समाज

क्यानडा र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा, पर्सागढी नगरपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी सत्यवती गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन्।

पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रुपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौँ टेकुबाट आइतबार र रविनलाई काठमाडौँ कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो।

शारदालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ माघ २०८१ १२:३० सोमबार

#Social Crime