समाज

कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार

तस्बिर: यातायात सेवा कार्यालय उद्घाटन गर्दै मन्त्री न्यौपाने।

नागरिकलाई यातायात सम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार गरिएको छ।

बुधबारदेखि कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो।

बुधबार उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे।

कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए।

साथै, उनले आवश्यकताका आधारमा अन्य जिल्ला तथा स्थानहरूमा समेत यातायात कार्यालय विस्तारको योजना बनाइने समेत बताए।

उनले केही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी दिए। ‘मुलुक सङ्घीयतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिबद्ध छौँ,’ मन्त्री न्यौपानेले भने ‘सङ्घीयताको यही मर्म अनुरूप यातायात सम्बन्धी सेवालाई हरेक नागरिकको पहुँचसँग जोड्नु पर्छ भन्ने उद्देश्य सहित यातायात कार्यालयहरूको विस्तार गर्न जरुरी देखेका छौँ, र यो उद्देश्य पुरा गर्नका लागि मन्त्रालय लागिपरेको छ।’

यसै गरी उनले यातायात सम्बन्धी सेवा नागरिक मैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए। सेवाग्राहीहरूलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भीर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने उल्लेख गरे।

कोहलपुरमा बुधबारदेखि सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुने छन्। मन्त्रालयका अनुसार सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब नवीकरण र पटके सेवा कार्यालयबाट प्रवाह गरिने छ।

प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व सृजना नहुने गरि यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए। यो सेवा कार्यालयमा यातायात व्यवस्था कार्यालय नेपालगन्जकै जनशक्तिबाट सेवा प्रवाह हुने पनि मन्त्री न्यौपानेले जानकारी दिए।

‘प्रदेशको कुनै पनि आर्थिक दायित्व सृजना नहुने गरि कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना भएको हो,’ मन्त्री न्यौपानेले भने ‘यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट कर्मचारी व्यवस्थापन गरेर सेवा प्रवाह गरिएको छ।’

कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ। यातायात सेवा कार्यालयमा सेवा दिन पुगेका सेवाग्राहीहरूले कोहलपुरमा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइदिएर प्रदेश सरकारले आफूहरूलाई धेरै सहजता प्रदान गरेको बताएका थिए।

प्रकाशित: ९ माघ २०८१ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App