समाज

झरनाको नामलाई लिएर गाउँपालिका अध्यक्षबिच विवाद

मेरिङदेन गाउँपालिकाले ‘मेरिङदेन झरना’ भनेर दाबी गर्दै आएको झरना ‘सिन्धोलुङ झरना’भएको भन्दै नाम नबिगार्न मैवाखोला गाउँपालिकाले आग्रह गरेको छ ।

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उक्त झरना सिन्धोलुङ झरना’ भएको र मैवाखोलाको उद्गमस्थल सिन्धोलुङ ‘मैवामा पुः देन्’भनेर चिनिएको दाबी गरेका छन् । पालिका अध्यक्ष वनेमका अनुसार ‘मैवामा पुः देन्’ भन्नाले मैवाखोलाको उत्पतिस्थललाई बुझिन्छ ।

‘सिन्धोलुङ झरना’ ऐतिहासिक महत्त्व र मुन्धुमसँग जोडिएको ठाउँ भएकोले यसलाई नाम परिवर्तन गरी ‘मेरिङदेन झरना’ नामकरण गर्न कुनैपनि हालतमा नमिल्ने पालिका अध्यक्ष वनेमले बताएका छन् । किराँतीको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–सङ्गीत,धर्म–दर्शन आदिको समग्र विवरण बताउने दस्ताबेजलाई मुन्धुम भनिन्छ ।

मुन्धुम समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र नभई पहिचानको स्रोत तथा आधार पनि भएकोले मुन्धुमसँग जोडिएको ठाउँ ‘सिन्धोलुङ झरना’ लाई ‘मेरिङदेन झरना’भनेर चिनाउनु इतिहासलाई बङ्ग्याउनु बाहेक केही नहुने पालिका अध्यक्ष वनेमले बताएका छन् । अध्यक्ष वनेमले इतिहास र मुन्धुमलाई अपब्याखा गर्नु राम्रो नहुने बताए ।

‘ऐतिहासिक महत्त्व बोकेको सिन्धोलुङ झरना’को नाम बिगार्ने काम नगरौँ’पालिका अध्यक्ष वनेमले थपे । उनले ‘सिन्धोलुङ झरना’मैवाखोला गाउँपालिकाको उद्गम स्थल भएको र उक्त झरना मैवाखोला गाउँपालिकामा पर्ने तथ्यमा कुनै अलमलमा नपर्न सबैलाई आग्रह गरेका छन् । मैवाखोला थुम भनेर हालको थिङ्लाबु र सान्थाक्रा  सम्म चिनिने विगत स्मरण गराउँदै पालिका अध्यक्ष वनेमले ऐतिहासिक महत्त्व र मुन्धुमसँग समेत जोडिएको ठाउँ र झरनाको नाम ‘सिन्धोलुङ’बाहेक अरु केही हुन नसक्ने दाबी गरेका छन् ।

‘ऐतिहासिक र मुन्धुमी स्थलको नाम बिगार्ने कार्य कदापि स्वीकार्य हुँदैन’‘सिन्धोलुङ झरना’को महत्त्व प्रकाश पार्दै पालिका अध्यक्ष वनेमले भने । ‘सिन्धोलुङ झरना’ऐतिहासिक र मुन्धुमी स्थल भएकोले उक्त झरनालाई महत्वका साथ समेटेर मैवाखोला गाउँपालिकाले पालिकाको लोगो समेत तयार पारेको वनमेले बताए । ‘सिन्धोलुङ झरना’ मैवाखोलाको ईतिहाँस भएकोले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले उक्त झरना स्थलको विकास र प्रवर्द्धनका लागि सुरु गरेको कामलाई हाल वहाल रहेका जनप्रतिनिधिहरूले पनि महत्वका साथ काम गर्दै आएको उनको भनाई ।

झरना स्थल सम्म पुग्ने पदमार्ग बनाउने, ओसाङलुङ क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि काम गर्ने कार्य अहिले पनि निरन्तर रहेको पालिका अध्यक्ष वनेमले बताए ।

उता मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले ‘मेरिङदेन झरना’को नाममा पालिका अडिग रहेको र यसको संरक्षण र प्रवर्द्धनका लागि पालिका र वडाकोतर्फबाट निरन्तर कामहरू भइरहेको जानकारी दिए ।‘हामी भन्दा अघि निर्वाचित जनप्रतिनिधिहरूको पहल र प्रयासबाट ‘मेरिङदेन झरना’को नाम दिई झरनाको संरक्षण र प्रवर्द्धनका कार्यहरू भइरहेका छन्’मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगामले भने । 

प्रकाशित: ७ माघ २०८१ १३:५७ सोमबार