समाज

डेटिङ युवासँग, विवाह वयस्कसँग

यस्ताे पनि!

प्रायः डेटिङमा जानका लागि उमेरमा आफूभन्दा जवान छान्ने त पुरूषहरूले मात्र होला भन्ने सोचाइ रहन्छ तर हालै गरिएको एउटा सर्भेमा महिलाहरू पनि आफूभन्दा जवान पुरूषलाई डेटिङका लागि छान्न चाहेको देखिएको छ। ६ हजारभन्दा बढी ब्लाइन्ड डेट गर्न रूचाउने स्त्रीमाझ गरिएको सर्भेमा यस्तो रूझान देखिएको प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सेज, बेलायतले जनाएको छ।

संसारभर औसतमा विवाहित महिला र पुरूषको उमेरजन्य फरक जम्मा चार वर्षको छ। प्रायः यस्तो फरक युरोपमा कम र सहारा मरूभूमि वरपरका मुलुकमा बढी छ। युरोप र उत्तरी अमेरिकामा प्रायः जोडीबीचको फरक तीन वर्ष देखिन्छ भने अन्यत्र आठ वर्ष पाइन्छ। बेलायतमा भने तीन चौथाई जोडाको उमेर पाँच वर्ष वा त्योभन्दा बढी छ। आफ्नो वैवाहिक जीवन जस्तो भए पनि मौका पाएको खण्डमा जवानहरूसँगै डेटिङमा जान इच्छुक देखिनेहरूको संख्या बढी छ। यस्तो इच्छा गर्नेहरू ५५ प्रतिशत रहेको देखिएको छ।

महिलाहरूले युवासँग बढी डेटिङको इच्छा गरेको भए पनि अन्ततः अधिकांश महिलाले आफूभन्दा बढी उमेरका पुरूष नै किन रोज्छन् त ? अध्येताहरू भन्छन्, ‘महिलाले युवाहरूमा शुरूमा आकर्षण देखे पनि सम्बन्धमा रहँदै जाँदा दायित्व बढी बोक्नुपर्ने हुनाले बढी वयस्कतर्फ आकर्षित हुन थाल्छन्। बढी वयस्क पुरूषहरू आर्थिक रूपमा स्थापित भइसकेका हुन्छन्। त्यसैले रोमान्सका लागि युवालाई मन पराए पनि घर बसाउँदा भने वयस्कहरूलाई नै रोज्ने गर्छन्।’

त्यसो त युरोप र अमेरिकामा धेरै वर्षदेखि विवाहित जोडीको उमेरको फरक घटेको धेरै भइसकेको छ। तर जुन ठाउँमा गरिवी बढी छ, त्यहाँ उमेरको फरक बढी देखिएको अध्येताहरूले बताएका छन्। युरोप तथा अमेरिकामा युवालाई डेटिङ गर्न महिलाहरूले रूचाए पनि लामो समय नटिक्नुको एउटा प्रमुख कारणमध्ये महिलाहरू एउटा समयमा आएर केटौलेहरूका नर्स बन्न नरूचाउने र मोटो पर्स खर्च गर्नबाट जोगिन वयस्कतर्फ आकर्षित हुने गरेको अध्ययनमा संलग्न पल इस्टविकको भनाइ छ।

 प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ माघ २०८१ ०७:५० बुधबार

# Yasto Pani! # Dating young marrying older