समाज

सीमा क्षेत्रमा ४२५ बिओपी थप्न प्रस्ताव

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सुरक्षाका लागि थप चार सय २५ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न प्रस्ताव राखेको छ। सीमा क्षेत्रबाट हुने चोरी, तस्करी र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी परिचालन हुँदै आएको छ। सशस्त्र प्रहरी बलले स्थापना दिवसका अवसरमा सरकारसँग थप चार सय २५ बिओपी थप्न प्रस्ताव गरेको हो। हाल सशस्त्र प्रहरीका दुई सय ५४ वटा बिओपी छन्।

चीन र भारतसँग जोडिएका सीमा नाकाबाट हुने चोरी, तस्करी र अपराध नियन्त्रणका लागि बिओपी थप्नुपर्ने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले सीमा सुरक्षाका लागि थप चार सय २५ वटा बिओपी थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको स्थापना दिवसका अवसरमा सार्वजनिक गरेको हो। सीमावर्ती जिल्लामा सूचना संयन्त्र मजबुत बनाउन इन्ट अफिसर परिचालन गरिएको, सीमा क्षेत्रमा क्लोज सर्किट क्यामेरा थप गर्दै लगिएको र सीमा अपराध नियन्त्रण रणनीतिक योजना तयार गरिएको जनाउँदै सशस्त्र प्रहरीले यसबाट सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको दाबी गरेको छ। सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप चुस्त बनाउन र चोरी, तस्करी नियन्त्रण गर्न बिओपी पनि थप्नुपर्ने प्रस्ताव उसले गरेको हो।

सशस्त्र प्रहरीले स्थापना दिवसका रूपमा आफूले गर्दै आएका कामको फेहरिस्त र प्रगति विवरण पनि सार्वजनिक गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार सुरक्षार्थ सशस्त्र प्रहरीको टोली परिचालन, भारतीय सशस्त्र सीमा बलसँग संयुक्त अभ्यास सञ्चालन, बिओपी स्थापनाका लागि थप जग्गा प्राप्ति र खरिद कार्य गरिएको, बिओपीहरूमा पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गरिएको, बिओपीहरूका लागि सर्च लाइट र नाइट भिजन इक्विपमेन्टको व्यवस्था तथा सीमा अनुगमन गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले २०८१ जेठ ७ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै अन्तरक्रिया, जनचेतना, स्वास्थ्य शिविर, सीपमूलक तालिम समेटी सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालन, सीमा स्तम्भ मर्मत सम्भार तथा रङरोगन, सीमा क्षेत्रमा चौबिसै घण्टा गस्ती, नियमित रूपमा समकक्षीसँग समन्वय तथा बैठक, क्विक इम्प्याक्ट प्रोजेक्टमार्फत चार सय ९५ स्थानमा विभिन्न कार्य गरिएको पनि सशस्त्र प्रहरीले जनाएको छ। वर्तमान आवश्यकतालाई महसुस गरी सीमा सुरक्षा विभाग स्थापना, तीन स्थानका सीमा नाकामा स्निफिङ डगको प्रयोग, सीमावासी लक्षित कल्याणकारी कार्यक्रम पनि गरिएको उसले जनाएको छ। 

सीमामा समदृष्‍टि, शैक्षिक वृत्ति कार्यक्रम, वार्षिक १५ जनालाई १२ हजार रुपैयाँबराबरको छात्रवृत्ति कार्यक्रम, सुरक्षा गुल्महरूको स्थापना, थप २६ वटा बिओपी स्थापना र आठवटा पाइपलाइनमा रहेको पनि सशस्त्र प्रहरीले जनाएको छ। यसैगरी सशस्त्र प्रहरीले संस्थागत कार्यअन्तर्गत १७ वर्षसम्म एउटै पदमा रहेका सशस्त्र प्रहरी कर्मचारीसहित सात हजार एक सय ५८ जनाको पदोन्नति गरिएको, सबै सशस्त्र प्रहरी कर्मचारी एक सिपाही एक बेडिङ कार्यबाट लाभान्वित भएको, गुल्म स्तरसम्मका एक सय १४ वटा युनिटमा मेस सुधार र ८१ वटा युनिटमा पाहुना घर निर्माण गरिएको र चार स्थानमा निर्माण भइरहेको, ८८ वटा युनिटमा विद्युतीय चुल्हो जडान गरी राइस स्टिमर सञ्चालन, सशस्त्र प्रहरी बल नेपालका एकाइहरूमा प्लास्टिकजन्य वस्तुहरू प्रयोगमा निषेध, पोखरामा इलेक्ट्रिक सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण, सशस्त्र प्रहरी कर्मचारीलाई कानुनी सेवा प्रदान गर्न कानुनी सहायता कक्ष स्थापना गरी कार्य सुचारु गरिएको पनि जनाएको छ। १२ वर्ष र २५ वर्ष सेवाअवधि पुगेका प्रहरी कर्मचारीलाई राष्ट्रसेवा पदक उपलब्ध गराइएको, भौतिक पूर्वाधारहरू निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीले यस वर्ष बहालवाला/भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीका सन्तति लक्षित प्याब्सनअन्तर्गतका विद्यालयमा एक विद्यालय एक छात्रवृत्ति कार्यक्रममार्फत ६ सय ३८ जनालाई छात्रवृत्ति प्रदान, विभिन्न अस्पतालसँग सम्झौता गरी उपचार सेवामा छुट, अस्पताललाई तीन सय शड्ढयाको जनरल अस्पतालको रूपमा स्तरोन्नति, अस्पतालमा अन्कोलोजी युनिट, सिटी स्क्यान, एमआरई र बर्न युनिटको स्थापना गरी सुविधा थप गरिएको जनाएको छ। त्यस्तै अस्पतालमा डायलसिस सेवा सञ्चालन गरिएको, ३० लाख रुपैयाँको अक्षय कोषबाट सशस्त्र प्रहरी बल नेपाल विपद् राहत कोष स्थापना गरी पाँच लाख वितरण भएको, चार स्थानमा एपिएफ स्कुलको विस्तार, क्षेत्रीय अस्पतालको स्तरोन्नति, सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारका लागि सीपमूलक तालिम सञ्चालन, वर्षमा ५० कर्मचारीलाई १० हजारका दरले कल्याणकारी सेवा केन्द्रबाट पारिवारिक भ्रमण भत्ताको व्यवस्था गरिएको पनि उसले जनाएको छ। 

यसैगरी भूमिहीनका लागि भूमि कार्यक्रमअन्तर्गत पाँचजना सशस्त्र प्रहरी कर्मचारीले सुविधा प्राप्त गरेको, प्रशिक्षक तथा प्रशिक्षार्थी भत्ताको व्यवस्था, कल्याणकारी सेवा केन्द्रबाट प्राप्त हुने सहुलियत ऋणको दायरा बढाइएको, १० लाख रुपैयाँसम्म सीमा आवास कर्जाको व्यवस्था मिलाइएको, ५० हजार रुपैयाँ सामाजिक व्यवहार कर्जाको व्यवस्था, १० लाख रुपैयाँसम्म प्राकृतिक प्रकोप कर्जाको व्यवस्था, जुनियर अधिकृतहरूलाई समेत चारपांग्रे सवारी कर्जा उपलब्ध गराइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी कर्मचारीहरूका लागि चाडपर्वको समयमा रात्रि तथा दिवा बस सेवा सञ्चालन, अवकाश प्राप्त तथा राजीनामा स्वीकृत गराई उपदानमा गएका तथा वीरगति प्राप्त प्रहरी कर्मचारीका परिवारलाई परिचयपत्र उपलब्ध गराउने व्यवस्था, ९७ वटा युनिटमा मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र तथा एक सिपाही एक सिप कार्यक्रमअन्तर्गत आठ सयजनाले तालिम सम्पन्न गरेको र प्रत्येक वर्ष एक हजार सशस्त्र प्रहरी कर्मचारीलाई यो तालिम दिने योजना रहेको उसले जनाएको छ। 

यसैगरी नौवटा विपद् व्यवस्थापन वेसहरूको स्थापना, गोताखोर तालिम सञ्चालन गरी सबै प्रदेशका १० स्थानमा गरी १ सय ९ जना परिचालन, हटलाइनसहितको अनुगमन तथा गुनासो व्यवस्थापन केन्द्र स्थापना गरी मातहतका सम्पूर्ण युनिटहरूको प्रधान कार्यालयबाट अनुगमन गर्ने व्यवस्था गरिएको, ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पेस गरिएको, प्रतिआतंकवाद सेलको गठन गरिएको पनि सशस्त्र प्रहरीले बलले जनाएको छ।

प्रकाशित: ९ माघ २०८१ ०७:१९ बुधबार