समाज

सगरमाथा आरोहणको क्याम्प २ सम्म बाटो बन्यो

सगरमाथा आधार शिविरमा पर्यटक । तस्बिर : राधा /नागरिक

सोलुखुम्बु – सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो।

गत चैत १८ देखि निर्माण सुरु गरेको समूहले अप्रिल ११ अर्थात् गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए। शेर्पाले भने, ‘सगरमाथा आरोहणमा जान प्रयोग गरिने क्याम्प२ सम्मको बाटो निर्माण गर्ने काम निकै चुनौतीपूर्ण थियो ।’ शेर्पाका अनुसार क्याम्प २ सम्म ११ स्थानमा भर्‍याङ राख्ने र अन्य क्षेत्रमा डोरीसमेत टांगिएको छ ।आइसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठजनाको समूहले सगरमाथा अरोहणका लागि बाटो निर्माण गरेको हो।

आधार शिविरदेखि क्याम्प १ र क्याम्प २ सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डाक्टरको समूहले निर्माण गरेकोछ।एसपिसिसीले हरेक वर्ष हिमाल आरोहणअघि क्याम्प२ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गर्ने आइसफल डाक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्‍याङको व्यवस्थापन गरेको छ ।योसँगै सगरमाथा चढ्नेकालागि बाटो खुला भएको छ।

हिमपातका कारण भत्किएका बाटो बनाउनुका साथै आरोहणका क्रममा प्रयोग हुने डोरी र भर्‍याङको समेत व्यवस्था मिलाइएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए।

सगरमाथा आरोहणका लागि एकै स्थानमा दुईदेखि तीन वटासम्म भ¥याङ जोड्नुुपर्ने हुन्छ । लामा विधिद्वारा पूजापाठ गरेसँगै औपचारिक रूपमा बाटो बनाउने काम सुरु गरिएको थियो ।अहिले आरोहीहरू धमाधम क्याम्प १ हुँदै २ तर्फ लागिरहेका छन् भने आधार शिविर आउने क्रम पनि जारी छ।

केही पर्यटक आरोहणको तयारी गरिरहेका छन् । अब क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । आगामी बिहीबारदेखि क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाइड कम्पनीले लिएको छ ।

 

 

प्रकाशित: ५ वैशाख २०७५ ०२:३६ बुधबार

सगरमाथा आरोहणको क्याम्प बाटो बन्यो