समाज

नौ महिनामा १०६ जनाको उद्धार

बैतडी – चालू आर्थिक वर्ष २०७४–०७५ को नौ महिनाको अवधिमा नेपाल—भारत सीमानाका झुलाघाटबाट १०० जनाभन्दा बढीको उद्धार गरिएको छ।

सीमा प्रहरी चौकी, झुलाघाटले दिएको जानकारीअनुसार उद्धार गरिनेमा सबैभन्दा बढी बालक रहेका छन्। गत साउनदेखि चैत महिना मसान्तसम्म ५६ बालक, २५ किशोर, पुरुष नौ, किशोरी छ, बालिका पाँच र पाँच महिला गरी १०६ जनाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयले जानकारी दिए। उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका तथा किशोरकिशारी बढी रहेका छन्।

अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहैलहैमा लागेर पनि भागेर जाने गरेका प्रहरीले जनाएको छ। यस्तै, घरको आर्थिक अवस्था कमजोर भएका बालबालिका पनि बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको बताइएको छ। १२ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घरपरिवारको स्वीकृति लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेका प्रहरीले जनाएको छ।

यस्तै, चालू आवमा उमेर नपुगी बिहे गरेर भागेर भारत जाने जोडीको समेत उद्धार गरिएको जनाइएको छ। प्रदेश नं ७ सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालगायत जुम्ला, कालीकोट, हुम्लाका नागरिक सिमानाका झुलाघाट हुँदै भारत जाने गर्दछन्।   (रासस)

प्रकाशित: ५ वैशाख २०७५ ०६:०५ बुधबार

महिनामा १०६ जनाको उद्धार