समाज

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषित

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको प्रमाणपत्र नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्ण पाठक र वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल । तस्बिरः संगम/नागरिक ।

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ ।

बुधबार एक विशेष समारोहका बिच उपप्रधान तथा शहरी  विकास मन्त्री प्रकाशमान सिंहले उक्त घोषणा गरे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिस्त गरेका सूचकहरू पूरा गरेकाले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । बागलुङलाई बालश्रममुक्त, बाल विवाह निषेधित, बाल हिंसा रहित, सडक बालबालिका मुक्त नगरको साथमा बालमैत्री स्थानीय शासनयुक्त नगरको रुपमा घोषणा गरिएको छ ।

बाल बचाउ सम्बन्धी १४, बाल संरक्षण सम्बन्धी १०, बाल विकास सम्बन्धी ६, बाल सहभागिता सम्बन्धी ६ र संस्थागत विकासका १५ वटा गरी कुल ५१ सूचकमा झण्डै साढे दुई वर्ष काम गरेपछि बुधबार घोषणा गरिएको हो । गण्डकी प्रदेश सरका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय गरेको अनुगमनमा घोषणा गर्न मिल्ने मापदण्ड भन्दा माथि अंक प्राप्त गरेको मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालले बताए ।

‘सबै सूचकहरूमा गरेको कुल ९२ प्रतिशत अंक यो नगरपालिकाले प्राप्त गरेको छ, ८० प्रतिशत भन्दा माथि अंक प्राप्त गर्ने स्थानीय तहलाई स्थानीय शासनयुक्त घोषणा गर्ने कानुनी व्यवस्था छ,’उनले भने,‘अब यसलाई शतप्रतिशत बनाउने र घोषणालाई दिगो बनाउने जिम्मेवारी यहाँहरूकै काँधमा छ ।’ बालमैत्री घोषणा भएपछि अब हरेक योजना र बन्ने समितिहरूमा बालबालिकाको प्रतिनिधित्व सुनिश्चित हुने बागलुङ नगर बालमैत्री कार्यक्रम संयोजक तिलक आचार्यले बताए ।

 ‘अब बन्ने हरेक योजनाका समिति र निर्णय प्रक्रियामा  बालबालिकाको सहभागिता हुनेछ,’उनले भने,‘बालबालिकासँग सरोकार राख्ने हरेक संघ संस्थामा बालबालिका प्रतिनिधित्व रहनेछ । बालबालिकाको अधिकार रक्षासँगै शासन सञ्चालनमा बालबालिकाको उपस्थिति गराउनु बालमैत्री स्थानीय शासन हो ।’ बागलुङ नगरपालिका सामाजिक विकास समिति संयोजक बानपा—११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले मानवीय पुँजी निर्माणका लागि बालमैत्री शासनयुक्त नगरपालिका बनाउन लागिपरेको उल्लेख गरे ।

‘भौतिक विकास मात्रै विकास होइन, मानवीय पुँजी उत्पादनमा ध्यान दिनुपर्छ भनेर हामीले कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेर अगाडि बढ्यौँ,’उनले भने,‘अहिले घोषणाको चरणसम्म आइपुग्दा बालबालिकाको क्षेत्रमा धेरै काम भएका छन् र आगामी कार्यक्रमहरू बालमैत्री बनाउन लागि परेका छौँ ।’ स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बागलुङ नगर कार्यपालिकाको २०७९जेठ ६ गतेको कार्यपालिका बैठकले बागलुङ नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको थियो ।

हरेक निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउने गरी बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विद्यालय तहबाटै काम सुरु गरेर नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको बागलुङ नगर शिक्षा शाखा प्रमुख एवं बालमैत्री फोकल पर्सन धनप्रसाद पोख्रेल बताउँछन् ।

‘बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउनका लागि सबैभन्दा पहिले घर विद्यालय बालमैत्री बनाउनुपर्छ भनेर हामी लाग्यौँ,’उनी भन्छन्,‘यो अभियानमा हामीले २६ वटा विद्यालयको नयाँ भवन निर्माण गरेका छौँ  भने नगर क्षेत्रका सम्पूर्ण १०४ वटै विद्यालयको संरचनालाई बालमैत्री बनाउने र रङरोगन गर्ने काम गरेका छौँ ।’

बागलुङ नगरलाई बालमैत्री बनाउनका लागि १५ वटा कानुन निर्माण गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘हामीले बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने १५ वटा कानुन नै निर्माण गरेका छौँ,’उनले भने,‘घोषणापछि दिगोपनमा समस्या नहोस् भनेर पञ्चवर्षीय योजना बनाएर कार्यान्वयनको चरणमा लगेका छौँ । यो एउटा अभियान हो, यसलाई निरन्तर अगाडि बढाउनुपर्छ अहिले पाएको ९२ प्रतिशत अङ्कलाई शतप्रतिशत बनाउनेमा हाम्रो ध्यान जानेछ ।’ अब बालबालिकाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित भएको उनले जानकारी दिए ।

अहिले बालबालिकासँगै अभिभावकमा पनि बाल अधिकारका बारेमा सचेत भइसकेकाले यसको दिगोपनमा समस्या नआउने उनको विश्वास छ । ‘जिल्ला सदरमुकाम भएको र अन्यत्रबाट पनि मजदुरीका लागि यहाँ आउने भएकाले बालश्रमको समस्या हुन्छ भिन्ने चिन्ता हो,’उनले भने,‘अहिले यहाँको अभिभावक र बालबालिका तथा बालक्लबहरु यसप्रति सचेत भएर सक्रियता पूर्वक लाग्ने वातावरण बनेको छ । यसले हामीलाई भोलीका दिनमा काम गर्न सजिलो हुने विश्वास लिएका छौँ ।’

बालमैत्री शासनयुक्त नगरपालिका घोषणा हुने बागलुङ नगरपालिका जिल्लामा दोस्रो गण्डकी प्रदेशमा चौथो र देशव्यापी रुपमा पच्चिसौं स्थानीय तह हो । बागलुङ नगरपालिका बालमैत्री शासनयुक्त नगर बनेको प्रमाणपत्र गण्डकी प्रदेश सकारका स्वास्थ्य मन्त्री कृष्ण पाठक र वन तथा वाताबरणमन्त्री भेषबहादुर पौडेलले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । 

प्रकाशित: ९ माघ २०८१ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App