्वय आवश्यक रहेको बताइन्।
उनले प्राङ्गारिक खेतीसम्बन्धी तालिम लिएका किसानहरूले एक अर्कालाई विषादी न्यूनीकरणका उपाय सिकाउनुपर्ने धारणा राखिन्।
परियोजनामार्फत कृषक, विषादी बिक्रेता, पेशागत विषादी छर्कने व्यक्ति, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा उपभोक्तालाई विषादी न्यूनीकरणसम्बन्धी जानकारी प्रदान गरिरहेको उनले उल्लेख गरिन्।
‘हामीले तीन वर्षको अवधिमा जनचेतनामूलक सडक नाटक, विषादी अन्वेषण प्रयोगशाला स्थापनामा समन्वय, प्रदेश सरकारलाई विषादी न्यूनीकरण निर्देशिका हस्तान्तरणजस्ता कार्यक्रम गरेका छौँ,’ उनले भनिन्, ‘अब विषादी न्यूनीकरणलाई प्राथमिकतामा राख्दै उत्पादनसँगै बजार व्यवस्थापन गर्ने नीति आवश्यक छ।’
न्यूरेनी ताजा तरकारी सहकारी संस्थाका सचिव दयाराम सुवेदीले विषादी प्रयोग नगरी पनि तरकारी उत्पादन गर्न सकिने बताए।
उनले अफ सिजनका तरकारी र फलफूल उपभोग नगर्न सुझाउँदै सिजनअनुसारका उत्पादन मात्र खान उपभोक्तालाई आग्रह गरे।
प्रकाशित: ६ चैत्र २०८१ २०:५१ बुधबार