समाज

मोरङको धनपालथानमा आगलागी, एक बालिकाको मृत्यु

मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी ३ वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घरपरिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले बताए । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो ।

नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो र कति क्षति भयो भन्ने खुली नसकेको हुँदा घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ५ चैत्र २०८१ १४:४७ मंगलबार