बाघको आक्रमणबाट बाँकेमा एक वृद्धा मारिएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढालाई बुधबार दिउँसो बाघले आक्रमण गरी मारेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन्। घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको प्रहरी निरीक्षक भट्टराईले बताए।
‘बाघले आक्रमण गरेर मारेपछि प्रहरीलाई दिउँसो ४ बजे मात्र खबर आयो, हाम्रो अनुमान अनुसार बाघले दिउँसो १२ देखि १ बजेको बीचमा वृद्धालाई मारेको हुन सक्छ,’ उनले नागरिकसँग भने, ‘बाघले वृद्धाको टाउको र खुट्टाको केही भाग नै खाइदिएको छ।’
घरबाट दाउरा काट्न भन्दै निस्केकी उनी दिउँसोसम्म नफर्केपछि स्थानीय बासिन्दाहरू जंगलभित्र खोज्न गएका थिए। स्थानीयका अनुसार खोजीका क्रममा उनको शव साढे ३ बजेतिर फेला परेको थियो।
स्थानीय बासिन्दाले बाघलाई फेला भने पारेका छैनन्। तर, घटनाको प्रकृति हेर्दा बाघले नै मारेको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ। मृतकको शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको इप्रका प्रहरीले जनाएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शालिकराम डाँगीले वृद्धाको मृत्यु भएपछि बाघको पहिचान गर्नका लागि बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले सुरक्षाकर्मी खटाएर घटनास्थल वरिपरी क्यामेरा बिछ्याएको बताए। ‘बाघले मारेको कुरामा दुई मत छैन, तर कुन बाघले मारेको हो भनेर पत्ता लगाउनको लागि निकुञ्जले क्यामेरा राखेको छ, तर अहिलेसम्म क्यामेरामा बाघ कैद भएको अवस्था छैन,’ वडाध्यक्ष डाँगीले भने।
उनका अनुसार घटनास्थल बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वन हो। निकुञ्जभित्र रहेका वन्यजन्तुहरू सहजै रूपमा उक्त सामुदायिक वनभित्र आवतजावत गर्ने सक्छन्।
प्रकाशित: १० माघ २०८१ १०:३२ बिहीबार