समाज

मदिरा विरुद्ध महिला

मदिरा मुक्त गाउँपालिका अभियानमा भरोसा दिँदै प्रहरी नायव उपरिक्षक डा.तपन कुमार दाहाल। तस्बिरः डिबी/नागरिक

जुम्ला – शासन व्यवस्था पटक पटक फेरिदै आएपनि महिलाको दैनिकी र विभेद अहिले सम्म फेरिएको छैन्। समाजमा महिला प्रति हेर्ने दृष्टिकोण र विभेद कायमै छ। तर जुम्ला गुठिचौर गाउँपालिकाका महिलाहरू समाजको सबै प्रकारका बन्धन तोड्दै समृद्ध र शान्त गाउँपालिका बनाउने अभियानमा जुटेका छन्।

उनीहरुले समाजमा कलह ल्याउने, अशान्तिको बीजारोपण गर्ने मदिरा विरुद्धको अभियानमा जुटेका हुन। महिलाले गाउँपालिकाको साथमा मदिरा बिरुद्धको अभियान थालेपछि गाउँमा शान्ति कायम भएको छ।

महिलाले थालेको मदिरा मुक्त गाउँपालिका अभियानलाई  प्रहरीले पूर्ण साथ दिँदै आएको छ। पछिल्लो समय जिल्लामा मदिरा सेवनकै कारण जवरजस्ती करणी र बलत्कारका घटना बढ्दै गएकोले गुठिचौर गाँउपालिकाका महिलाहरूले   अभियानका माध्यमवाट अपराधिक मानसिकता खलबल्याउन थालेका हुन।

अनियन्त्रित मदिरा सेवनका कारण आफ्नो गाँउ, ठाउँमा घटेका वा घट्न सक्ने जवरजस्ती करणी तथा बलात्कार सम्बन्धिका घटना न्यूनिकरण गर्न महिलाहरू संगठित भएका हुन्। महिला अधिकारकर्मी लक्ष्मीकन्य बुढा अवसर पाएको खण्डमा समाजमा शान्ति सुव्यवस्था कायम गर्न महिला राम्रो भुमिका निर्वाह गर्न सक्ने भइसकेका छन्। पहिलो चरणमा मदिरा विरुद्धको अभियानलाई घनिभूत बनाउदै अघि सरेका छन। आगामी दिनमा सबै प्रकारका हिंसा मेट्नको लागि लागि पर्ने उनको विश्वास छ।

प्रहरी नायब उपरिक्षक डा.तपनकुमार दाहाल महिलाले थालेको मदिरा विरोधी अभियान प्रसंशनीय रहेको बताउँछन्। उनले भने, सबै आ आफ्नो जिम्मेवारीमा रहेर कार्य सम्पदान गर्न सके शान्तिपूर्ण समाज स्थापना गर्न सकिन्छ।  उनले  गुठिचौर गाउँपालिकामै पुगेर जनप्रतिनिधि र समाजसेवी अगुवाहरूका बीच जबरजस्ती करणी, बलत्कार र कानुनी ब्यवस्थाका विषयमा छलफल गरेका छन।  

महिलाहरूले आगामी दिनमा गाउँपालिका भरी जवरजस्ती करणी विरुद्धको अभियान चलाउनेमा विश्वस्त छु, उनले भने, यो अभियानलाई स्थानीय तहले पनि साथ सहयोग दिनेछ।  अबको एक हत्ताभित्र गाउँपालिका स्तरीय महिला संजाल गठन गरी अभियानलाई निरन्तरता दिइने गुठिचौर गाउँपालिकाका महिलाहरू बताउँछन्।

आर्थिक बर्ष २०७१–७२ देखि अहिले सम्म ६ वटा जवरजस्ती करणीका घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  ति मध्ये केही मुद्दा चालु अवस्थामा छन, भने केही घटनाका अपराधी वा दोषीहरुले कैद भुक्तान गरिरहेका छन्।

प्रकाशित: ७ वैशाख २०७५ ०९:०८ शुक्रबार

मदिरा विरुद्ध महिला