समाज

नर्भिक अस्पताल २५ वर्षमा

काठमाडौं – नर्भिक इन्टरनेसनल हस्पिटलले रजत महोत्सवका अवसरमा १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ। मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत उनीहरुलाई सम्मान गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले शनिबार रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेसनाथ गंगोल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमांगमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराल रहेका छन्। उनीहरुलाई प्रमुख अतिथि प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाले अभिनन्दन गरेकी थिइन्। अस्पतालले दीर्घ सेवा गरेका चार जना कर्मचारीलाई समेत सम्मान गरेको छ।

अस्पतालले रजत महोत्सवको अवसर पारेर अत्याधुनिक सुविधायुक्त चार शैय्याको हेमोडाइलाइसिस सेवा पनि सुरु गरेको छ। हेमोडाइलाइसिस सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरेकी छिन्। अस्पतालको पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि विमोचन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पु-याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिकले गरेको योगदानको सरहाना गरेकी थिइन्। मुलुकको आवश्यकताअनुसार प्रविधि हस्तान्तरण, सेवा विविधीकरण, सार्वजनिक–निजी साझेदारीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताइन्।

कार्यक्रममा अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको नर्भिकलाई लक्ष्यअनुसार विकास गर्न अस्पताल प्रतिवद्ध रहेको जनाए। अस्पतालका सद्भावनादूत एवं कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशि विदेसिएको यथार्थ औंल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताए।

प्रकाशित: ९ वैशाख २०७५ ००:५८ आइतबार

नर्भिक अस्पताल २५ वर्षमा