समाज

जहाँ बुद्ध नै बन्दी छन्

जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्रको रूखमा बाँधिएको बुद्धको मूर्ति। यहाँ पहिले जिल्ला प्रहरी कार्यालय थियो। तस्बिर: नागरिक

सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको मुख्य गेटको उत्तरतर्फ सल्लाको ठुलो रूख छ। त्यहीँ सल्लाको रूखमा विगत ११ वर्षदेखि भगवान् गौतम बुद्धको मूर्ति बाँधेर राखिएको छ। २०७० जेठ १४ गते प्रहरीले नियन्त्रणमा लिएर बुद्धलाई ‘बन्दी’ बनाउँदा रूख यति ठुलो थिएन। प्रहरीले काँक्रेविहारबाट नियन्त्रणमा लिएर ट्रकमा लोड गरी यहाँ (तत्कालीन जिल्ला प्रहरी कार्यालय) पुर्‍याउँदा २० फुटको बुद्धको मूर्ति रूखको साइजभन्दा झन्डै दोब्बर थियो।

प्रहरी संरक्षणमा विगत ११ वर्षदेखि त्यो रूख जसरी हुर्कंदै गयो, त्यसैगरी बुद्ध मूर्ति भने उचित स्याहार नपाएर खुइलिँदै गइरहेको छ। बुद्धलाई बाँध्न प्रयोग गरिएको नेपाल टेलिकमको टेलिफोनको तार रूखका बोक्राभित्रै हराइसकेको छ । बुद्धलाई बाँधिएका टेलिफोनका तार प्रहरीका कपडा सुकाउने माध्यम बनेका छन्। ‘बुद्ध’ रूखबाट कहिले मुक्त हुने हुन्, टुंगो छैन।

बुद्ध यहाँ कसरी बन्दी भए जान्न ११ वर्षअघिको घटनालाई स्मरण गर्नुपर्छ। २०७० जेठ १४ गते बुद्ध जयन्तीका अवसरमा बौद्धमार्गीहरू थाइल्यान्डबाट ल्याइएको बुद्धको मूर्ति वीरेन्द्रनगर–९ मा रहेको काँक्रेविहार जंगलमा राख्ने तयारी गर्दै थिए। बुद्धको मूर्ति स्थापनाका लागि देशभरका बौद्धमार्गीहरू सुर्खेतमा भेला भएका थिए।

वीरेन्द्रनगरको लाटीकोइलीमा रहेको बौद्ध गुम्बाबाट पूजाआजासहित बौद्धमार्गीले बुद्धको मूर्ति त्यो दिन बिहान ११ बजे काँक्रेविहार पुर्‍याए। काँक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्न २०६४ सालमै बौद्ध धर्मका गुरु शिवा रिम्पोच्छेले अहिलेको शिखरशैलीको मन्दिरभन्दा ३० मिटर तल बुद्धमूर्ति स्थापनाको शिलान्यास गरेका थिए।

शिलान्यास गर्दा कुनै विवादको स्वर सुनिएन । काँक्रेविहार नेपालको पहिलो संरक्षित वन क्षेत्र हो। संरक्षित वन क्षेत्रमा बुद्धको मूर्ति स्थापना हुन लागेपछि स्थानीय अन्य धर्मावलम्बी त्यसलाई रोक्न लागे। बुद्ध मूर्ति काँक्रेविहारमा स्थापना हुँदा धार्मिक द्वन्द्व बढ्ने देखिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा बुद्धको मूर्तिलाई प्रहरीले काँक्रेविहारबाट उठाएर आफ्नो नियन्त्रणमा राख्यो। सो बेलादेखि आजका मितिसम्म बुद्धमूर्ति प्रहरी कार्यालयमा ‘बन्दी’ छ। ‘२०६४ सालमा रिम्पोछेले काँक्रेविहारको अहिले बनेको शिखरशैलीको मन्दिरभन्दा ३० मिटर तल बुद्धमूर्ति स्थापनाका लागि शिलान्यास गर्नुभयो। त्यसपछि हामीले पैसा संकलन गरेर थाइल्यान्डबाट मूर्ति मगायौं,’ पेमा साँगे सोलिङ गुम्बा समिति सुर्खेतका अध्यक्ष नोर्बु गुरुङले भने, ‘त्यतिबेला केही विरोध भएन, मूर्ति स्थापना गर्दा अनावश्यक विवाद सिर्जना गर्ने काम भयो।’

काँक्रेविहारमा बुद्धको मूर्ति राख्ने विषयमा २०६४ सालमा सर्वदलीय बैठक बसेको थियो। तत्कालीन लाटीकोइली गाविस, पुरातत्त्व विभागको स्वीकृतिमा बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिले भग्नावशेषको ३० मिटर अगाडिको खुला भागमा बौद्धमूर्ति स्थापना गर्ने विषयमा सहमति भएको थियो। सोहीअनुसार बौद्धमार्गीले बौद्धधर्मका रिम्पोछेमार्फत शिलान्यास स्थलको पूजाआजा गराएका थिए।

उति बेला बुद्धमूर्ति स्थापनाको गरेका पञ्चसिं रोकाया र शिवा रिम्पोछे यो संसारमा छैनन्। बुद्धमूर्ति राख्न भूमिपूजन गरिएको स्थानमा अहिले शौचालय छ। बौद्धधर्मावलम्बीहरू बुद्ध जन्मेको देशमा बुद्धको मूर्ति स्थापना हुन नसक्नुलाई दुर्भाग्य भन्छन्। विष्णुका नवौं अवतार र बुद्ध नेपालमा जन्मेको भन्नेले बुद्धमूर्ति स्थापनामा बाधा गर्न खोज्नुलाई उनीहरू ‘गम्भीर’ रूपमा लिएको बताउँछन्।

काँक्रेविहार परिसरमा एउटा नलंकर विहार थियो। त्यसैको नामबाट काँक्रेविहार नामकरण भएको बौद्धमार्गीहरू बताउँछन्। ‘पौराणिक समयमा देवताहरू घुमफिर प्रक्रियालाई पनि विहार गरेको भनिएको पाइन्छ। बौद्ध ग्रन्थमा बुद्धले विहार गर्नुभएको अवस्था भनिएको छ अर्थात् बुद्ध आएर बस्नुभएको अवस्थामा भनिन्छ भने भारत श्रावस्तीका अनाथपिण्डकले जेतवन विहार भिक्षुहरूलाई आरामपूर्वक बस्ने स्थानका रूपमा दान दिएको पनि भनिएको छ। अर्थात्, भिक्षुहरू बस्ने स्थान जहाँ बुद्धको आराधना ध्यान पनि गरिन्छ। यसकारण सुर्खेतको काँक्रेविहारमा त्यो बखत कुनै बौद्ध राजाले बोधिसत्वका रूपमा आएको अवस्था र केही बौद्ध भिक्षु बसेको कारणले विहार भनिएको हुनुपर्छ,’ बौद्धमार्गीहरू विहार शब्दलाई यसरी विश्लेषण गर्छन्।

तत्कालीन जिल्ला वन कार्यालय सुर्खेतले बुद्धमूर्ति राख्न अनुमति नदिएपछि काँक्रेविहार पुर्‍याइएको बुद्धको मूर्ति प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसयता बुद्धको मूर्ति जिल्ला प्रहरी कार्यालय (हालको जिल्ला ट्राफिक प्रहरी कार्यालय) को हाताभित्र ‘बन्दी’ छ।

बौद्धमार्गीहरू हरेक वर्ष बुद्ध जयन्तीमा प्रहरी कार्यालयमै पुगेर बन्दी बुद्धको पूजा गर्छन्। प्रशासन कार्यालयले पटकपटक बुद्धमूर्ति फिर्ता लिन बौद्धमार्गीलाई आग्रह गरिसकेको छ तर बौद्धमार्गी भने काँक्रेविहारमा बुद्धमूर्ति प्रतिस्थापन नहुँदासम्म प्रहरी कार्यालयबाहिर बुद्धमूर्ति नल्याउने अडानमा छन्।

‘पूजाआजा गरेर बुद्धविहारबाट निकालिसकेको मूर्ति फेरि त्यही ठाउँमा लगेर राख्न मिल्दैन,’ अध्यक्ष गुरुङले भने, ‘जहाँ राख्ने भनेर हामीले मूर्ति निकालेका थियौं, त्यहीँ ठाउँमा राख्ने वातावरण नबन्दासम्म प्रहरी कार्यालयबाहिर बुद्धमूर्ति ल्याउँदैनौं।’ बौद्धमार्गीहरू बुद्धको स्थानमै बुद्धमूर्ति राख्नुपर्ने माग गर्छन्। ‘टोपी टाउकोमा सुहाउँछ, बुद्ध विहारमै सुहाउँछ,’ उनले भने, ‘त्योभन्दा बाहिर राख्ने कल्पना हामी गर्न सक्दैनौं।’

११ वर्षदेखि एक अपराधीलाई जसरी प्रहरी कार्यालयको संरक्षणमा राखिएको मूर्ति कहिले बाहिर ल्याइने हो, टुंगो छैन। ‘हामी प्रहरीको हातामा राखिएको महापुरुषको त्यो मूर्ति काँक्रेविहारमा ल्याएर राखिदिने प्रतीक्षामा छौं,’ उनले भने, ‘काँक्रेविहार नेपालको दोस्रो लुम्बिनीका रूपमा चिनिन्छ, यो पक्कै पनि बुद्धको स्थल हो। यहाँ त्यो मूर्ति राख्न सकियो भने बौद्ध धर्मावलम्बीलाई न्याय हुन्छ।’

‘बन्दी’ बुद्ध छुटाउने समय आयो

११ वर्षदेखि रूखमा बाँधिएको बुद्धको मूर्तिलाई काँक्रेविहारमा प्रतिस्थापन गर्ने विषयमा अहिले बल्ल छलफल सुरु भएको छ। वीरेन्द्रनगर नगरपालिका–९ का अध्यक्ष ऋषि गिरीले प्रहरी कार्यालयमा बाँधिएको बुद्धको मूर्तिलाई काँक्रेविहारमा राख्ने विषयमा छलफल सुरु भएको जानकारी दिए।

‘उति बेला बुद्धमूर्ति राख्ने र नराख्ने भन्ने विषयको विवाद जहाँबाट सुरु भएको थियो, त्यहीँबाट समाधानको उपाय निकालेका छौं,’ अध्यक्ष गिरीले भने, ‘चाँडै बुद्धमूर्तिलाई बन्धनबाट मुक्त गरेर काँक्रेविहारमा प्रतिस्थापन हुनेमा आशावादी छौं।’

प्रहरी कार्यालयबाट बुद्धको मूर्ति छुटाएर काँक्रेविहारमा प्रतिस्थापन गर्ने उद्देश्यले वडाध्यक्ष गिरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। समितिमा पूर्ववडाध्यक्ष सुरेश मानन्धर, केशवराज गिरी, कमल गुरुङ, लक्ष्मण रोकाय, नोर्बु गुरुङ र तारा रास्कोटी छन्। ‘वडा कार्यालयको समन्वयमा स्थानीय बासिन्दा र सरोकारवालाको भेलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको मूर्ति काँक्रेविहारमा ल्याएर उपयुक्त स्थानमा सबै धर्म सम्प्रदायको सहअस्तित्व कायम हुने गरी स्थापना गर्ने निर्णय गरेका छौं,’ वडाध्यक्ष गिरीले भने, ‘उक्त कार्यका लागि आवश्यक कानुनी र प्रक्रियागत प्रक्रिया पूरा गर्न सम्बन्धित निकायमा सामूहिक पहल गर्ने निर्णय पनि भएको छ।’

वडाध्यक्ष गिरीले डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, कर्णाली प्रदेश सरकारसँग बुद्धको मूर्ति काँक्रेविहारमा प्रतिस्थापन गर्ने विषयमा छलफल चलाइने बताए। ‘पहिले स्थानीयस्तरबाटै विरोध भएकाले काँक्रेविहारमा बुद्धको मूर्ति स्थापना हुन नसकेको साँचो हो,’ उनले भने, ‘अहिले बुद्धको मूर्ति प्रतिस्थापनका लागि स्थानीयको एक स्वर छ, कुनै विरोध छैन।’

बुद्धको मूर्ति स्थापनाका लागि गठन गरिएको सहजीकरण समितिका सदस्य कमल गुरुङले विविध कारणले हिजो विरोधमा रहेका स्थानीय पनि सहमतिमा आएकाले अब चाँडै बुद्धको मूर्ति काँक्रेविहारमा प्रतिस्थापन हुने बताए।

‘अहिलेको शिखरशैलीको मन्दिरभन्दा झन्डै एक सय मिटर तल मूर्ति प्रतिस्थापन गर्ने विषयमा छलफल चलिरहेको छ,’ उनले भने, ‘आशा गरौं ११ वर्षदेखि रूखमा बाँधिएका भगवान् बुद्धको मूर्ति चाँडै प्रहरी कार्यालयबाट छुट्नेछन् र काँक्रेविहारमा प्रतिस्थापन हुनेछन्।’

उनले पहिले शिवा रिम्पोच्छेले पूजाआजा गरेको ठाउँमा शौचालय निर्माण भइसकेकाले अर्को ठाउँमा प्रतिस्थापन गर्न आफूहरू सहमत रहेको बताए। ११ वर्षसम्म रूखमा बाँधेर राखिएकाले बुद्धको मूर्ति जीर्ण भइसकेको छ। २० फिट अग्लो मूर्ति थाइल्यान्डबाट भारत हुँदै सुर्खेत ल्याइ पुर्‍याउँदा १५ लाख बढी खर्च भएको थियो। स्थानीयस्तरमा भएको सहमतिअनुसार हाललाई प्रहरी नियन्त्रणमा रहेको मूर्तिलाई नै काँक्रेविहारमा प्रतिस्थापन गरिनेछ। त्यसपछि नयाँ बुद्धको मूर्ति ल्याउने प्रक्रिया थालिने उनले बताए।

डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले धार्मिक र पुरातात्त्विक क्षेत्र भएकाले काँक्रेविहारलाई संरक्षण क्षेत्र बनाइएको बताउँदै स्थानीय समुदाय र धर्मावलम्बीको एक स्वर हुँदा काँक्रेविहारमा बुद्धको मूर्ति राख्न समस्या नहुने बताए। उनले स्थानीय समुदाय, स्थानीय सरकार सहमत भए काँक्रेविहारको पञ्चवर्षीय गुरुयोजनामा यो विषयलाई समेट्ने पनि बताए। ‘अहिले काँक्रेविहार वन संरक्षण क्षेत्रको कार्ययोजना बन्दैछ, उनले भने, ‘साझा धारणा बन्छ भने कार्ययोजनामा समावेश गर्न हामी तयार छौं।’

प्रकाशित: १६ माघ २०८१ ०६:०९ बुधबार

# District Traffic Police Office # Statue of Buddha tied to a tree # Nalankar Vihar