समाज

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

चितवन निकुञ्जमा देखिएको गैंडा। तस्विरः सविता/नागरिक

चितवन – छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिन गैंडा नियन्त्रणमा लिने तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

चीनलाई उपहार दिने गैंडा नियन्त्रणमा लिन गैंडा पहिचान गर्ने प्रक्रिया थालिएको उनले बताए। निकुञ्जको पश्चिम क्षेत्र अमलटारीबाट गैंडा नियन्त्रणमा लिईने सहायक संरक्षण अधिकृत अर्यालले जानकारी दिए। ‘कुन गैंडा पठाउने भनेर नियन्त्रणमा लिन गैंडा छान्ने तयारी गरिएको छ’ उनी भन्छन्, ‘गैंडा नियन्त्रणमा लिएपछि पनि करीब दुई महिना निकुञ्जमा नै राखिन्छ।’

२०७३ साल असारमा दुई जोडी गैंडा चीनलाई उपहार दिने नेपाल सरकारले निर्णय गरेको थियो। सोही निर्णय अनुसार उपहार पठाउन गैंडा नियन्त्रणमा लिन लागिएको हो। अनुकुल समयमा गैंडा नियन्त्रणमा लिईने अर्याल बताउँछन्। गैंडा नियन्त्रणमा लिने निश्चित दिन र समय नभए पनि करीब १० दिनभित्रमा नियन्त्रणमा लिईने योजना निकुञ्जको रहेको छ।

एक देखी डेढ वर्ष उमेरका गैंडालाई नियन्त्रणमा लिने तयारी निकुञ्जले गरेको छ। पहिलो चरणमा एक जोडी गैंडालाई असारको दोस्रो सातासम्म पठाउने तयारी रहेको अर्यालले बताए। यहाँबाट पठाईने गैंडा मध्ये एकजोडी चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाईल्ड एनिमल पार्कमा राखिने छ।

गैंडा लैजाने प्रक्रिया र तयारीका बारेमा बुझ्न चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक डा. याङ चितवन आएका छन्। उनले चितवन निकुञ्जका कर्मचारीसँग छलफल गरेर गैंडा लैजाने प्रक्रियाका बारेमा बुझेका छन्। गैंडा के कसरी गर्ने लैजाने भन्ने योजना बनाउन प्रारम्भिक छलफल गर्न र हेर्नका लागि डा. याङ निकुञ्ज आएका पुर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

अहिले तयारीका लागि हात्तीमा टोली खटाउने कार्य सुरु भईसकेको छ। डार्ट गरेर नियन्त्रणमा लिनका डाक्टरहरुले योजना बनाईरहेका उनी बताउँछन्। नियन्त्रणमा लिईने गैंडा राख्नका लागि निकुञ्जको पुर्वी सेक्टर अन्र्तगत सौराहामा ३० मिटर लम्बाई र २० मिटर चौडाईको बोमा बनाईएको छ। चारैतर्फ तल्लो भागमा कँक्रिटको पर्खाल र माथिल्लो भागमा मेस जाली लगाईएको छ।

निकुञ्जबाट गैंडा नियन्त्रणमा लिएर पठाउँदा चीनको वातावरणमा घुलमिल हुन सकोस् भनेर बानी पार्न गैंडालाई बोमामा राखिन लागिएको हो। बोमा भित्र गैंडा मात्रै अट्ने गरी बनाईएको विशेष प्रकारको खाल्डोमा राखेर गैंडालाई खानेकुरा दिएर बानी पारिने पाठकले बताए।

प्रकाशित: ७ वैशाख २०७५ ०१:२४ शुक्रबार

चीनलाई निकुञ्जमा गैंडा खोजी