समाज

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडाैं - गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्यान्डको पहलमा भूकम्प प्रभावित गोरखा र दोलखाका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

संघले मेगा बैंकसँगको साझेदारी र स्थानीय साझेदार नागरिक अभियानसँग मिलेर छात्रवृत्ति वितरण गरेको हो। सामुदायिक विद्यालयमा ९ देखि १२ कक्षामा अध्ययनरत पिछडिएका, भूकम्प वा द्वन्द्व प्रभावित, अपांगता भएका, गरिब, अनाथ वा एकल अभिभावक तथा अपांगता भएका अभिभावकका सन्तानले उक्त छात्रवृत्ति पाउनेछन्।

संघका अनुसार छात्रवृत्ति १२ कक्षासम्म अध्ययन गर्नका लागि उपलब्ध गराइनेछ। जसमा विद्यालय पोसाक, जुत्ता खाजादेखि स्टेसनरीसम्म समेटिएको छ। २०७२ सालको महाभूकम्प र त्यसपछिका लगातार पराकम्पनबाट भएको जनधनको क्षति, गरिबी लगायत शैक्षिक सामग्री, पोशाक, जुत्ता, ब्याग, दिवा खाजा आदिको उचित व्यवस्था गर्न नसक्दा शिक्षा क्षेत्र बढी प्रभावित भएको भन्दै सहयोग गरिएकाे हो । गाेरखाकाे बारपाकमा आज छात्रवृत्ति वितरण गरियो भने वैशाख १० गते (२३ अप्रिल) दोलखामा वितरण गरिने कार्यक्रम रहेको छ।

नागरिक छात्रवृत्ति बोर्डका कार्यकारी सदस्य तथा कान्तिपुर सिटी कलेजका कार्यकारी निर्देशक प्रह्लाद कार्की, गैर–आवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ गाबो, नागरिक अभियानका कार्यकारी सदस्यहरू क्रमशः दोर्जे गुरुङ्ग मुखिया र नारायण श्रेष्ठ, गैर–आवासीय नेपाली संघ थाइल्याण्डको इलाका संयोजक डिल्ली ज्ञवाली, मेगा बैङ्कका प्रतिनिधि का साथै इभेन्ट कोअर्डिनेटर, राजिव तिमिल्सिना उक्त कार्यक्रममा सहभागी भएका थिए।

गैर–आवासीय नेपाली संघ थाइल्याण्डका महासचिव रवि महर्जनका अनुसार सो छात्रवृत्तिलाई अब चाँडै नै १०० जनासम्म पुर्‍याउनका लागि थप रकम सङ्कलनका लागि कार्यक्रमहरू गर्ने गैर–आवासीय नेपाली संघ थाइल्याण्डको आगामी योजना रहेको छ।

प्रकाशित: ६ वैशाख २०७५ ०६:५९ बिहीबार

भुकम्प पीडित ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान