समाज

महामारीबाट बचाउन बाख्रालाई पीपीआर खोप

महामारीबाट बचाउन बाख्रालाई पीपीआर खोप दिइदै। तस्बिरः सरिता/नागरिक

धादिङ – धादिङमा जिल्लामा बाख्रा र कुखुरालाई लाग्ने रोगबाट बचाउन खोप दिन सुरु गरिएको छ। बाख्रालाई पीपीआर र कुखुरालाई रानीखेत विरुद्धको खोप लगाइएको हो। सम्भावित  महामारी फैलिन नदिनका लागि शर्तकता अपनाउन पीपीआर खोप दिइएको हो।

जिल्लाकोे सिद्धलेक गाउँपालिकाको वडा नं १, २, ४ र ५ मा २६ सय बाख्रा र कुखुरालाई गाउँमै गएर खोप दिइएको छ। पशुपालन बढी गरिने क्षेत्रलाई लक्षित गरी निःशुल्क खोप कार्यक्रम संचालन गरिएको सिद्धलेक साना किसान सबलीकरण परियोजनाका प्राविधिक संयोजक ईश्वरी कोइरालाले बताइन्। ‘पीपीआर रोगका कारण जिल्लाका विभिन्न क्षेत्रमा वर्षेनी सयौ बाख्रा मर्ने गरेका छन्’। कोइरालाले भनिन् ‘रोग लाग्नु भन्दा अगावै त्यसको शर्तकता अपनाउन पीपीआर खोप दिएका हौ।’ यस्ता महामारीबाट पशुलाई बचाउन किसानलाई समयमै खोप लगाउनको लागि गाउँभरी आह्वान गरिएको छ।

हेफर इन्टरनेशनल र सिद्धलेक गाउँपालिकाको सहयोगमा प्रयास नेपालले खोप प्रदान गरेको हो। पीपीआर रोग भएका बाख्राले पानी जस्तो दिशा गर्ने, गीजामा फोका आउने,  ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने लगायतका लक्षण देखाउँछ। यो लक्षण देखिएकोे एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। त्यसैले महामारी हुन नदिन गत वर्षहरूमा जस्तै निरन्तर रुपमा पीपीआर खोप निःशुल्क रुपमा लगाउँदै आएको कोइरालाले बताइन्। जिल्ला पशुसेवा कार्यालयले पनि रोगविरुद्ध खोप अभियान संचालन गर्दै आइरहेको छ।

गतवर्षहरूमा जिल्लाका विभिन्न ठाउँमा बाख्रामा पीपीआर रोग लागेपछि धेरै बाख्रा मरेका थिए। स्वास्थ्यसंस्थाको पहुँच टाढा र खोप लगाउनुपर्छ भन्ने ज्ञानको अभावमा किसानहरूले पालेका बाख्रा मर्ने गरेका छन्। गाउँमा निःशुल्क रुपमा खोप अभियान संचालन गरेकोमा सिद्धलेक गाउँपालिका २ का उषाकुमारी श्रेष्ठ खुसी व्यक्त गर्छिन्। किसानहरुले पालेको बाख्रा मर्यो भन्ने सुनेको छु श्रेष्ठले भनिन्, ‘आफूले पालेको बाख्रामा खोप दिएपछि रोगबाट बचाउन ढुक्क भएको छु।’ उनले आफूले पालेका ९ वटा बाख्रा पीपीआर खोप लगाएका छन् भने कुखुरामा रानीखेत खोप दिएका छन्।

पीपीआर रोगविरुद्ध लड्ने इम्यूनीटी पावर हो। कुनै रोगको औषधि होइन। यसले  लगाएको तीन वर्षसम्म काम गर्छ। त्यो अवधी सकिएपछि फेरी यो खोप दिनुपर्छ। तीन महिना भन्दा मुनिका बच्चा पाठापाठीलाई दिन हुँदैन। हरेक वर्ष विभिन्न संघसंस्था तथा पशु कार्यलयले संचालन गर्दै गाउँगाउँमा खोप अभियान संचालन गरिएको छ। तर पनि धादिङमा रोगको खतरा उच्च मानिन्छ। बाहिरी जिल्लाबाट बाख्रा तथा कुखुरा ल्याएर पाल्ने प्रचलनले पनि रोग निम्तिएको पशु प्राविधिकहरूको भनाई छ।

पिपिआरको लक्षण देखियो भने बाख्रालाई बचाउन सकिन्न। त्यसैले खोप लगाउनै पर्छ। रोग फैलियो भने चाडै खोरै सखाप पार्ने गर्छ। पीपीआरको लक्षण देखेपछि त्यसको उपचार नहुने भएका कारण महामारीबाट किसानहरू आफै सर्तक हुनुपर्ने देखिन्छ। यस्ता रोगले सताएपछि न औषधि उपचार न पशु चिकित्सक नै पाउने गरेका छन्।     दुर्गम गाउँमा बाख्रा पालेर दैनिकी जोहो गरेका किसानको पहुच जिल्ला सम्म नहुनाले समयमै उपचार विधिको उपयोग हुन सकेको छैन। पीपीआर एक पटक खोप लगाउदा दुई वर्ष सम्म कुनै रोगले पशुलाई आक्रमण नगर्ने पशु चिकित्सकहरूको भनाई छ।

प्रकाशित: ९ वैशाख २०७५ ०९:५४ आइतबार

महामारीबाट बचाउन बाख्रालाई पीपीआर खोप