समाज

छिमल्ने निहुँमा पुराना रुखलाई ठुटै पारियो

<br>

पोखरा १४ मा कटान गरेर गर्दै। तस्बिर सौजन्यः हेमन्त ढकाल

पृथ्वीनारायण क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक हेमन्त ढकाल पोखरा महानगरपालिका–१४ मझेरीपाटन बस्छन्। ढकालको बसोबास रहेकै क्षेत्रको देउरालीमा बढेमानको पिपलको रुख थियो। अहिले त्यो रुख काटेर ठुटै पारिएको छ।  

आफुले दिनहुँ देखिरहेको बढेमानको झुप्प परेको रुख अहिले ठुटोमा परिणत भएसँगै ढकालले रुख नकाट्न स्थानीयलाई सुझाएका पनि थिए। तर, त्यसलाई बेवास्ता मात्र गरिएन की त्यही टोलका अरु सातवटा रुख पनि काटिएको उनले बताए।  

‘मैले दिनहुँ देखिरहेकै रुख हो, बढेमानको पिपलको रुख छिमल्ने निहुँमा काटेर ठुटै पारिएको छ,’ ढकालले भने, ‘करिब ६०–७० वर्ष पुराना ती रुख काट्दा मन पोल्यो। त्यसपछि स्थानीय तहका पदाधिकारीसँग पनि कुरा गरे, तर, त्यसको सुनुवाइ भएन।’ उनका अनुसार टोल सुधारका नाममा स्थानीयले ती रुख काटेका हुन्।

ढकालका अनुसार काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको खण्डमा रहेको उक्त बस्तीका सातवटा रुख काटिएको छ। ती मध्ये दुइवटाको काँटछाँट सही तरिकाले गरिएको भएपनि अरु ठुटै पारिएको उनले बताए। ढकालका अनुसार काटिएका समि, वर र पिपलका पुराना रुखहरु हुन। ती रुखमा चराका बासस्थान पनि हुने गरेको उनले बताए।  

ढकालका अनुसार बढेमानका झुप्प परेका ती रुखमा काग, चील, उल्लु, डांग्रे लगायतका चराचुरुंगीले बासस्थान बनाउँथे। ‘रुखका हाँगा काट्नुपर्ने हो, तर, बोटै ठुटो हुने गरि काटिएको छ। रुखसँगै चराको बास उठेको छ,’ उनले भने, ‘पुराना र बुढा रुखका कारण केही जोखिम भएमा हाँगा काट्न सकिन्छ। तर, बोटै ठुटो पारेर काट्नु राम्रो होईन।’  

उनका अनुसार आसपासका घरलाई जोखिम थपेको भए विज्ञको सल्लाहमा रुखका हाँगा काट्न सकिन्थ्यो। सुकेका, कुहिएका, जोखिम थप्न सक्ने हाँगा काट्नुपर्नेमा तलैदेखि ठुटै पारिएको ढकालले बताए। ‘मैले रुख कटानबारे धेरै नै सोधखोज गरेपछि अरु दुइवटा रुख ठुटा हुनबाट रोकिए। नत्र, कुरुप बनाएर काटिएको छ,’ ढकालले भने, ‘रुखका कारणले बसोबासमा जोखिम थप्नु हुँदैन, तर, काट्ने निहुँमा कुरुप ठुटो मात्र बाँकी राखेर पनि काट्नु हुँदैन।’  

ढकालका अनुसार अहिले काटिएका ती पुराना रुखको आफ्नै महत्व छ। काटिएका रुखको सट्टामा नयाँ विरुवा रोपिएको भएपनि ती विरुवा हुर्किन समय लाग्ने भएकोले पुराना रुखको संरक्षण आवश्यक रहेको ढकालले बताए। ‘नयाँ रोपिएका विरुवा हुर्कन समय लाग्छ। त्यसैले पुराना रुख मास्नु उपयुक्त हुँदैन, त्यसले वातावरणमा असर पार्नेदेखि चराचुरुंगीको बासै उठ्छ,’ उनले भने।  

‘मैले दिनहुँ देखिरहेकै रुख हो, बढेमानको पिपलको रुख छिमल्ने निहुँमा काटेर ठुटै पारिएको छ,’ ढकालले भने, ‘करिब ६०–७० वर्ष पुराना ती रुख काट्दा मन पोल्यो। त्यसपछि स्थानीय तहका पदाधिकारीसँग पनि कुरा गरे, तर, त्यसको सुनुवाइ भएन।’

धमाधम रुख काटिएपछि पोखरा महानगरपालिकासँग पनि यसबारेमा सोधखोज गर्दा कसैले पनि रुख काट्न अनुमति नलिएको जानकारी पाएको ढकालले बताए। ‘छिमल्नै पर्ने बाध्यता भएमा विज्ञको सल्लाहमा हाँगा काट्न सकिन्थ्यो, तर, अब ती रुख पलाएनन भने त्यसको जिम्मेवारी कसले लिने ? रुख पलाउँछन नै भन्ने निश्चित पनि हुँदैन,’ ढकालले भने।  

यस्तै अवस्थामा पोखरा–६ लेकसाइडमा पनि रुख काटिएको छ। एकजना स्थानीयका अनुसार पुराना ती रुखका कारण त्यस क्षेत्रमा जोखिम बढेको थियो। केही महिना अघि एउटा पुरानो रुखको ढलेर फेवातालमा बजारिएको थियो। संयोगबस मानवीय क्षति हुन पाए। ‘अहिले रत्नमन्दिर अगाडिको रुख त काटिएको छ, पुरानो रुखका कारण क्षतिको जोखिम भएकोले हाँगा काटिएको हो,’ ती स्थानीयले भने, ‘पुरानो रुखका हाँगाका कारण आसपासका घरमा जोखिम थपियो।’

स्थानीयले हाँगा काटेको भनेपनि लेकसाइडका ती रुख पनि ठुटै पारेर काटिएको ढकालले बताए। ‘ठुटै पारिएको छ। जोखिमयुक्त हाँगा पो काट्नुपर्ने हो, तर, छिमल्ने निहुँमा ठुटो मात्र बाँकी राखिनु राम्रो होईन,’ उनले भने। यसअघि पोखरा पोखराको मानवअधिकारचोक, रत्नचोक लगायतका ठाउँका रुख ठुटै पारेर काटेपछि जनस्तरबाट ब्यापक विरोध आएको थियो।  

पोखरा महानगरपालिका–१४ का अध्यक्ष बोधबहादुर कार्की कसैले पनि रुख काट्नका लागि अनुमति नलिएको बताउँछन्। उनका अनुसार अहिले बस्तीमा जोखिम थपिएका रुखका हाँगा मात्र छोट्याइएको हो। ‘रुख नै काटेको मलाई थाहा छैन। तर, ठुला रुखहरु घरको आडमा रहँदा घरभित्रै जरा घ्ुस्ने, हावाहुरी आउँदा हाँगा भाच्चिने जोखिम थियो,’ कार्कीले भने, ‘जोखिमपूर्ण रुखका अलिअलि हाँगा काटिएको मात्र हो। तर, एकवर्षपछि पलाउँछन्।’  

अध्यक्ष कार्कीले पोखरा महानगरपालिका रुख काट्ने भन्दा जोगाएर चौतारो बनाउने अभियानमा लागेको बताए। ‘रुख काट्नु त परैको कुरा हो, बरु हामीले चौतारो बनाईरहेका छौ। तर, मानव जोखिममा परेका रुख त छिमल्नु पनि पर्छ,’ उनले भने, ‘एउटा रुख काटिँदै गर्दा अरु वर र पिपल रोप्दैछौ। पूर्वजले रोपेका रुखलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता महानगरको छ।’ रुखका हाँगा छिमलेको भएपनि जरैदेखि काटेको नभएको उनले बताए। ‘टोलका बासिन्दाले पुराना रुखका हाँगाका कारण जोखिम रहेको भनेपछि केही हाँगा कटौती गरेका छन, तर, हामी ती पनि रोक्छौ,’ उनले भने।  

ढकालका अनुसार गण्डकी प्रदेश सरकारको वर, पिपल, समि र चौतारो संरक्षण ऐन २०७५ ले पनि स्थानीय तहले नै वर, पिपल, समि र चौतारो संरक्षण गर्ने अधिकार लिएको बताउँछन्। उक्त ऐन अनुसार कुनैपनि वर, पिपल, समि र चौतारोलाई मास्न वा हटाउँन पाइँदैन।  

उक्त ऐनले स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वर, पिपल, समि, चौतारोको अवस्था हेरी हरेक वर्ष परीक्षण गरि काँटछाँट वा मर्मत वा वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको छ। त्यसबाहेक कुनै आयोजनाको सम्भाव्यता अध्ययन गर्दा पनि सम्भव भएसम्म वर, पिपल, समि र चौतारो नपर्ने गरी सम्भाव्यता र विकल्पको अध्ययन गर्नुपर्ने पनि उनले बताए। ऐन विपरित काम कारवाही गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारवाही हुने पनि उनले बताए।  

प्रकाशित: ९ माघ २०८१ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App