गाउँ नजिकै बाँके राष्ट्रिय निकुञ्ज जोडिएको छ। निकुञ्जका वन्यजन्तु मध्यवर्ती क्षेत्रमा सहजै आएर पशु चौपाया र बालीबोट खाइदिन्छन्। निकुञ्जबाट बाहिर निस्केका वन्यजन्तु पनि स्थानीय बासिन्दाबाट असुरक्षित भइरहेका छन्।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानी गाउँमा लामो समयदेखि मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ। द्वन्द्वका कारण दुबै पक्षलाई क्षति भइरहेको छ। २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि यहाँ कृषि पेशामा आश्रित स्थानीय बासिन्दा वन्यजन्तुबाट पीडित बन्न थालेका हुन्।
निकुञ्जबाट आउने पाटेबाघ र चितुवाले खसीबोका, बाख्रा, बंगुर, गाई, गोरु तथा चित्तल, बँदेल, बाँदर लगायत वन्यजन्तुले बालीबोट खाएर हैरान पारेको स्थानीय बासिन्दा बताउँछन्। बैजनाथ–१ का स्थानीय बासिन्दा कृष्णबहादुर चौधरी मानव र वन्यजन्तु बीच चलेको द्वन्द्व न्यूनीकरण हुन नसक्दा क्षति भइरहेको बताउँछन्।
‘किसानले आफ्नो बालीबोट स्याहार्न पाउँदैनन्, मानव र वन्यजन्तुबीच द्वन्द्व चलिरहेको छ,’ उनले भने। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेल प्रकृति र मानव बीचको सह-अस्तित्व प्रवर्द्धन गर्न सबै बीच हातेमालो हुन जरुरी रहेको बताउँछन्। ‘संरक्षण सजिलो कार्य होइन्, यो सबैबीचको हातेमालोबाट मात्र सम्भव छ,’ उनले भने।
संरक्षणको काम गरिरहँदा आफूहरू वन्यजन्तु र जनताको चेपुवामा रहेको उनले दुखेसो पोखे। मानव र वन्यजन्तु बीच सह-अस्तित्व कायम गर्नका लागि मध्यवर्ती क्षेत्रका स्थानीयलाई जिविकोपार्जनमा सहभागी गराउन आवश्यक रहेको कँडेलको भनाई छ। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का द्वन्द्व र पर्यापर्यटनलाई सँग-सँगै व्यवस्थापन गर्नुपर्ने बताउँछन्।
बाँके राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गन्तव्य थुप्रै भएको बताउँदै उनले भने, ‘विचारले मात्र पर्यटन प्रवर्द्धन हुँदन, कामको परिणाम देखिनुपर्छ।’ कोहलपुर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश ओली मानव र वन्यजन्तुबीच सह-अस्तित्व कायम गराउने कार्यमा स्थानीय सरकार पनि जोडिनुपर्ने बताउँछन्। ‘स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम बनाउँदा मानव-वन्यजन्तु द्वन्द्व न्यूनिकरण र पर्यापर्यटन प्रवर्द्धनलाई पनि समेट्नुपर्छ,’ उनले भने ।
वाईल्ड लाइफ कन्जरभेसन नेपालकी सञ्जीवनी योञ्जन प्रकृति र मानव बीच सह-अस्तित्व कायम नहुँदा थुप्रै घटनाहरू भइरहेको बताउँछन्। प्रकृति र मानव बीच सह-अस्तित्व कायम गर्नका लागि संरक्षणका कार्यक्रमसँगै स्थानीय बासिन्दालाई पनि जिविकोपार्जनमा जोड्न जरुरी रहेको उनको भनाई छ। नेचर गाइड एशोसियसन बाँकेका अध्यक्ष भीम डाँगी स्थानीय समुदायमा अझैपनि सुरक्षणबारे चेतनाको कमी रहेको बताउँछन्। संरक्षणको काममा स्थानीयलाई जागरुक बनाउनुपर्ने उनको भनाई छ।
प्रकाशित: १० फाल्गुन २०८१ १४:१५ शनिबार