समाज

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ- महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा दोषी ठहर भई फरार रहेका दीपक मनाङेलाई पक्राउ गरी कारागार पठाइएको छ।

विसं २०६१ वैशाखमा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेपछि ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाए पछि फरार रहेका मनाङेलाई बिहीबार साँझ पक्राउ गरी आज अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले परिसरको विशेष टोलीले बिहीबार पक्राउ गरेको मनाङेलाई आज जिल्ला काठमाडौँ जिल्ला अदालतमा उपस्थिति गराएपछि अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको जानकारी दिए।

मनाङे मङ्सिर १० मा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नं १ प्रदेश (ख) बाट स्वतन्त्र निर्वाचित सांसद भएका थिए।

उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी पक्राउ गर्न पत्राचारसमेत गरिएको थियो। रासस
 

 

प्रकाशित: ७ वैशाख २०७५ ०६:५५ शुक्रबार

दीपक मनाङे डिल्लीबजार कारागार चलान