समाज

भक्तपुरमा आगलागी: १२ लाख बराबरको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ स्थित मध्यपुर ठिमी अस्पताल नजिकै रहेको दुनोट फ्याक्ट्रीमा आइतबार आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार करेन्ट सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–४ निवासी २३ वर्षीय सनिस श्रेष्ठले सोही स्थानमा जग्गा भाडामा लिएर दुनोट फ्याक्ट्री सञ्चालन गर्दै आएका थिए।

आगलागीको सूचना पाएलगत्तै प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट वरपरका केही पसल तथा व्यवसायहरूमा पनि क्षति पुगेको प्रहरी परिसरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए।

११ लाख ७२ हजार ७ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०८१ २१:११ आइतबार