समाज

डमरु जन्माएर फर्कियो बाघ !

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर। मसुरिया

गत भदौदेखि मसुरिया क्षेत्रलाई आफ्नो गन्तव्य बनाउँदै आएको पाटे बाघ डमरु (बच्चा) सहित फेरि सोही क्षेत्रमा फर्किएको छ। यो बाघ यसअघि भदौ र कात्तिक महिनामा पनि मसुरिया क्षेत्रमा देखा परेको थियो।

भदौमा चार दिन र कात्तिकमा एक हप्तासम्म मसुरिया क्षेत्रमा बसेर फर्किएको उक्त बाघ यसपटक भने डमरु लिएर आएको हो। सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले बाघले भदौदेखि नै बच्चा जन्माउन सुरक्षित ठाउँको खोजी गरिरहेको हुनसक्ने बताए।

‘पोथी बाघले बच्चा हुर्काउन सुरक्षित र आहाराका लागि सजिलो स्थानको खोजी गर्ने बानी हुन्छ। यही कारणले यो बाघ भदौदेखि नै मसुरिया क्षेत्रमा देखापरेको हुनुपर्छ,’ सापकोटाले भने। उनका अनुसार यसपटक डमरु जन्माएर शिकार खेल्न सिकाउन र हुर्काउन बाघ मसुरिया क्षेत्रमा फर्किएको हो।

मसुरिया क्षेत्र पोथी बाघका लागि डमरु हुर्काउन उपयुक्त मानिन्छ। यहाँ पर्याप्त मात्रामा बँदेल, चित्तलजस्ता जनावर पाइने भएकाले बाघलाई सजिलै आहार जुट्ने सापकोटाले जानकारी दिए।

बाघले बच्चा हुर्काउने क्रममा समयको धेरै भाग डमरुको हेरचाहमै खर्चिने भएकाले शिकारको लागि सजिलो स्थान रोज्ने गरेको उनले बताए।

भाले बाघले नवजात डमरु खाइदिन सक्ने भएकाले पोथी बाघले डमरुको सुरक्षाका लागि वसन्ता जैविक मार्ग हुँदै मसुरिया क्षेत्र रोजेको हो। मसुरिया क्षेत्रमा पनि बाघ कहिले उत्तर तर्फका सामुदायिक वनतिर त कहिले दक्षिणतर्फका सामुदायिक वनतिर सिकार खोज्दै डमरुसहित घुमिरहेको छ।

डमरुसहित बाघ बस्ती नजिकै देखिएकाले स्थानीयलाई जंगलतिर नजान वा जानै परे सचेत रहन सापकोटाले आग्रह गरे। ‘डमरु हुर्काउने समयमा पोथी बाघ भोकाएको हुने भएकाले आफ्नो अगाडि देखिने कुनै पनि जनावरलाई शिकार गर्न सक्छ,’ उनले भने।

हाल बाघ कैलारी गाउँपालिका–९ को उत्तर कोइलही र गौरीगंगा नगरपालिका–४ को कुटी कटान क्षेत्रमा देखिएको छ। बाघको गतिविधि पत्ता लगाउन सीएफसीसीले क्यामेरा ट्रयापिङ गरिरहेको छ।

बाघ वसन्ता जैविक मार्ग र त्यसको सहायक मार्गहरू प्रयोग गर्दै मसुरिया क्षेत्रमा पुग्ने गरेको छ।

प्रकाशित: ९ माघ २०८१ २०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App