समाज

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प

वर्षातका कारण बिग्रीएको सडक। तस्बिरः एक्सन/नागरिक

भोजपुर – एक साता देखि लगातार वर्षात भएपछि भोजपुरका ग्रामीण भेगमा सञ्चालन हुँदै आएको  यातायात सेवा ठप्प भएको छ। वर्षातका कारण भोजपुर लेगुवा बाहेकको सडक सञ्चालन हुन सकेको छैन्।  यातायात ठप्प भएसँगै यात्रुहरू मारमा परेका छन्।

भोजपुर सदरमुकामबाट छुट्ने बसहरू ३ दिन देखि अवरुद्ध भएको हो। भोजपुर– दिंला, भोजपुर– चखेवा, भोजपुर–ओख्रे रुटमा चल्ने यातायातको साधन ठप्प भएको बस सञ्चालकहरूले बताएका छन्।

ग्रामीण भेगमा चल्ने यातायातका साधनहरू ठप्प भएपछि यात्रुहरू मारमा परेको रामप्रसाद राई गाउँपालिका ओख्रेका बलराम राईले बताए। पानी पर्नासाथ सडकको अवस्था बिग्रीने गरेका कारण बस चल्न नसकेको राईले बताए।

यसपटक वैशाख महिनामानै अत्याधिक वर्षा भएपछि बस सञ्चालन अवरुद्ध भएको हो। ठूला बस सँगै साना गाडी पठाउन समेत समस्या भएको हो।  सदरमुकामबाट दैनिक ९ वटा बस ग्रामीण भेगका लागि छुट्ने गरेको थियो। भोजपुर–लेगुवा सडक भने ग्राभेल भएका कारण यातायात सञ्चालनमा रहेको छ।

प्रकाशित: ६ वैशाख २०७५ ०७:२० बिहीबार

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प