‘पिउने मानिसको स्वास्थ्यमा मदिराको पहिलो थोपाबाटै खतरा सुरु हुन्छ’ यो भनाइ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हो ।
रक्सीको कुलतमा नडुबेको भए प्रेम ढुंगाना यतिबेला सायद जनशिक्षित मावि अर्जेवा बागलुङमा नेपाली विषय पढाइरहेका हुन्थे। तर उनी रक्सीकै कारण ४२ वर्षकै उमेरमा गत पुस ६ गते प्राण त्यागे।
जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट लुरुङका प्रेम ढुंगानाको परिवार रक्सीले उजाडिदियो। उनी मात्रै होइनन्, उनकै परिवारमा रक्सीकै कारण चार दाजुभाइको अल्पायुमै ज्यान गइसकेको छ। चारैजनाका श्रीमती र छोराछोरी छन्। प्रेमका तीनजना दाजु उनीजस्तै मदिरा सेवनकै कारण बितेका थिए।
जेठो दिलबहादुर, माइलो ढुण्डीराज, साइँलो हरिप्रसादले यसअघि नै ज्यान गुमाइसकेका थिए। घरका कान्छा प्रेमले दाइहरूबाट पाठ सिक्नुको साटो त्यही पिउने बाटो पछ्याए। गाउँले र परिवारका अनुसार मदिराकै कारण ४० वर्षकै हाराहारीमा चारै भाइले ज्यान गुमाएका हुन्।
के मदिराले मानिसको ज्यानै जान्छ ? यो प्रश्न मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेललाई सोध्दा उनको उत्तरसँग मेल खान्छ। उनी ‘दिन नबिराई रक्सी पिउने व्यक्तिको विभिन्न रोगका कारण पाँचदेखि १० वर्षभित्रमा ज्यान जाने जोखिममा पर्ने’ बताउँछन्। अनुभवी डाक्टरको भनाइलाई आधार मान्दा पनि मदिराकै कारण ज्यान गएको अनुमान गर्न सकिन्छ।
श्रीमती पार्वतीका अनुसार प्रेमले १२ वर्षअघिदेखि रक्सी पिउन सिकेका थिए। गाउँका सानातिना भट्टीमा प्लास्टिकको सानो बोतलमा पाइने ‘खोइला बिर्के (पाउच)’ भनिने र स्थानीय सहज रूपमा पाइने ‘लोकल’ रक्सी उनले लगातार पिउने गरेका थिए। उनलाई रक्सी खाने कुनै समय चाहिन्नथ्यो। बिहानदेखि लगातार पिइदिन सक्थे। चौबिसै घण्टा पिइरहन सक्थे। श्रीमतीका अनुसार रक्सी नपिएका बेला उनी ‘देउतैजस्ता’ थिए। ‘रक्सी नखाका बेला त पाइनसक्नुका मान्छे थिए,’ उनले नागरिकसँग भनिन्।
एउटा ब्राह्मण परिवारका चार भाइको अल्पायुमै ज्यान मात्र गुमेन, पत्नीहरू पति गुमाएर विधवा भए, छोराछोरीले बाबु गुमाए। विद्यालय पढिरहेका छोराछोरी आफ्ना बाले रातदिन रक्सी खाएर मातेको हेरिरहे। अभिभावकत्व पाउनुको साटो बाको चिन्ताले मानसिक रूपमा कस्तो असर परेको होला? यस्तो भोग्ने बालबालिकाका विषयमा कुनै अध्ययन हुन सकेको छैन।
‘मान्छे जम्मा भएको ठाउँमा छोराछोरी जान नमान्ने, पढ्न नमान्ने असर प¥यो,’ प्रेमकी पत्नी पार्वतीले भनिन्, ‘छोराछोरीले बुबाको कुरा कसैले नसोधे हुन्थ्यो भन्थे। एकान्तमा बस्न खोज्ने, बच्चाहरूलाई नकारात्मक असर परेको छ।’
पिउने बानीका छोराहरूकै चिन्तामा डुबेकी आमाको दुई वर्षअघि ७९ वर्षको उमेरमा निधन भएको थियो। ‘आमाको मन कहिल्यै उज्यालो भएन। मनमा शान्ति भएन। छोराको पिरैपिरले बित्नुभयो उहाँ,’ पार्वतीले भनिन्।
गाउँमा स्थानीय परम्परागत रूपमा बनाइने लोकल मात्रै होइन, छिमेकी मुलुक भारतबाट भित्रिएको एकदमै कमसल रक्सी पनि पुगेको छ। प्लास्टिकको एउटा सानो बोतलमा पाइने रक्सी गाउँका खुद्रा पसलमा सहजै पाइन्छ। गाउँमा न त त्यो गुणस्तर नापिन्छ, न बेच्न रोकिन्छ।
उनका दुई छोराछोरी र पत्नी छिन्। उनकी पत्नी पार्वतीले मदिराको लत छुटाउन सकेजति गरिन् तर सकिनन्। ‘उपचार गर्न नलगेको ठाउँ नै छैन,’ सुस्केरा हाल्दै उनले भनिन्। उनी अहिले आफ्नो भाग्यमै लेखिएको होला भनेर चित्त बुझाउन बाध्य छिन्। ‘लोकल, सिसा, खोइला बिर्के जे भए नि अड्कलेर नखाने। चारपाँचवटा गोजीमा बोकेर हिँड्ने,’ उनले भनिन्।
नेपाली विषयमा स्नातकोत्तर सकेका प्रेम विद्यालयमा पढाउँथे। उनी कहिले विद्यालय जाँदाजाँदै बाटोमै हराउँथे। कहिले हल्लिँदै विद्यालय पुगेर जेनतेन पढाउँथे। गाउँलेका अनुसार उनलाई सुधार्नका लागि अनेक प्रयत्न पनि नगरिएको होइन। उनले सुधार केन्द्र पुर्याउनेलाई उल्टै नराम्रो सोचेका थिए।
चितवनको एउटा सुधार केन्द्रमा उनलाई तीन महिना राखिएको थियो। गाउँ फर्केपछि नौ महिना खान छोडेका थिए। आखिर उनले रक्सी जित्न सकेनन्। रक्सीले उनलाई जित्यो। उनी मदिराको नशाबाट बाहिर निस्कनै सकेनन्। अन्ततः बेवारिसे रूपमै बाटामा ढलेको अवस्थामा भेटिए, जुन बेला उनको प्राण उडिसकेको थियो।
यो बागलुङको एक परिवार जुन रक्सीले उजाडेको प्रतिनिधिमूलक कथा हो। यस्ता धेरै परिवार पिउने बानीकै कारण उजाडिएका छन्। पिउने बानीकै कारण झैझगडा, मारपिट, घरेलु हिंसा, सम्बन्ध विच्छेदलगायत थुप्रै नकारात्मक असर परिवारमा परेका छन्।
यस्तो विषयमा खासै अध्ययन, अनुसन्धान हुन सकेको छैन। रक्सी पिउनेले पिइहाल्छ तर परिवारले निकै दुःखकष्ट भोगेका छन्। प्रायः महिलाले त्यसको भार खेप्नुपरेको छ। किनकि रक्सी खाने श्रीमान्बाट दिनरात कुटिनुपर्छ। छोराछोरी पढाउने, हुर्काउने भार महिलामै पर्छ। रक्सी खाने श्रीमान्का श्रीमतीले निकै दुःख झेल्नु परेको गाउँघरमा देखिरहेका घटना हुन्।
राज्यले सार्वजनिक स्थानमा मदिरा नबेच्न पनि निर्देशन दिइरहेको हुन्छ तर त्यसको अनुगमन गर्ने निकाय छैन। मदिराले स्वास्थ्यमा गम्भीर असर पुग्ने र विभिन्न रोग लागेर मानिसको मृत्यु हुन्छ। ‘...मदिरा नियन्त्रण तथा रोकथामको लागि विद्यमान कानुनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। स्थानीय सरकारले विद्यमान कानुबमोजिम गर्न सकिने व्यवस्था...’ राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले २०८१ असार २७ गते स्थानीय तहलाई पत्राचार पनि गरेको छ। त्यसै पत्रको आधारमा सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको पनि देखिन्छ। ‘सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीसेवन गर्न नपाउने’ गरी सूचना टाँस्न अह्राइएको छ।
‘चुरोट तथा सुर्तीजन्य पदार्थ र मदिरा १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री नगर्ने र बिक्री गर्न नलगाउने, मदिरा बिक्रीवितरणका लागि निश्चित पसललाई मात्र लाइसेन्स दिने, जथाभावी बिक्रीवितरण गर्न नदिने...’ लगायत कानुनी व्यवस्थालाई उल्लेख गर्दै सार्वजनिक सूचना जारी गर्न अह्राइएको छ।
मदिरापानका कारण शरीरलाई हानि गर्ने विषयमा सबैजना जानकार नै हुन्छन्। तर, कमसल खालको गुणस्तर जाँच नगरिएको मदिरा गाउँघरमा छ्यापछ्याप्ती पाइन्छ।
रक्सीका कारण एक लाख जनामा १६८ को मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा प्रतिएक लाख १६८ जनाको मदिराका कारण मृत्यु हुने गरेको छ। मदिराबाट मृत्यु हुनेको विश्वव्यापी सूचीमा नेपाल १२९औं नम्बरमा छ।
डब्लुएचओकै सन् २०२४ को प्रतिवेदनअनुसार मदिरापानका कारण विश्वभरि वार्षिक २६ लाख मानिसको ज्यान जान्छ। मदिराले पेट तथा स्तनसहित सातथरी क्यान्सर गराउँछ। मृत्यु हुने समग्र कारणमा ४.७ प्रतिशत मदिराबाटै हुने देखिएको छ।
संक्रामक रोगबाट ३ लाख मानिस, चोटपटकबाट सात लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। ‘थोरै भन्नाले बढीमा डेढ लिटर वाइन वा साढे तीन लिटर बियर अर्थात् ४५० एमएल रक्सी खतराजनक हुने’ अध्ययनले देखाएको छ।
डब्लुएचओको नयाँ निर्देशनले मदिरापानका कारण यात्रा पनि सुरक्षित नहुने उल्लेख गरेको छ। विश्वमा प्रतिव्यक्ति मदिरा उपभोग सन् २०१० मा ५.७ लिटर रहेको थियो। सन् २०१९ मा अलिकति घटेर ५.५ लिटर भएको अध्ययनको तथ्यांकले देखाएको छ। त्यसमध्ये पुरुष धेरै मदिरापान गर्छन्। पुरुषहरूले औसत ८.२ लिटर पिउँछन् भने महिलाले २.२ लिटर पिउँछन्।
प्रतिवेदनले विश्वव्यापी रूपमा मदिरा र लागुपदार्थको प्रयोगले जनस्वास्थ्यमा पारेको प्रभावबारे उल्लेख गरेको थियो। सन् २०१९ मा विश्वव्यापी रूपमा रक्सीको खपतका विषयमा तथ्यांक दिएको थियो। प्रतिवेदनले विश्वव्यापी रूपमा अनुमानित ४० करोड मानिस रक्सी र लागुपदार्थको प्रयोग गरी विकारका साथ बाँचेको तथ्यांक छ। जसमध्ये २० करोड ९० लाख मानिस मदिराको लतमा बाँचिरहेका थिए।
नेपालमा मदिराबाट मृत्यु हुनेहरूको यकिन तथ्यांक कतै पनि राखिएको छैन। नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार प्रहरीले त्यस्तो खालको तथ्यांक नराखेको बताए। हामीसँग ‘मदिरा पिएर गाडी चलाएर कारबाही हुनेहरूको मात्रै हुन्छ’ उनले भने। प्रहरीले बेलाबेलामा गाउँमा मदिरा नष्ट पनि गर्ने गरेको छ। त्यसको पनि कुनै एकमुष्ट विवरण नभएको उनले बताए।
नेपाल प्रहरीले मादक पदार्थ सेवन(मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारबाही गर्ने गरेको छ। मापसे गरेपछि प्रहरीलाई छलेर हिँड्ने चलन पनि उत्तिकै छ। दैनिक औसतमा चार दुर्घटना मापसेकै कारण हुने गरेको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ। काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति रहेको प्रहरीको तथ्यांक छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्म पाँच महिनामा मापसेका कारण देशभरि ६२१ वटा दुर्घटना भएका छन्। दुर्घटनामा ४७ जनाको ज्यान गएको छ भने ८०७ जना घाइते भएका छन्। पाँच महिनामा मापसेका कारण काठमाडौं उपत्यकामा ३७७ वटा दुर्घटना भएका छन्। त्यसमा १६ जनाले ज्यान गुमाएका छन् भने ३८९ जना घाइते भएका छन्।
नक्कली अर्थात् विभिन्न रसायन मिसाइएको रक्सी खाँदा कतिको मृत्यु पनि हुने गरेको छ। कतिपय मानिसले अत्यधिक रूपमा रक्सी पिउँदा विषाक्त प्रभावले मृत्यु भएको छ। रक्सी खाएर गाडी चलाउँदा पनि दुर्घटना हुने गरेका विभिन्न घटना छन्।
नेपालमा घरेलु परम्परागत रूपमा कति र कस्ता खालका रक्सी, जाँड बनाइन्छन्। कति खपत हुन्छ भन्ने आधिकारिक तथ्यांक राज्यले राख्न सकेको छैन। गाउँघरमा प्रायजसो मदिरालाई कडा बनाउन विभिन्न अखाद्य, रसायन मिसाएर बनाउने गरेका घटना समयसमयमा सुनिने गरेका छन्। नेपाल प्रहरीले पनि त्यस्ता खालका घरेलु रक्सी नष्ट गर्ने गरेको छ। तर, एकमुष्ट तथ्यांक राखिएको छैन।
मदिराका विषयमा नेपालमा खासै अध्ययन, अनुसन्धान भएको पाइँदैन। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले ‘विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१९ मा भएको एउटा सर्वेक्षणलाई पछिल्लो अध्ययन मान्न बाध्य छौं। हरेक पाँच वर्षमा गरिने भनिएको सर्वेक्षण अब गर्ने तयारी भइरहेको डा. मेघनाथ धिमालले बताए। ‘यसपछि अध्ययन भएको छैन। यसलाई नै हेर्न सक्नुहुन्छ,’ उनले भने।
मदिराका विषयमा परिषद्को पछिल्लो अध्ययन भनेको पाँच वर्षअघिकै मात्र रहेको उनले बताए। अध्ययनमा १५ वर्षदेखि ६९ सम्मका व्यक्तिलाई समेटिएको थियो। पाँच हजार ५९३ जनामा गरिएको सर्वेक्षण गरिएको थियो।
सर्वेक्षणले सामाजिक–जनसांख्यिकमा चार प्रमुख विशेषतामा आधारित भएर जोखिम कारकका विषयलाई हेरिएको थियो। त्यसमध्ये सुर्ती, रक्सी, आहार, शारीरिक गतिविधिलाई पनि आधार मानिएको थियो। चार शारीरिक जोखिम कारकहरूमा अधिक तौल, मोटोपना, रक्तचाप बढेको, कोलेस्ट्रोल बढेको अध्ययनमा भेटिएको थियो।
सबैभन्दा सामान्य प्रकारको रक्सी नेपालमा खपत हुने गरेको छ। घरमै परम्परागत रूपमा बनाइने मादक पेय पदार्थ रक्सी झन्डै ५१ प्रतिशतले पिउने गरेको सर्वेक्षणले देखाएको थियो। अध्ययनको बेलाको ३० दिनअगाडिलाई आधार मानिएको थियो। त्यसपछि घरमै बनाइने जाँड खपत हुने गरेको झन्डै २५ प्रतिशतले बताएका थिए ।
सरदर आठजना पुरुषमध्ये एकजनाले दैनिक मदिरा सेवन गर्ने भेटिएको थियो। अध्ययनअनुसार सरदरमा हेर्दा १४ लाख जना वयस्कले पिउने गरेका छन्। नियमित रूपमा ११ लाख पुरुषले पिउने गरेका छन्।
एकैपटकको बसाइमा टन्न पिउनेहरू ६.८ प्रतिशत वयश्क देखिएका छन्। झन्डै सात प्रतिशत वयस्कले एकै बसाइमा ठूलो पेग (६० एमएल) पिउने गरेका छन्। यो सर्वेक्षणले समेटेको पछिल्लो ३० दिनको हो। व्यापक पिउनेमध्ये झन्डै १३ प्रतिशत पुरुष र २ प्रतिशत महिला देखिएका हुन्।
तथ्यांकमा नसमेटिएको मदिरा सेवनमा गरेको पछिल्लो सात दिनमा ६८ प्रतिशतले पिउने गरेका छन्। मदिरा सेवन जसको कुनै तथ्यांकमा रक्सी (५७.४ प्रतिशत), जाँड (३६.४ प्रतिशत)जस्ता घरेलु मदिरा देखिन्छन्। यो मध्ये सीमाक्षेत्रबाट तस्कर गरी अवैध रूपमा करिब ६ प्रतिशत मदिरा ल्याउने गरिएको छ।
६ महिनामै दुई अर्बको मदिरा खपत
नेपालमा मदिराको खपत बढ्दै गएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार संकलित राजस्वलाई आधार मान्दा पनि मदिरा खपत बढ्दै गएको देखिन्छ। हाल कुनै पनि सञ्चार माध्यमले मदिरासम्बन्धी विज्ञापन दिन पाउँदैनन्। सञ्चारमाध्यममा विज्ञापन रोकिँदा पनि सुर्तीजन्य पदार्थ, मदिराको व्यापारमा कमी आएको देखिँदैन।
मदिरा सेवनबाट राज्यले अर्बौं राजस्व संकलन गर्दै आएको छ। आन्तरिक राजस्व विभाग लाजिम्पाटको तथ्यांकअनुसार मदिरा खपत बढ्दै गएको देखिन्छ। पाँच वर्षको अन्तःशुल्क संकलन हेर्दा मदिरामा बढोत्तरी हुँदै गएको छ। आव २०७६/७७ मा मदिराबाट २० अर्ब पाँच करोड रूपैयाँ अन्तःशुल्क थियो। बढ्दै गएर २०८०/८१ मा २५ अर्ब २० करोड रूपैयाँ अन्तःशुल्क संकलन भएको छ।
बियरमा अघिल्लो पाँच वर्षमा १४ अर्ब आठ करोड रूपैयाँ थियो। आव २०८०/८१ मा करिब ३० अर्ब ४३ करोड अन्तःशुल्क संकलन भएको छ। २०८१ साउनदेखि पुससम्मको तथ्यांक हेर्दा ६ महिनामा सवा दुई अर्ब बढी रूपैयाँको मदिरा नेपाल भित्रिएको छ।
भन्सार विभागको तथ्यांकअनुसार ६५ लाख ९० हजार लिटर बढी मदिरा नेपालमा भित्रिएको हो। ह्विस्की, रम, भोड्कालगायत मदिरा ल्याइएको हो। बेलायत, चीन, ब्राजिल, भारत, मेक्सिको, नेदरल्यान्ड्स, जापान, फ्रान्स, पोल्यान्डलगायत देशबाट मदिरा ल्याइएको हो। ३१ हजार लिटर बियर भारतबाट ल्याइएको छ। बियरलाई नन अल्कोहलमा राख्ने गरिएको छ।
मदिराबाट कति मान्छे मर्छन्?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा प्रतिएक लाखमा १६८ जनाको मदिराका कारण मृत्यु हुने गरेको छ। मदिराबाट मृत्यु हुनेको विश्वव्यापी सूचीमा नेपाल १२९औं नम्बरमा छ।
डब्लुएचओको सन् २०२४ को प्रतिवेदनअनुसार मदिरापानका कारण विश्वभरि वार्षिक २६ लाख मानिसको ज्यान जान्छ। मदिराले पेट तथा स्तनसहित यसले सातथरी क्यान्सर गराउँछ।
मृत्यु हुने समग्र कारणमा ४.७ प्रतिशत मदिराबाटै हुने देखिएको छ। संक्रामक रोगबाट तीन लाख मानिस, सात लाख मानिस चोटपटकबाट मृत्यु हुने गरेको तथ्यांक छ।
‘थोरै भन्नाले बढीमा डेढ लिटर वाइन वा साढे तीन लिटर बियर अर्थात् ४५० एमएल रक्सी खतराजनक हुने’ अध्ययनले देखाएको छ। विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशनले मदिरापानका कारण यात्रा पनि सुरक्षित नहुने उल्लेख गरेको छ।
विश्वमा प्रतिव्यक्ति मदिरा उपभोग सन् २०१० मा ५.७ लिटर रहेको थियो। सन् २०१९ मा अलिकति घटेर ५.५ लिटर भएको अध्ययनको तथ्यांकले देखाएको छ। त्यसमध्ये पुरुष धेरै मदिरापान गर्छन्। पुरुषहरूले औसत ८.२ लिटर पिउँछन् भने महिलाले २.२ लिटर पिउँछन्।
प्रतिवेदनले विश्वव्यापी रूपमा मदिरा र लागुपदार्थको प्रयोगको जनस्वास्थ्यमा पारेको प्रभावबारे उल्लेख गरेको थियो। सन् २०१९ मा विश्वव्यापी रूपमा रक्सीको खपतका विषयमा तथ्यांक दिएको थियो। प्रतिवेदनले विश्वव्यापी रूपमा अनुमानित ४० करोड मानिसहरू रक्सी र लागुपदार्थको प्रयोग गरी विकारको साथ बाँचेको तथ्यांक छ। जसमध्ये २० करोड ९० लाख मानिस मदिराको लतमा बाँचिरहेका थिए ।
बाल्यकालमै मदिराविरोधी शिक्षा-
- डा. वासुदेव कार्की
मानिसको शरीर एक जैविक र प्रकृतिप्रदत्त प्रणाली हो। त्यही अनुरूप मानिसले खान्छ, सुत्छ, अन्य कैयौँ दैनिक क्रियाकलाप गर्छ। यसलाई मनोविज्ञानको हिसाबले प्रोत्साहन चक्र अर्थात् रिवार्ड सर्किट भनिन्छ। जव मानिसले रक्सी, चुरोट, सामाजिक सञ्जालको प्रयोग गरेर आनन्द लिन थाल्छ, त्यति बेला पनि यो प्रणाली प्रयोगमा आउछ। त्यो अवस्थामा रक्सीले अप्राकृतिक रूपमा रिवार्ड सर्किटलाई अपहरण गर्दछ।
सुरुमा रक्सीको सेवनले आनन्द पनि देला तर विस्तारै यो लत बस्न थालेपछि यसको अभावमा प्रयोगकर्ता छटपटिन थाल्छ। त्यही छटपटी र पीडालाई कम गर्न रक्सीको नियमित सेवन गर्न थाल्छ र ऊ एउटा दुश्चक्र (भिसियस साइकल)मा प्रवेश गर्छ। यो एक प्रकारको तनाव व्यवस्थापनको अपरिपक्व र प्रत्युत्पादक प्रणाली हो।
अल्कोहलको लत घटाउन प्रकृतितिर फर्कने अर्थात् ‘ब्याक टु दि नेचर’ सिद्धान्त महŒवपूर्ण हुन्छ। प्राकृतिक जीवनको अवलम्बन, निरन्तरको सक्रियता र क्रियाशीलता आवश्यक हुन्छ।
अझ, रक्सीसेवनको मुलभूत कारणलाई सम्बोधन गर्न बालबालिका र किशोरकिशोरीको विकासका लागि उपयुक्त वातावरण र शिक्षा दिनु पर्दछ। सामाजिक, बौद्धिक तथा संज्ञानात्मक गरी बालबालिकाको विकासका विभिन्न चरण हुन्छन्। त्यही आधारतभूत चरणमा उपयुक्त ध्यान र शिक्षा दिइयो भने यस प्रकारको सामाजिक कुलतलाई सम्बोधन गर्न सकिन्छ। उमेर पाको हुँदै जाँदा यसलाई सम्बोधन गर्न कठिन हुन्छ ।
ब्रान्ड जुन भए पनि असर उस्तै
डा. रत्नमणि गजुरेल, मुटुरोग/विशेषज्ञ
मदिरा र मुटुको प्रत्यक्ष, अप्रत्यक्ष सम्बन्ध छ। कसैले एकदमै धेरै रक्सी पियो भने मुटुको चालमा गडबढ बनाउँछ। धडकन गडबड गराउँछ। मृत्युसम्म हुन्छ। रक्सीले शरीरमा फरकफरक खालका असर देखिन्छन्। एउटा असरलाई विदेशीहरूले ‘होलिडे हर्ट सिन्ड्रोम’ पनि भन्छन्। यो असीमित रूपमा धेरै पिउनु हो। विदाको अघिल्लो दिनमा सकेजति पिउने त्यसपछि अर्को दिन अस्पताल भर्ना हुनेको संख्या धेरै हुन्छ। दिनदिनै पिउनेभन्दा पनि एकै दिन असीमित रूपमा पिउँदा यो अवस्था आउन सक्छ। जसमा मुटुको चाल गडबड बनाउँछ। कसैको ज्यानैसम्म जाने हुन्छ।
अर्को असर, धैरै पिएपछि बिरामीले बान्ता गर्ने सम्भावना पनि हुन्छ। बान्ता गर्दा सर्केर पनि ज्यान जान सक्छ। बान्ता गर्दा सर्किनुलाई ‘ड्राई ड्राउनिङ’ भनिन्छ। यसले फोक्सोमा समस्या हुन सक्छ। त्यसपछि श्वासप्रश्वासमा समस्या आएपछि ज्यान जाने हुनसक्छ।
अर्को कारण लामो समयसम्म खाइरहँदा अर्को असर गर्छ। लगातार पिइरहँदा पचाउने कलेजोमा असर हुन सक्छ। कुनै पनि ब्राण्डको रक्सी पिउँदा ६० ग्राम पुरुषका लागि र ४० ग्राम महिलाका लागि सीमितता तोकिएका छन्। पिएको पचाउन नसक्दा कलेजो बिग्रन जान्छ। यसले धेरै समस्यासहित दिशामा कालो रगत देखिने हुन्छ। कलेजो बिग्रेपछि ज्यान जान सक्छ। पिउन थालेदेखि एकदिन पनि नबिराई रक्सी खानेहरू पाँचदेखि १० वर्षमा मर्छन्। कतिपय शरीरको अवस्था, क्षमता हेरेर बाँच्न सक्छन्। तर, धेरै बाँच्न सक्दैनन्।
मुटुलाई असर गर्छ। लामो समय पिइरहँदा मुटुलाई असर गर्छ। रगत पम्प गर्ने मुटुको मांशपेसी कमजोर हुँदै जाँदा मुटु नै झोलाजस्तो हुन्छ। त्यसलाई कार्डियोमायोपैथी भनिन्छ। यो मुटुको मांशपेशीका रोगहरूको समूह हो। जहाँ कुनै पनि लक्षण हुन सक्छन्। रोग बढ्दै जाँदा सास फेर्न गाह्रो हुने, थकान महसुस हुने, खुट्टा सुन्निनेजस्ता कारणले हृदयाघात हुन सक्छ।
लामो समय पिउनेहरूको दिमागलाई पनि असर पर्न सक्छ। जसकारण मान्छेको सोचविचार गर्न सक्ने क्षमतामा असर पर्छ। डिमेन्सिया पनि हुन सक्छ। कुनै क्याफे अर्थात् भट्टीमा बसेर अल्कोहल खाँदा माछा, मासुजस्ता ठोस पदार्थ खान सक्छन्। त्यो ठोस पदार्थ छातीमा अडकिन सक्छ। त्यसले पनि मुटुमा असर पुर्याउँछ।
रक्सीले मानिसको शरीरमा पार्ने असर उस्तै उस्तै खालको हो। लोकल ठर्रा होस्, जाँड, रक्सी वा ब्रान्डको महँगो रक्सी होस् असर उस्तै खालको हुन्छ। ब्रान्डको महँगो रक्सीमा यति मात्रै फरक हो शुद्धीकरण गरिएको हुन्छ। लोकल बनाउँदा युरिया मल, प्लास्टिकजस्ता अखाद्य वस्तु हालिएको पनि खबर आउँछन्। त्यसले बढी असर गर्छ। तर, रक्सीले स्वाथ्यमा पार्ने असरमा त्यति धेरै फरक देखिँदैन ।
प्रकाशित: १७ फाल्गुन २०८१ ०५:५९ शनिबार