समाज

मेडिकलको आवरणमा लागुऔषध कारोबार !

काठमाडौं- प्रहरीले मेडिकलको आवरणमा लागुऔषध कारोबार गरेको आरोपमा एक जनालाई बल्खुबाट पक्राउ गरेको छ। कार्की मेडिकल हल संचालन गर्ने ३० वर्षीय गोपाल कार्कीलाई प्रहरीले अवैध लागुऔषध सहित पक्राउ गरेको हो।

कार्कीले अवैध रुपमा ट्रामा नामक लागुऔषध बिक्री बितरण गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले बिहीबार मेडिकल हल तलासी गर्दा ट्रामा १ सय ५८ क्याप्सुल र २ सय १ कप ट्याप डि फेला पारेको जनाएको छ।

उनले सोही स्थानमा संचालन गरेको अर्को पूर्णिमा स्टोर्सबाट समेत २ हजार ७० ट्रामा, २ हजार १ सय ३० कप ट्याप डि, १ हजार ६ सय स्टारडन र ११ सय २० डिकोलिट ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ।

यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट बिहीबार पाल्पा खस्यौली घर भएका ४० वर्षीय सुमन खनालले संचालन गरेको सौभाग्य मेडिकल हलबाट प्रहरीले बिहीबार ट्रामा ५ सय ट्याब्लेट, स्टागन २ सय ट्याब्लेट, स्पातमल १ सय ट्याब्लेट र ओपिडोल १ सय ट्याब्लेट बरामद गरी खनाललाई पक्राउ गरेको छ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ७ वैशाख २०७५ ०९:४५ शुक्रबार

मेडिकलको आवरणमा लागुऔषध कारोबार