समाज

सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन टोली जुम्लामा

सिंजा सभ्यताकाे तस्बिर।

तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा आइपुगेको छ।

पुरातत्व विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको छ। सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो।

विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिंजा उपत्यकामा पुगेको हो। टोलीले सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामै पुगेर सिंजा सभ्यताको बारेमा छलफल चलाएको थियो। महानिर्देशक प्रधानाङ्गले सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा समेट्ने आधार तयारीका लागि अध्ययन गर्न जुम्ला पुगेको बताए। उनका अनुसार सिंजा गाउँपालिकाको पहलमा टोली जुम्ला आइपुगेको हो।

महानिर्देशक प्रधानाङ्गले भने, ‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एक भएको देखिन्छ। तर आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ।'

पुरातत्व विभागले देशका १५ वटा नयाँ क्षेत्र विश्व सम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ। हाल लुम्बिनी र काठमाडौँ उपत्यका विश्वसम्पदा सूचीमा छन् । उनले काठमाडौँ उपत्यकाको पशुपतिनाथ मन्दिर, चाँगुनारायाण, बौद्ध स्तूपा, काठमाडौँ, भक्तपुर, पाटन दरबार क्षेत्र विश्वसम्पदा सूचीमा परेका भन्दै पुरातत्व विभागले अहिले देशका नयाँ १५ वटा क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी गरिरहेकाे छ। जसमा कर्णाली प्रदेशका सिंजा सभ्यता र दुल्लुका २२ देवल पनि रहेको उनको भनाइ छ।

‘विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृतिको चिह्न नै भेट्टाउन मुस्किल परिरहेको छ,’ उनले भने। विभागले अब सिंजालाई विश्वसम्पदा सूचीमा समेट्न काम अगाडि बढाउने तयारी पनि गरिरहेको छ।

यता सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटकपटक विभागमा पहल भएको बताए। उनले भने, ‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो। विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ।’

सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्व विभागले देखाएको चासोप्रति सिंजावासी उत्साहित छन्। झन्डै १२ औं शताब्दीमा सिंजामा तिब्बती मूलका राजा नागराजले खस साम्राज्यको शासन सुरु गरेको बताइन्छ।

प्रकाशित: ५ चैत्र २०८१ ०९:०० मंगलबार