नेपालबाट सीप सिकेर वैदेशिक रोजगारीमा जाने क्रम निरन्तर बढ्दै गएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार चार वर्षको अवधिमा सीप सिकेर वैदेशिक रोजगारीमा जानेको संख्या तेब्बरभन्दा बढीले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७७/२०७८ मा ७० हजार १३ जना दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आर्थिक वर्ष २०८०/२०८१ मा आइपुग्दा ५ लाख ३२ हजार १०२ दक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा गएकामध्ये ७१ दशमलव ७८ कामदारहरू कुनै न कुनै सीप सिकेर गएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले बताए। उनका अनुसार गत आर्थिक वर्षमा ७ लाख ४१ हजार २९७ कामदार वैदेशिक रोजगारीमा गएका थिए। २०७७ मा सीप सिकेर वैदेशिक रोजगारीमा जानको संख्या ७० हजार मात्र थियो।
प्रतिशतका आधारमा यो संख्या ४२.२४ प्रतिशत हो। त्यसयता नेपालमै दक्ष बनेर वैदेशिक रोजगारमा जानेको संख्या हरेक वर्ष बढ्दै गएको प्रदेश सचिव भारतीले जानकारी दिए। दक्षताका आधारमा अझै पनि सीप नसिकी विदेश जानेको सङ्ख्या १९.६३ प्रतिशत रहेको छ।
‘सरकारले विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा गरेको प्रयासले वैदेशिक रोजगारमा जानेहरू धेरैथोरै सीप सिकेर जाने गरेकाले अदक्षको संख्या बिस्तारै कम हुँदै गएको छ,’ उनले भने, ‘वैदेशिक रोजगारमा जाने जोकसैले पनि नेपालमै सीप सिकेर जानु आवश्यक छ।’ उनका अनुसार नेपालबाट अझैपनि ८ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा गएका छन्। सरकारी स्तरबाट वार्षिक ५ हजार जनालाई तालिम प्रदान गरिएको उनले बताए। तर, यो प्रयाप्त नभएको उनको भनाइ छ। हाम्रोमा दक्ष कामदारको संख्या न्यून छ, बिहीबार भरतपुर महानगरपालिका, हेल्भेटास नेपाल र सुरक्षित आप्रवासन (सामी)ले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भारतीले उदाहरण दिँदै भने, ‘दुई वर्षअघि कतारले १ सय ८० जना हेवि ड्राईभर माग गरेको थियो। त्यसमा १२ जनाको मात्र निवेदन पर्यो। हाम्रोमा अझैपनि दक्ष कामदारको खाँचो नै छ।’
नेपालबाट व्यवसायिक सीप सिक्ने ०.३७ प्रतिशत र उच्च दक्षको संख्या ०.०९ प्रतिशत छ। विगतमा सामान्य सीप पनि नसिकी जानेहरू धेरै हुने गरेकामा पछिल्ला वर्ष सामान्य सीप भए पनि सिक्ने क्रम बढेको उनको भनाइ छ। सीप सिकेर गएमा काम गर्ने क्रममा सुरक्षित र बढी कमाइ हुने उनको भनाइ छ। ‘डिग्री हासिल गरेपनि विदेश गएपछि सीप विना काम लाग्दैन। डिग्री गरेका मानिस र नगरेका मानिसले एउटै काम गर्नुपर्छ,' उनले भने, 'कुनै पनि श्रमिकले सीप सिकेर जाँदा धेरै फाइदा हुने हुन्छ।’
नेपालले वैदेशिक रोजगारीका लागि विश्वका १११ मुलुक खुला गरेको छ। वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार वैदैशिक रोजगारीमा सीप सिकेर जादा राम्रो काम र सेवा सुविधा पाइन्छ।
दक्षता सँगसँगै वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारमा जाने नेपालीको सङ्ख्या ७ लाख ४१ हजार २९७ पुगेको छ। त्यसमध्ये पुरुषको ससंख्या छ लाख ६१ हजार १२५ छ भने महिलाको संख्या ८० हजार १७२ पुगेको छ।
‘कोभिडको समयमा बाहेक अन्य समयमा वैदेशिक रोजगारमा जाने नेपालीको सङ्ख्या बढ्दै गएको देखिन्छ,’ भारतीले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा जम्मा एक लाख ६६ हजार ६९८ जना वैदेशिक रोजगारमा गएका देखिन्छन्।’
वैदेशिक रोजगारका लागि पछिल्लो समय विकसित राष्ट्रहरूलाई प्रमुख गन्तव्य बनाउन थालेका छन्। तर, तथ्यांकलाई केलाउने हो भने अझै पनि खाडी मुलुक जानेकै संख्या बढी देखिन्छ। श्रम स्वीकृतिका आधारमा आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारमा गएकामध्ये सबैभन्दा धेरै युएईका लागि श्रम स्वीकृति लिएका छन्। युएईका लागिमात्रै २६ प्रतिशत नेपालीले श्रम स्वीकृति गरेको देखिएको उनले बताए। त्यसपछि साउदी अरेबिया, कतार, मलेसिया, क्रोयसियालगायतका देशमा नेपाली श्रमिक पुगेका छन्। पछिल्लो केही वर्षयता भने युरोपियन मुलुकका केही देशलाई वैदेशिक रोजगारको गन्तव्य बनाउन थालिएको उनले बताए।
नेपालको अर्थतन्त्रको ठूलो हिंसा विप्रेषणले धानेको छ। उनका अनुसार देशको कुल बजेटमध्ये २३ प्रतिशत जिडिपि रेमिटेन्स नै हो। नेपालमा विप्रेषण दरर पनि बढिरहेको छ। अघिल्लो आर्थिक वर्ष २२ प्रतिशत जिडिपि विप्रेषणले धानेको थियो।
वैदेशिक रोजगारीको क्रममा मृत्यु हुनेको संख्यापनि निरन्तर बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/२०८१ मा १ हजार ३४६ जनाको मृत्यु भएको थियो। मृत्यु मध्ये १ हजार ३०५ जना पुरुष र ४१ जना महिला थिए। त्यसको अघिल्लो आर्थिक वर्ष ४५ महिलासहित १ हजार २०८ जनाको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएको थियो।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बागमती प्रदेशका व्यवस्थापक पुरूषोत्तम अधिकारीले प्रतिवर्ष करिब पाँच लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिने गरेको जानकारी गराए। दक्षताबिना नै वैदेशिक रोजगारमा जानेहरूलाई परेको समस्या समाधानका लागि पनि सामी कार्यक्रमले भूमिका खेल्दै आएको उनले बताए। सामीका कार्यक्रम सबै प्रदेश, जिल्ला र स्थानीय तहमा लागू भएको छ। स्वीस सरकार विकास सहयोग एसडीसीले प्रदेश, स्थानीय तहको साझेदारीमा कार्यक्रमको ल्याएको हो। वैदेशिक रोजगागरीको सबै चरणमा आप्रवासी कामदार र उनीहरूको परिवारको अवस्था सुधार गर्न संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई सक्षम बनाउने उद्देश्यले विगत पाँच वर्षअघि स्थापना भएको थियो। यस वर्षबाट सबै पालिकामा यसका कार्यक्रम सुरु भएका हुन्।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वीस सरकारसँगको साझेदारीमा सञ्चालित सामी कार्यक्रमले नेपाल सरकार र नेपाली जनतालाई ठूलो सहयोग मिलेको बताइन्। खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाँले रोजगारका लागि विदेश जाने हरेक नेपालीको निगरानी र सुरक्षामा सङ्घीय सरकारले ध्यान दिनुपर्ने बताए। सीपको प्रमाणपत्र बोकेर हिँड्दैमा विदेश छिर्दैमा काम पाइन्छ भनेर हिँड्ने प्रवृत्तिलाई तोड्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: २६ माघ २०८१ ०९:३४ शनिबार