समाज

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

बारम्बार स्थगित हुँदै आएको ५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

पेसीमा चढेका अघिल्ला तीनमध्ये २ वटा मुद्दा स्थगित भएको र अर्को एकको समेत सुनुवाइ सकिएपछि संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा खाजापछि सुनुवाइ हुने भएको हो । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा १५ वटा निवेदन परेका छन् । ती सबैलाई एकसाथ राखेर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्याल लगायतले मुद्दा दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएको बेला संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायतका निकायमा ५२ जना संवैधानिक पदाधिकारीहरु नियुक्त भएका थिए । असंवैधानिक तरिकाबाट उनीहरुको नियुक्ति भएको भन्दै सर्वोच्चमा मुद्दा परेको हो । अदालतले उक्त मुद्दालाई अग्राधिकारमा राखेपनि बारम्बार पेसीमा चढ्दै स्थगित हुँदै आएको छ । पदाधिकारीले विभिन्न आयोगमा काम गरिरहेका छन् ।

प्रकाशित: ३० माघ २०८१ १३:११ बुधबार