एकाबिहानै आफ्नो गाउँमा गाउँपालिका अध्यक्ष, सिडियो र अन्य सुरक्षाकर्मी प्रमुखहरु गाडी लिएर आउन लागेको सुनेपछि, उमेरले १४ वर्ष पुगेकी धनकली शाही हतारहतार माला र अबिर लिएर स्वागतमा लागिन्।
उनीसंगै साथी सृजना शाही पनि पछिपछि लागिन्। उनीसहित गाउँलेले गाउँपालिका अध्यक्ष र अरु अतिथि (पाहुना)लाई फूलमाला र अविरको टीका लगाइदिए। जुम्लाको तातोपानी गाउँपालिका-८ को सबैभन्दा विकट बस्ती ‘थलाले गाउँ’मा मंगलबार बिहान पहिलोपटक गाडी पुगेपछि स्थानीयले यसरी खुसी साटेका हुन्। यसअघि गाउँलेलाई गाउँदेखि गाउँपालिका सम्म पैदल पुग्नुपर्ने बाध्यता थियो।
झण्डै साढे ३ घण्टाको उकालो ओरालो गर्नुपर्ने बाध्यता हटेको भन्दै थलालेवासी उत्साहित भएका छन्। स्थानीय इन्द्रबहादुर शाहीले भने, ‘गाडी आएपछि खुसी छौँ। अब धेरै सुविधा हुनेछ। सुख पाइने भइयो।’ गाउँका अगुवा दीर्घबहादुर शाहीले बाटो खुलिसकेपछि गाउँदेखि गाउँपालिकासम्म पुग्न सजिलो भएको बताउँछन्। उनले भने, ‘दुर्गम क्षेत्रमा सवारीसाधन पहिलोचोटि आएको छ। बाटो खुलिसकेपछि सहरबजार आउनजान सजिलो भयो। अब नियमित गाडी चलोस्।’

७२ वर्षीय पूर्णबहादुर शाही गाउँमै सवारीसाधन देख्न पाउँदा खुसीले गद्गद हुँदै भन्छन्, ‘सहरमा देख्ने गाडी गाउँमै देख्न पाउँदा खुसी छौँ। बाटोलाई सधैँभरी चल्ने बनाइदिन अनुरोध गर्दछु।’ यसबाट सबैभन्दा धेरै गर्भवती र सुत्केरीलाई लाभ हुने उनको भनाइ रहेको छ। उनले भने, ‘गाडी चल्न थालेपछि अब सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान उकालो ओरालो दौडाउनु परेन।’
मंगलबार जोखे आटीदेखि थलालेसम्मको सडक गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँई, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले संयुक्त उद्घाटन गरेका हुन्। समुद्री सतहदेखि २ हजार ७ सय ८० मिटर उचाई रहेको थलाले गाउँमा पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए। अध्यक्ष चौलागाँईले भने, ‘चुनावका बेला म थलाले पुग्न सकेको थिएन्। तर पहिलो पटक पुगेको गाडीसँगै पहिलो पटक थलाले पुगे, यो विकट क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेको छु।’
थलालेका स्थानीयलाई स्वास्थ्य सेवालगायत अन्य व्यापारका लागि जुम्ला सदरमुकाम खलंगासम्म पुग्न अब सहज हुनेछ। यसअघि गाउँसम्म सडक नहुँदा र बजार टाढा हुँदा फलफूल र अन्नबाली गाउँ मै कुहाउनुपर्ने अवस्था थियो। अब यी कृषि वस्तुले बजार पाउने स्थानीयले अपेक्षा गरेका छन्। अब गाउँलेहरु सिधै आर्थिक क्रियाकलापमा जोडिने छन्।
तातोपानीका गाउँपालिका सूचना अधिकारी ओम बहादुर चन्दले झण्डै डेढ करोड लगानीमा सडक निर्माण गरिएको बताए। यो सडकमा पूर्वाधार कार्यालय र तातोपानीको संयुक्त लगानी छ। पहिलो प्याकेजमा १५ लाख, दोस्रो प्याकेजमा २५ लाख, तेस्रो प्याकेजमा ५० लाख, चौथो प्याकेजमा ४० लाख बढी रकम लगानी छ। उनका अनुसार पाथरखोलादेखि थलाले गाउँसम्म उक्त सडकको दुरी ४.७१ किलोमिटर रहेको छ। जसमा चालू आर्थिक वर्षमा १८ सय २५ मिटर सडक निर्माण गरिएको छ।
प्रकाशित: ३० माघ २०८१ १३:३२ बुधबार