रौतहटको ईशनाथ नगरपालिका-४ लतमरीबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई अटोमेटिक पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ।
आइतबार राति साढे ८ बजेको समयमा ईशनाथ-४ लतमरी स्थित सुनिल होटलमा तीन शङ्कास्पद व्यक्तिहरू खाजा खाइरहेको खबर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बलको (एफओबी) मठियाबाट खटिएको टोलीले एक जनालाई हतियारसहित पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्ने भारतीय नागरिक २६ वर्षीय धनञ्जयकुमार झा रहेका छन्। उनी बिहारको पूर्वी चम्पारण जिल्ला, मोतिहारी, बसन्तपुर ग्राम पञ्चायत-९ का निवासी हुन्। उनको साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल, एक थान म्याग्जीन र ७.६७ मि.मि का ४ राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति एसपी विक्रम हुमागाईले जानकारी दिए।
सशस्त्र प्रहरीलाई देख्नासाथ दुई जना भारतीय नागरिक भने भारततर्फ भाग्न सफल भएका थिए। त्यस्तै, भारतीय नागरिकहरूले प्रयोग गरेको अपाचे मोटरसाइकल (नम्बर: बीआर ०५ बीडी १२२४) पनि बरामद गरिएको छ।
सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बढ्दो उपस्थितिले अपराध र अन्य उच्शृंखल गतिविधिहरूलाई निरुत्साहित गर्नमा स्थानीय बासिन्दाहरूको सहयोगको महत्त्वपूर्ण भूमिका रहेको एसपी हुमागाईले बताए।
उनले अपराध र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले निरन्तर रुपमा काम गरिरहेको स्पष्ट पारे।
प्रकाशित: ७ माघ २०८१ १८:५५ सोमबार