समाज

कान्ति तालमा बढ्दै आगन्तुक चरा

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको कान्ति तालमा चरा गणना गरिँदै। तस्बिर:अर्जुन/नागरिक

नेपालगन्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन्। नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँद महिनामा युरोप, मध्य एसियालगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन्।

विगत तीन वर्षदेखि हिउँद महिनामा उक्त तालमा आश्रित चराको गणना गरिँदै आएको छ। करिब २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा यस वर्ष हिउँदे आगन्तुक चराको संख्या बढेको हो। हिउँद महिनामा बसाइँ सरेर विभिन्न देशबाट आउने आगन्तुक चराको संख्या बढी देखिएको पक्षीविद् राम शाहीले सुनाए। ‘कान्ति तालमा विदेशबाट बसाइँ सरेर आउने चरा अधिक मात्रामा रहेको पाइयो,’ उनले भने।

चरा गणनाका लागि पक्षीविद् शाहीसहितको टोली बाँकेमा केही दिन खटिएको थियो। गणनाका क्रममा कान्ति तालमा पुगेको उक्त टोलीले हिउँदे आगन्तुक चराको अवस्था पत्ता लगाएको हो। ‘कान्ति तालमा स्थानीय प्रजातिका चराको बासस्थान त छ नै, विभिन्न देशबाट बसाइँ सरेर आउने आगन्तुक चराको संख्या पनि राम्रो देखियो,’ शाहीले थपे।

गणनाका लागि स्थलगत रूपमा खटिएका फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसनका आशिष चौधरीका अनुसार कान्ति तालमा यस वर्ष २० प्रजातिका हिउँदे आगन्तुक चरा फेला परेका छन्। उनका अनुसार गत वर्ष १८ प्रजातिका चरा फेला परेका थिए।

यीमध्ये विदेशबाट बसाइँ सरेर आएका जलचर चरा ‘सिलसिले हाँस’को संख्या अधिक मात्रामा रहेको संरक्षणकर्मी चौधरीले सुनाए। ‘कान्ति तालमा विदेशी आगन्तुक जलचर चराको बासस्थान राम्रो रहेको पाइयो, यीमध्ये सिलसिले हाँस सयौं संख्यामा भेटिए,’ उनले भने।

ताललाई संरक्षित सारश, फिसिङ क्याटलगायत चराले पनि बासस्थान बनाएका छन्। हिउँदे आगन्तुक चराको बढ्दो संख्या हेर्दा कान्ति ताललाई सिमसार क्षेत्रका रूपमा अझ बढी संरक्षण गर्नुपर्ने देखिएको संरक्षणकर्मी बताउँछन्।

बाँकेमा यस वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा फेला परेका छन्। हालै गरिएको गणनाका क्रममा उक्त संख्यामा हिउँदे आगन्तुक जलचर चरा फेला परेका हुन्। गतवर्ष गणना गर्दा २८ प्रजातिका मात्र हिउँदे आगन्तुक चरा फेला परेका थिए। बाँकेस्थित राप्ती नदी, कान्ति ताल, सुतैया ताललगायत स्थानमा पुगेर गणना गर्दा कुल ३२ प्रजातिका हिउँदे आगन्तुक चरा फेला परेको चौधरीले जानकारी दिए।

एक तथ्यांकअनुसार नेपालमा ८९५ प्रजातिका चरा पाइन्छन्। हिउँद महिनामा १५३ र गर्मीयाममा ६२ प्रजातिका आगन्तुक चरा विभिन्न देशबाट बसाइँ सरेर आउँछन्। प्राकृतिक सिमसार मासिँदै जाँदा सिमसारमा आश्रित चराहरू खतरामा परेको चराविद्हरू बताउँछन्।

प्रकाशित: १० माघ २०८१ ०८:०८ बिहीबार

# Nagarik # 32 species of winter visiting waterfowl